समयसँगै संस्कृति पनि बदलिन्छ भन्ने कुरा मान्छे बुझ्दैनन् कति सम्झाउन खोजेँ तर पनि उनीहरू सम्झँदै सम्झँदैनन् । संस्कृति त समयको गतिसँगै परिवर्तन भएको मानवीय मूल्यको परिचय पहिचान न हो ।

मेरा मनमा धेरै कुरा खेल्छन् के हो त मानिसको परिचय या पहिचान ? कसरी थाहा पाइन्छ यो मानव जातिको परिचय ? मलाई लाग्छ मानव जाति या समाजको इतिहास र संस्कृतिको अध्ययन गर्‍यो भने मानव र उसको मूल्य या उसको संस्कृतिमा आएको परिवर्तनको जानकारी पाइन्छ ।

हाम्रो विगतको इतिहास नै अध्ययन गरे पनि थाहा हुन्छ । हिजोको आफ्नो गति कस्तो थियो आज कस्तो छ, यो थाहा दिने तत्त्व भनेको मान्छे उसको आफ्नै संस्कृति नै हो । मानिस समयको गति र प्रकृतिको परिवर्तनसँगै परिवर्तित हुन्छ । मान्छेको आदिम काल कस्तो थियो या आदि मानव कस्ता थिए र अहिलेका हामी मानवहरू कस्ता छौँ ? हेरौँ त ।

हामी अहिले बाँचिरहेको आधारभूमि प्रकृतिको स्वरूप हिजो कस्तो थियो, हामी कस्तो भौगोलिक अवस्था पार गरेर यो अवस्थामा आइ पुगेका हौँ, बुझ्ने चेष्टा गराैँ त । कति जटिलताबाट हामी अहिलेको सहज अवस्थामा आइपुगेका हौँ र अझै सहज जीवन यापनको आकाङ्क्षाले हामीलाई कति घचेटी रहेको छ । प्रकृति र संस्कृति नदीको गतिजस्तै सरल सहज गतिमा बग्ने कुरा हुन् । ओरालोतर्फ बग्नु पानीको स्वभाव हो, सजिलोको खोजीमा लाग्नु मानिसको स्वभाव हो । मानिस प्रकृतिमाथि गरिने व्यवहारबाटै संस्कृति निर्माण गर्छ । प्रकृतिमाथि आश्रित भएर गरिने मानवीय व्यवहार नै संस्कृति हो र यो संस्कृति नै मानिसको परिचायक तत्त्व हो । प्रकृति र संस्कृति स्थिर कुरा होइनन्, नदीजस्तै निरन्तर बग्ने परिवर्तनशील तत्त्व हुन् । यिनीहरूमा आएको परिवर्तन जसरी नै हामी परिवर्तित हुन्छौ । परिवर्तनको यो क्रम निरन्तर हुन्छ भन्ने कुरा हामीहरूले बुझ्न जरुरी छ ।

मान्छेको अहङ्कारवादी चिन्तन देखेर मलाई कहिले कहीँ हाँसो उठेर आउँछ । प्रकृतिमा परिवर्तन प्रक्रिया निरन्तर हुन्छ र प्रकृतिमा आएको परिवर्तनसँगै मानवका व्यवहारमा पनि परिवर्तन आउँछ भन्ने कुरा हामीले मात्र बुझेर नहुने रहेछ, अरूहरूलाई पनि बुझाउनु पर्दो रहेछ । यही कुरा नबुझ्दा मान्छेले धेरै दुःख पाएको छ ।

सामाजिक परिवर्तनको गति थाहा नपाएरै होला कतिपय मानिसहरू अहिले पनि पुरानो संस्कृतिको नाममा बोक्रा समाएर बसेका छन् । गुदी सुकेर खोक्रो भइसक्यो तैपनि कतिपय मानिसहरू बोक्रो समाएर अहम् प्रदर्शन गरेका छन् । यो खोक्रोपनले आफूलाई कहाँ पुर्‍याएको छ भन्ने कुरा मानिसलाई पत्तै छैन । त्यसैले उनीहरू आफ्नो पुर्ख्यौली परम्पराको धाक लगाएर बोक्रे रवाफ देखाइरहेका हुन्छन् । मलाई लाग्छ यो पुर्ख्यौली रवाफ र अहम् व्यक्तिका मात्र नभएर समाजकै घातक तत्त्वहरू हुन् । कति राजा महाराजाहरूको गादगद्दी उहिल्यै सिद्धियो तर पनि उनका खनातिको पनि खनाति पुस्ताका सन्तानहरू अहिलेसम्म पनि हामी त फलाना महाराजका सन्तान हौँ भन्दै धाक लगाउँछन् ।

कतिपय बाहुनहरू आफ्नो जनै टुप्पी फालिसकेका छन् तर पनि उनीहरू आफूलाई ‘तीन धर्के चन्दनघारी ब्राह्मणको पनाति पो हुँ’ भन्दै जातको बोक्रे रवाफ देखाउँछन्, कतिपय मानिसहरू ‘आफू त धनी मानी खानदानी परिवारको हुँ नपत्याए मेरो हात सुँघ’ भन्दै आफ्ना बाजे बराजुले खाएको ध्यूको बास्ना अहिले पनि बसाएको रवाफ जमाउँछन् । यी बोक्रे रवाफ सुन्दा सुन्दै मलाई वाक्क लागेर आउँछ, दिक्क लागेर आउँछ, तैपनि यसले लखेट्न छाड्दैन ।

यो बोक्रे रवाफ लगाउनेहरू कुनै यथार्थ धरातलमा हुँदैनन्, कुनै जमानामा भएको भए पनि उनीहरूको त्यो पुर्ख्यौली सान अहिले खुस्किसकेको छ, तैपनि पुर्खाको सान र मान समातेर रवाफ देखाउँछन् अह प्रदर्शन गर्दछन् । तपाईंलाई पट्यार लाग्दैन भने म आफैले भागेको एउटा रवाफ देखाउने बोक्रे सन्दर्भ यहाँ कोट्याउन चाहन्छु ।

करिब ३० वर्ष अगाडिको कुरा हो, विश्वविद्यालयको कामको सिलसिलामा मलाई डोटीको सिलगढीमा जानु पर्ने भयो र नेपालगन्जबाट प्लेन चढेर दिपायल गएँ । दिपायलबाट सिलगढीसम्म जाने यातायातको व्यवस्था थिएन । मेरो साथमा एउटा काँधे झोला र अलि अलि कागजपत्र राखिएको एउटा बोरा थियो, बाटो पुरै ठाडो उकालो थियो । भरिया त चाहिने नै भयो । एयरपोर्टको छेउका पर्खालमा फाटेका लुगा लगाएका कुल्लीहरू लहरै बसेका थिए ।

मैले छेवैको एउटा दाइलाई ‘दाइ यो भारी सिलगढीसम्म लानुपर्ने थियो लाने हो ?’ भनेर सोधेँ । तर उनी भने बोल्दै बोल्दैनन्, लाने नलाने जवाफै दिँदैनन् ।

लहरै बसेका अरू पाँच छ जनालाई त्यसै गरी सोधेँ तर कसैले पनि केही पनि जवाफ दिँदैनन्, एक दुई जनाले ‘नाइँ नलान्या हुन्’ भन्नेसम्म जवाफ दिए ।

अलि बढी नै टिठलाग्दो गरिबजस्तो अर्को एक जनालाई अलि विनयको भाषामा माथि सिलगढीसम्म भारी पुर्‍याइ दिन अनुरोध गरेँ तर उनले त च्याँठ्ठिएर भने ‘नाइँ जान्या भन्या पछि नाइँ जान्या हुन्, क्यान कर गरिरह्या हौ’ ।

भारी बोक्ने मान्छे नपाएर म समस्यामा परेको थिएँ । मेरो यो समस्या एकजना मित्रले नियालिरहेका रहेछन् । उनी पोखरा तिरबाट जागिर खान त्यहाँ गएका रहेछन्, चिनापरिचय भयो, मैले दाइको नाता लगाउँदै आफ्नो समस्या भनेँ । उनले भने ‘तिमीले यिनीहरूसँग बोल्ने भाषिक सानबाट गरिने मान नपुर्‍याएर हो, आखिर हुन् त यिनीहरू भरिया कुल्लीहरू नै हुन्’ ।

यति भनेर उनले एउटा भरियालाई ‘राज् साहेब यो भाइको भारी सिलगढीसम्म पुर्‍याइसिनु पर्‍यो’ भने । उसले सजिलैसँग स्वीकार गर्‍यो र भारी बोकेर हिँड्यो, सिलगढीतिर उकालो लाग्यो । त्यो भरिया त्यही थियो जसलाई मैले सबैभन्दा पहिला अनुरोध गरेको थिएँ । मैले ती जागिरे दाइलाई यसबारे जिज्ञासा राख्दा उनले ‘यिनीहरू ठकुरी हुन् यिनका बाजे बराजु कुनै जमानामा यतातिर राजकाज पनि चलाउँथे, अहिले यिनको विगतको हैसियत शिवखुलित भयो, राजकाज आदि सबै सिद्धियो तैपनि यिनीहरू आफूलाई शासक वर्गका सन्तान हौँ, ठाकुरी जातिका हौँ भन्दछन् र भाषा मार्फत विगतको सान जोगाउन चाहन्छन्’ भने । म त छक्क परेँ ।

सिलगढीको ठाडो उकालो, म थाकिसकेको थिएँ, भरिया (राजसाप्) अगाडि अगाडि होइसिन्थ्यो । मेरा मनमा अनेकौँ तर्क वितर्क आइरहेका थिए, यी भरियाहरूको आर्थिक अवस्था खस्किएको छ, उनीहरू विपन्न वर्गमा रूपान्तरण भइसकेका छन् तर पनि उनीहरूमा यो जातीय अहङ्कार किन ? किन बुझ्दैनन् यिनीहरू आफूलाई विपन्न वर्गमा झार्ने पनि यिनै समुदायका मानिसहरूका कारणले गर्दा हो भनेर ।

आफ्नै पुर्खाका केही व्यक्तिहरूले यिनीहरूलाई भरियाको तहमा झारेका हुन् तर पनि यिनीहरू आफूलाई किन शासक जातिका हौँ भनेर चिनाउनमा गर्व गर्छन् ? आफूलाई उच्च जात या शासक वर्गका सन्तति हौँ भनेर धाक लगाउने जमाना गयो, योग्यता र क्षमताको आधारमा चल्नु पर्ने जमाना आयो तैपनि मान्छेमा यो जातीय अहङ्कार किन ? बाजेले घिउ खाएका थिए भनेर अहिले घिउको स्वादै लिन नपाएकाहरूले बाजेको उदाहरण दिएर सान बचाउन सक्छ ? मेरो दृष्टिमा यो विचारणीय प्रश्न हो, सोचनीय कुरा हो ।

म फेरि पनि भन्छु भाषा व्यवहार र विचारको विनिमयका लागि आवश्यक पर्ने कुरा हो । यो जातीय या वर्गीय धरातल चिनाउने आधार होइन । निम्न वर्गीय भए पनि आफूलाई समाजमा ठुलै हुँ भन्ने देखाउन या शासक वर्गको सन्तान हुँ भन्ने देखाउन भाषाको सान देखाएर मान खोज्ने चलन ती विपन्न वर्गका जाति या जनतामा अहिले पनि छ । राजसाप्, बाबुसाहेप्, आइसियोस्, खाइसियोस् जस्ता दुई चार वटा शब्दहरूबाट आफ्नो रवाफ देखाउने उनीहरूको यस्तो प्रवृत्ति देख्दा म त छक्क पर्दछु, अचम्मित हुन्छु, तर म छक्क परेर के हुन्छ र ?

म फेरि पनि जोड दिएर भन्न चाहन्छु यो पुर्ख्यौली रवाफ र अहम् व्यक्तिका मात्र नभएर समाजकै पनि घातक तत्त्व हुन् जसले उनीहरूलाई यथार्थ धरातलबाट टाढा पुर्‍याउँछन्, पतन या विनाशको बाटोमा घुच्याड्छन् । मेरो विनम्र गुनासो छ, बोक्रे आडम्बर र अहङ्कार छाडौँ, आफ्नो वर्तमानको यथार्थ धरातलमा उभिएर बाँच्न सिकौँ ।