“बुबा हुनुहुन्न अब हामीसित !” यो कुरा सम्झिने बित्तिकै आँखा निचोरिन्छन् । गला अवरुद्ध हुन्छ । बुबाले भौतिक देह परित्याग गरी अनन्तकाशमा हिँड्नु भएको कुरा सत्य हो । तर, त्यो सत्यलाई मेरो अबुझ मनले पचाउन सकिराखेको छैन । बुबासँगको बिछोडमा वेदनाले छाती थिचिरहन्छ । बुबा बित्नु भएको दिन दोस्रो चोटि आफू टुहुरिएको महसुस गरेँ । पहिलो चोटि म; मलाई जन्मदिने आमा मर्दा टुहुरो भएको थिएँ । त्यतिखेर मुस्किलले तीन चार वर्षको थिएँ होला । संवेदना र अनुभूतिको क्षमता कलिलै थियो । त्यो अपरिपक्व केटाकेटी उमेरमा आमा मर्दाको पिडा कति नै अनुभूति गर्न सकेँ होला र ? अहिले सम्झिँदा आमाको मृत्युका सारै धमिला छायाहरू मात्र छन् मसित ।

बुबाको मृत्युमा आफू अनाथ भएको भाव उम्लिरहेछ छातीमा । मलाई जन्म दिने मेरा बुबाआमा र मेरी जीवनसँगिनी रेणुकाका बाबुआमा (ससुरा सासू)को वात्सल्य, ममता र अभिभावकत्वमा मेरो जीवनफूल सुगन्धित भएको थियो । अहिले मलाई भित्रबाटै अन्तर्बोध भएको कुरा के भने मेरो आफ्नो कुलतर्फका मातापिता र पत्नीकुल तर्फका मातापिताको संयुक्त छहारीमा रेणु र मेरो दाम्पत्य जीवन, त्यसबाट सृष्टि भएको नयाँ वंश क्रमले यस धर्तीमा यात्रा गरिरहेछ । जुन दिन म वैवाहिक सम्बन्धमा गाँसिएँ, त्यसै दिनबाट मैले थप एक जोडी अति ममतामयी बाबुआमा प्राप्त गरेको थिएँ । यसै गरी मसँगको दाम्पत्य सम्बन्धको कारणबाट रेणुले पनि थप एक जना पिता (ससुरा) प्राप्त गरेकी थिइन् । माता (सासू) प्राप्त गर्ने कुरा त उहिल्यै चुकिसकेको थियो ।

जब जब मलाई जीवनका कहाली लाग्दा सङ्कटहरूले घेर्थे, समस्याका कहाली लाग्दा  पहाडहरूले ठेल्दै पेल्दै अप्ठ्यारो अक्करमा पुर्‍याउँथे, त्यतिखेर आफ्नो पितालाई सम्झिन्थेँ ससुराली तर्फका बुबाआमालाई सम्झिन्थेँ । अनि मलाई एउटा अज्ञात ऊर्जाले स्पर्श गर्थ्यो- म अनाथ छैन, म एक्लो छैन, म सहाराविहीन छैन, म आहाराविहीन छैन, अनि म अभिभावकहीन पनि छैन । मलाई छाहारी दिने मेरा आमाबुबाहरू छन् भन्ने भाव बलशाली भएर आउँथ्यो । ज्यादै अप्रतिम प्रेम र अपनत्वको सघन अनुभूति छातीभरि सलबलाउँथ्यो । मलाई त्यो पितृत्वको छहारी दिने एक जना व्यक्ति कीर्ति शेष हुनु भएको दुःखद सन्दर्भमा हृदयमा अनन्त हुँडलाहर मच्चिएका छन्, तिनलाई बिसाउन खोजिरहेको छु ।

ससुरा बा हुनुहुन्थ्यो र न म ज्वाइँको रूपमा अस्तित्ववान् थिएँ । आज बा हुनुहुन्न र म पनि ज्वाइँको रूपमा छैन । बाको मृत्युसितै मसित टाँसिएको ज्वाइँरूप पनि मृत बन्यो । प्रकृतिको विधान कति विचित्रको छ; एउटा व्यक्तित्वको मृत्युमा अर्कोको अस्तित्वमा पनि सङ्कट आउँदो रहेछ । मृत्युले कसैको जीवन मात्र छिन्दैन, त्यस जीवनसित गाँसिएका अनेकन् साइनाका पगरीहरू पनि खोसेर लगिदिन्छ । त्यसैले बाको मृत्युसितै मेरो ज्वाइँको पगरी अलप भएको छ । अर्थात् यो कुरालाई यसरी बुझूँ; उहाँ ससुराको रूपमा हुनुहुन्थ्यो र न म ज्वाइँ थिएँ । आज ससुरा बा यस जगतमा नरहेपछि म भित्रको ज्वाईं पनि रहेन भन्ने मेरो ठहर छ । हो सासूकोभागको ज्वाइँ अंश अझै बाँकी रहला । जेठ जेठीसासूहरुको ज्वाइँरूप अझै बाँकी रहला । तर, बाको भागको ज्वाइँ उहाँको मृत्युसँगै यस लोकबाट बिदा भएको छ ।

यसरी नै आफ्ना आफन्तजनहरूका मृत्युका हामी जीवितहरू पनि अलिअलि अंशअंशमा मर्दै जाँदा रहेछौँ । बाउको मृत्युसँगै छोरो पनि मर्दो रहेछ किनभने छोरो भन्ने बाउ नै नरहे पछि बाउसँगै छोरो मर्दो रहेछ । बाजेसँगै नाति मर्दो रहेछ । मामासँगै भान्जाको साइनो पनि मर्दो रहेछ । बाको मृत्युकै दिन मभित्रको ज्वाइँरुपको पनि देहावसानमा म शोकमग्न भइरहेको छु ।

मसँग अब बुबाका यादहरू छन्, स्मृतिहरू छन् अनन्त मायाका डोबहरू छन् । उहाँले वरण गरेको विरागी व्यक्तित्वको आभामा म पनि अलि अलि आलोकित हुन पाएको छु । बुवाको भद्र व्यक्तित्व, सन्तको जस्तो स्वभावले मेरो मन हरदम विमोहित गरिरहन्छ । मृत्युको आखिरी क्षणमा पनि वैराग्य भावको उदय भएको घोषणा गरेर जानु भयो । अक्सर जति नै धर्मकर्म, जपतप, पूजापाठमा लागेका मानिस पनि मृत्युको बखतमा स-साना विषयवासनाका कुराहरूमा अल्झिन्छन्, अल्झिएका छन् । उनीहरूको आखिरी चेतना तुच्छ वस्तु संसारमा अल्झिन्छ । सारा स्वार्थ र विषय वासनाबाट आफ्नो मनलाई अलग राखेर जसले आनन्द भावका साथ मृत्युलाई ग्रहण गर्छ, उही व्यक्तिको आत्मा मुक्त रहन्छ । नत्र त लोभ, मोह, रिस, राग, कामना, वासना, मद, मात्सर्य, इर्ष्या, अहङ्कारमै चेतना अल्झिन्छ र मानिस भयावह बन्धनमा जकडिरहन्छ ।

बुबाको मृत्युको आखिरी घडीको दृश्य हेर्दा सांसारिक मायामोहमा उहाँको आत्मा अल्झेन भन्ने मेरो ठहर छ । छोराहरूले बुबाको अन्तिम इच्छाको बारेमा कुराकानी गर्दा आफू इच्छा भन्दा पर गइसकेको, भित्री जगत्मा पूर्णरूपण वैराग्य भावको उदय भैसकेको उद्घोष गर्नुभयो । उहाँलाई लिनु-दिनु, इच्छा-अनिच्छा, तेरो-मेरो, लोभ-स्वार्थ, सफलता-असफलताको संसारी भावले छोडिसकेको थियो । उहाँले जस्तो आनन्द-भावमा जीवन ग्रहण गर्नुभयो, जीवनका प्रत्येक पल बिताउनु भयो; मृत्युलाई पनि आनन्दका साथ ग्रहण गर्नुभयो । आखिरी क्षणमा पनि कुनै आग्रहको भाव, कुनै इच्छाको भाव, कुनै सन्देशको भाव, कुनै मनोकामनाको भाव देखिएन । जीवनप्रति गहन मैत्रीभाव थियो उहाँमा, मृत्युलाई पनि जीवनलाई जत्तिकै आदरका साथ स्वीकार गर्नुभयो । मेरा ससुराको यस खालको गरिमामयी मृत्युप्रति गर्व छ मलाई । सिद्धहरूको मृत्यु, साधुसन्तहरूको मृत्युसँग सामिप्यता खोज्न सकिने ओजपूर्ण मृत्युवरण गर्नुभयो ।

मृत्युशैयामा पनि होसपूर्वक गीता दर्शनका श्लोकहरू पढिरहनु भयो । जीवनभरि गीता दर्शनको साधना गर्नुभएको थियो । गीतामा निर्देशित ज्ञानयोग, भक्तियोग, कर्मयोग र ध्यानयोगको सूत्रहरूलाई पूराका पूरा व्यवहारमा ढालेर मृत्यु अङ्गीकार गर्नुभयो ।

उहाँको विरागी व्यक्तित्वको विषयमा मैले नजिकबाट अवलोकन गरेको छु, उहाँका जीवनका केही अंश आफूले पनि ग्रहण गर्ने कोसिस गरेको छु । उहाँ करिबकरिब गीतामा वर्णन गरिएको स्थितप्रज्ञको अवस्थामा आरोहित हुनुहुन्थ्यो । सुखदुख, लाभहानी र तुच्छ वैरभावबाट माथि उठेर जीवनलाई शान्त, निर्विकार, निर्विचार बनाइरहनु भएको थियो । मानवीय जीवनका स्वाभाविक कमजोरीरहित पुरुष हुनुहुन्थ्यो भन्ने कुरा त म दावा गर्दिन तर पनि उहाँ जीवनमा सम्पत्ति कमाउने दौडधुपमा संलग्न हुनु भएन । एक फक्कड जोगी जस्तो आफ्नै रसमा मस्त रहनुभयो । घरमा हरदम जोगी, बाबाजी र गीतावालहरूको सत्सङ्ग चलिरहन्थ्यो । भोलेबाबाको बुटी (गाँजा) सेवन गरी आनन्द भावमा मगनमस्त भएर झुम्नु उहाँको स्वभाव थियो ।

बाहिरी धन कमाउने कुरामा भन्दा भित्री धन कमाउने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो । धेरै गीतावालहरूले बाहिर त खुप बिगुत धसेका छन् । बाहिर त निधारमा खुप चाँदनको लेप दलेका छन् । तर, मेरा ससुरा बाले भित्रैबाट चाँदन लाउनु भएको थियो । बाहिर चाँदनको टिको लाउनु ठुलो कुरा होइन, ठुलो कुरा त भित्रै देखि चाँदन लाउनु हो । बाहिरी सजधज र आडम्बर जति पनि देखाउन सकिन्छ । तर, आडम्बरहीन धार्मिक जीवन बिताउनको लागि अन्तर्प्रज्ञा आलोकित भएर आउनुपर्छ । त्यो कुरा उसको जीवन-आचरण बोलीवचन, व्यवहार आदिमा देखिने गर्छ । यस कुरामा मेरो ससुरा सफल हुनुहुन्थ्यो ।

उहाँको सधुक्कडी व्यक्तित्व निर्माणका आनुवंशिक जैविक गुणले महत्त्वपूर्ण भूमिका खेलेको थियो । आत्मा साधनाको बारेमा उहाँ भन्दा पनि उहाँका पिताजी लालबहादुर राउत (बूढा ससुरा) एक कदम अगाडि हुनुहुन्थ्यो अरे । उहाँले पनि गीता दर्शनको सारलाई पुराका पूरा जीवन आचरणमा उतार्नु भएको थियो अरे । उहाँ त झन् सात-सात दिन दश-दश दिन पन्ध्र-पन्ध्रदिनसम्म निर्जन जङ्गलको गुफामा एकान्त साधना गर्नुहुन्थ्यो भन्ने कुरा उहाँलाई देख्नेहरू सुनाउँछन् ।

त्यतिखेर सरुने गाउँको आसपास अनाकण्टर जङ्गलले ढाकिएको थियो । अहिले पनि त्यसका वरिपरि बाघखोर, गैँडाखोर, हात्तीखोर नामका ठाउँहरू छन् । ती ठाउँका नामहरू किन जङ्गली जनावरका नाममा रहे भन्दा त्यतिखेर हाम्रा उदयपुरे वीर पुर्खाहरूले ढालफाँड र जङ्गललाई आबाद गर्नको लागि जङ्गली जनावरको लागि थुन्ने खोरहरूको व्यवस्था गरेका रहेछन् । मेरा बूढा ससुरा त्यसै युगका गीता साधक हुनुहुन्थ्यो । साधनाको लागि उहाँ आफ्नो घरदेखि टाढाको तिल्केनी जङ्गलको ठोक्करे डाँडामा पुग्नु हुन्थ्यो । घनाजङ्गल बिचमा एउटा ठुलो गुफा थियो । त्यसै गुफामा ध्यान-साधना गर्नुहुन्थ्यो । हप्ता दश दिन लामो समाधि कसेर ध्यानमा लीन रहनु हुन्थ्यो अरे । त्यतिखेर उहाँको ध्यान-साधनालाई देख्ने मान्छेहरू सुनाउँछन् ।

अवसर त्यस निर्जन गुफामा बाघ, भालु र चितुवाहरू बास बस्थे अरे । उहाँ उनीसँग मिलेर गुफामा साधना गर्नुहुन्थ्यो । एक दिन झम्के साँझमा ध्यान-साधनाको लागि त्यस गुफामा पुग्नु भयो । सानो राँको बालेर पुग्नु भएको थियो । गुफाभित्र छिर्ने बित्तिकै देख्नुभयो एउटा यामानको पाटे बाघ मस्तसित बसिरहेको रहेछ । बूढालाई देखेर बाघका टिलपिल आँखा बले । बाघलाई देख्ने बित्तिकै उहाँले भन्नुभयो- “ए ! यहाँ त तपाई पो बस्नु भएको छ । म पनि बसौँ भनेर आएको थिएँ । ठिक छ केही छैन मिलिमिली बसौँला ! एउटै घरका सदस्य भएपछि मिल्नैपर्छ …।” बूढाले यति भनेपछि त्यो बाघ सरक्क ठाउँ छोडेर निस्केर हिँड्यो अरे ।  बूढाले अनुरोध गरे- “किन हिँड्नु भाको बस्नु न बस्नु । म आउने बित्तिकै हिँड्नुपर्छ त?” तर, सुनेको नसुने झैँ गरी त्यो बाघ लसक्क घनाजङ्गलमा अलप भयो ।

अर्को चोटि वर्षात्वको रातमा हप्ता दिन अगाडिदेखि बूढा ध्यान-साधनामा एक्लै बसिरहेका थिए । त्यो रात घनघोर पानी आयो । पानी थामिएपछि आधारातमा एउटा चितुवा निथ्रुक्क भिजेर ओता लाग्न गुफाको मुखमा आइपुग्यो । बूढाले आँखाको पलक उघारेर हेरे, डरलाग्दो चितुवा मुसो जस्तो रुझेर आइपुेको छ । गुफामा बलेको मधुरो उज्यालोमा उसका आँखा टलक्क टल्किए । बूढाले भने-“ए आउनुस् ! आउनुस् ! तपाईंको ठाउँमा त म पो बसिरहेको छु । तपाईंलाई स्वागत छ आउनुस् ! फेरि भिज्नु पनि भएछ । जाडो भएको होला । आगोमा जीउ सेकाउनुहोस् ! आउनुहोस् !” यति सुन्ने बित्तिकै चितुवा फरक्क फर्केर बाटो लाग्यो अरे ।

बाघ भालुसँग संवाद गरेका गुफामा एकल साधना गरेका अनेकौँ रोचक घटनाहरू सुन्न पाएको छु । साधनाको गहनतलमा ओर्लिसकेका सिद्ध पुरुषहरूको तरङ्गले मात्र पनि जनावर पशुपंक्षी आदिलाई वशीभूत पारेको र पार्ने कुरा त प्राचीन ऋषिमुनिको पालादेखि नै चलेको हो । बालक ध्रुवलाई ध्यानमा बस्ता बाघभालुले वरिपरिबाट घेरा हालेर सुरक्षा गरेको कुरा होस् या बुद्धलाई कुल्चाउन मत्ता हात्ती पठाउँदा हात्तीले केही नगरेको कुरा होस् या भक्त प्रह्लादलाई पनि बहुला हात्तीले केही क्षति नगरेको कुरा होस्, यी कुराहरू कम्ती रोचक छैनन् । प्राचीन कालीन घटना जस्तो लाग्ने अनेकौँ चमत्कार बूढाससुराले गर्नुभएको कुरा अहिले पनि उहाँसँग सङ्गत गर्ने व्यक्तिहरूको मुखबाट सुन्न पाइन्छ । फेरि उहाँलाई शारीरिक रूपमा असहज हुने बित्तिकै, बिरामी पर्ने बित्तिकै झोलुङ्गोमा बोकाएर भए पनि त्यही गुफामा पुर्‍याइदिनु पर्थ्यो अरे । त्यहाँ छोडेर आएपछि ध्यान-साधनामा बसेपछि आफै सञ्चो हुनुहुन्थ्यो अरे ।

उहाँ अक्सर गरी घरको एकान्त कोठामै साधनामा लीन भइरहनु हुन्थ्यो अरे । त्यतिखेरको जमानामा गाईवस्तु पाल्ने र गोठालो जाने चलन थियो । बस्तु लिएर जङ्गलतिर जाँदा पनि उहाँलाई ध्यान लागिहाल्थ्यो । जङ्गलको एकान्तमा ध्यानमा लीन भएपछि बस्तु कहाँ पुगे, क-कसको बाली खाइदियो थाहा पत्तो हुँदैनथ्यो । उहाँ त्यस प्रकारको फक्कड साधु हुनुहुन्थ्यो । उहाँलाई जति नै गाली गरे पनि अपमान गरे पनि त्यसले छुँदै छुँदैनथ्यो । हाँसी हाँसी स्वीकार भावमा मग्न रहनु हुन्थ्यो । उहाँको चित्त राग-विरागबाट माथि उठेर परम वितरागी भइसक्नु भएको थियो । मान अपमानबाट माथि उठेर परम निर्वेदको अवस्थामा उक्लिसक्नु भएको थियो । सुखदुख, हर्षविष्मात, शोकपीडा आदिबाट माथि उठेर सत्चित् आनन्दको परम अवस्था पाइसक्नु भएको थियो । मनस्थितिमा न हर्षको उत्तेजना थियो न त शोकको अनुभूति नै थियो । उहाँलाई देख्ने, सङ्गत गर्ने जनहरूले परम योगीको रूपमा उहाँले आफूलाई साधना-बलद्वारा रूपान्तरण गरिसक्नु भएको थियो ।

भोजनप्रतिको आशक्ति-भाव पनि छुटिसकेको कुरा सासुआमाले सुनाउनु भएको थियो । एक चोटि त असारदेखि माघसम्म खालि दूध मात्र सेवन गरेर ध्यान साधनामा रहनु भएको थियो अरे । आफ्नो एकान्त साधनामा उहाँको साथमा काठे पाटी त्यसमा रातमाटोको धुलौटो र लेख्ने सिन्को हुन्थ्यो अरे । त्यसमा अङ्कहरूको गणितीय साधनामा हरदम डुबिरहनु हुन्थ्यो भन्ने कुरा देख्ने जनहरू बत्ताउँछन् । आफ्नो आन्तरिक तलमा विषय-वासनाका उच्चतम अङ्कहरूलाई घटाउँदै, कटाउँदै, ८, ७, ६, ५, ४, ३, २, १, ० यसरी शून्य खेल खेलिरहनु हुन्थ्यो अरे । मनलाई शून्य बनाउन चित्तलाई शून्य बनाउने उहाँको साधना आफैँमा रहस्यले भरिएको थियो ।

उपनिषद्ले पूर्ण भन्यो । बुद्धले त्यही कुरालाई शून्य भने । तर, यी कुरा एउटै सत्यका अलग अलग रूपहरू हुन् । चित्त शून्य नभै मानिस दुःखबाट पार हुन सक्तैन । बुद्ध लगायत सम्पूर्ण बुद्ध पुरुषका साधना पद्धतिहरूले चित्तलाई शून्यमा परिणत गर्ने बाटो देखाउँछन् । जसले शून्यको अनुभूति गरिसकेको छ ।

उसको मनमा परम आनन्दको भाव घटित भएको हुन्छ । जीवनको सबैभन्दा कठिन कुरा नै विषय-वासनाका अङ्कहरू गिराउँदै मनलाई शून्य बनाउने कुरासँग गाँसिएको छ । बूढाले अत्यन्तै सहज ढङ्गले आफूलाई एक परम योगी, आफूलाई एक सिद्ध पुरुषको रूपमा अनावरण गरिसक्नु भएको थियो । बाघभालुलाई पनि वशीभूत गर्न सक्ने यस्तो योगीका छोरा भएको कारणले पनि उहाँको मनमौजी साधुक्कडी व्यक्तित्वका छापहरु मेरा ससुरामा अनुदान स्वरुप आएको थियो भन्ने मेरो ठहर छ । बूढा ससुराको मृत्युमा पनि एक करिष्मा देखिन्छ । जब अब म अनन्तको यात्रामा जाने हो भन्ने निश्चय गर्नुभयो तब उहाँलाई इच्छा मुताबिकै जीवितै जलाशय झारियो । माटेखोला र वैजनाथ खोलाको दोभानमा झारेपछि जलमा खुट्टाको स्पर्श पाउने बित्तिकै आनन्दका साथ देह त्याग गर्नुभयो । संयोग बुबाको पनि अन्तिम सत्गत त्यही स्थानमा भयो, जहाँ उहाँका पिताजीको चोला उठेको थियो ।

जब पितामहले प्राण त्याग गरेकै ठाउँमा बुवाको सुन्दर काया अग्नि ज्वालामा दनदनी बल्न थाल्यो । आँखाभरि आँसु, मुटुभरि वेदना बोकेर एउटा जीवन भीष्मभूत भएको साक्षात् दृश्य हेरिरहेँ । काखमा छोरालाई लिएर त्यो दृश्य हेरिरहँदा आफ्नोपनि अवश्यम्भावी मृत्युलाई देखिरहेको छु । छोराहरू, छोरीहरू, बुहारीहरू, ज्वाइँहरू र नातिनातिनाहरू एकै ठाउँमा बसेर टुलुटुलु बुवालाई अन्तिम बिदा गरेको हृदय विदारक दृश्य हेरिरहेका छौँ ।

एउटा बोटबाट सृजित यति धेरै शाखा-सन्तान र आफन्तजनहरू आज टुहुरिएको यस घडीमा गला अवरुद्ध छ । अनन्त हिक्काहरू छुटिरहेका छन् । तरपनि बाँच्नु पर्ने नियतिमा हामी बेरिएका छौँ । आफ्ना जतिसुकै प्रियजनहरू मरे पनि तीसँगै जान नमिल्दो रहेछ । रोयो, करायो, चिच्यायो, अलाप-विलाप गर्‍यो, शोकमा डुब्यो । आखिर सहनु पर्ने रहेछ, मरेकालाई बिस्तारै बिस्तारै बिर्सिँदै जानुपर्ने रहेछ । कसैको कालमा आफू पनि होमिन नसकिने रहेछ । यो घडी साँच्चै नै बाँच्नुको नियतिमा बेरिएका छौँ ।

बुबाको मृत्यु-पीडाले शोकको पोखरीमा गम्लङ्ग खसिरहेको छु । जति जति बुबाका स्मृतिहरू बल्झिँदै जान्छन् उति उति रोदन हिक्काहरू भित्रबाट उर्ल्लिएर उठ्ने गर्छन् । बुबाको चेतन शरीर हामीसँग छैन, सदाको लागि बुबा हामीबाट बिदा हुनुभयो भन्ने कुरा सोच्ने बित्तिकै हजार वटा सुइराले मर्मस्थलमा शूल रोपे जस्तो हुन्छ । यसपालि म अघाउँजी रोएँ, बुबाको पवित्र आत्मालाई आँसुका फूलको तर्पण बराबर अन्य कुराको तर्पण फिक्का फिक्का लागेको छ ।

मेरो एउटा शीतल छहारीको सुन्दर वटवृक्ष सदाको लागि उखेलियो । एउटा आस्था र आदरको चम्किलो हिमाल हेर्दाहेर्दै धुवाँमा अलप भयो । खरानीमा विलीन भयो । अबका चर्का घामपानीहरूमा ओता लाग्ने र छहारी लिने ठाउँ बाँकी छन् भने मेरा साख्य पिताको एउटा छहारी बाँकी छ, ससुरालीमा आमा (सासू) को छहारी बाँकी छ । आफ्नी आमाको छहारी र ससुराको छहारी समाप्त भैसकेको छ । मान्छे कति निरीह प्राणी रहेछ । यस्तै शोकका क्षणहरूमा अनुभव भइरहेको छ । वात्सल्य र ममताको छहारी, स्नेह र अपनत्वको छहारी, प्रेम र सद्भावको छहारी, संरक्षण र सादरको छहारी, भरोसा र आदरको छहारी कति मूल्यवान् छ ? त्यसलाई भित्रै अनुभूत गरिरहेछु । मान्छे विना छहारी बाँच्न सक्तो रहेनछ । यिनै छाहारीहर टुट्टा मानिस वास्तविक अर्थमा अनाथ बन्दो रहेछ । साँच्चैको टुहुरो हुँदो रहेछ । मलाई अखण्ड माया, आदर, अपनत्व, ममत्व खन्याउने आस्थाको ज्योति निभेको छ, भरोसाको किल्ला ढलेको छ । प्रेमको छहारी जलेको छ । उहाँप्रतिको अगाध श्रद्धा आँसुका छल्किरहेछ । मुटुमा उहाँको अभाव बल्किरहेछ ।

उहाँको भौतिक देह हामीसँग छैन, यो सत्य हो । उहाँले छोडेको प्रकाश हामीसँग अझै जीवन्त छ, त्यसकै आलोकमा बाँकी जीवनको यात्रा गर्नु छ । उहाँको प्रभावहरू छन् मसँग । उहाँका प्रेरणाहरू छन् मसँग । उहाँले दिएका मार्गदर्शनहरू छन् मसँग । उहाँको बारेमा लेख्तालेख्तै यो निष्कर्षमा पुगेको छु- उहाँको जीवन्त आलोक रेणुतर्फबाट मेरो विपुमा, असुमा उहाँका शाखा सन्तानका थुप्रै व्यक्तिहरूमा छरिएको छ ।

त्यसैले उहाँको पूर्ण मृत्युलाई उहाँको समग्र मृत्युलाई कहिल्यै पनि स्वीकार गर्न सक्तिन । आज तेल सकिएर दियो निभ्यो त के भो र ? त्यस दियोले छाडेको रोशनी आँखा आँखामा बिच्छिएकाे छ त्यसकै प्रकाशमा जीवन पथको अँध्यारो पुछेर अगाडि बढ्नु छ । जीवनदायिनी छहारी दिने रुख ढल्यो त के भो र ? त्यही छहारीको मृदुल शीतलता शरीरका कोशकोशमा खिपेर आउने चर्का घामहरू खेप्नु छ । बुबाको अजरामर आत्म-तत्त्व जीवित छ भने यही व्योम मण्डलमा विचरण गरिरहेको होला, हामी त्यसकै आलोक, अनुकम्पा र अपनत्वमा बेरिरहनेछौँ ।

गीता दर्शनले भनेकै छ- न त्यसलाई आगोले जलाउन सक्छ । न पानीले भिजाउन सक्छ । न हावाले सुकाउन सक्छ । न शस्त्रले काट्न र छेड्नै सक्छ ।