औँसीको रातमा ठूलाठूला असिनाले सिसाको झ्यालमा हानेजस्तै दुःख लाग्यो सुनेर । सम्बद्धका लागि माङ्गलिक होला भलै तर मलाई रामोराम अमङ्गल नै लाग्यो । कसैका बारेमा खबर सुन्नु सुनाउनु प्रत्यक्ष–मार्फत जे भए पनि केही राम्रो र केही नराम्रो अनुभूत पक्कै हुन्छ । अभिव्यक्त नहुनसक्छ, त्यो कुरा अर्कै हो ।

मिति गुज्रिन लागेको रात कालोकालो धमरधुस छ । बिहानी बन्ने प्रयत्नमा देखिँंदैनन् कोही पनि । साँझजस्तै थकित र हतारोमा छन् देखिएका जति सबै । सर्वत्र ओढिएका र ओछ्याइएका पनि साँझजस्तै लाग्नथालेको छ मलाई । यही साँझजस्तै थकाइ लाग्दो समाचार सुनायो सान्निध्य मित्रले । नौलो बन्यो मेरा लागि तर भइसकेको थियो पुरानो सयौंँ दिन पुरानो । मूल्य र तौल कतिको थियो त्यो खबरको त्यसको पर्वाह नै नगरी अत्यन्त गरुङ्गो बनेंँ म । सम्पूर्ण शरीरलाई ऊर्जा दिइरहने मन भारी भएपछि देखिनेजति सबै भारी नै लाग्दोरैछ । आफूआफूद्वारा नियन्त्रित हुन नसकेपछि नै बढ्दोरहेछ मनको भार । यही निक्र्याैल गरेंँ मैले त्यो साँझ ।

कसैले मनाएको खुसी उत्सवमा पिरिनु स्वयम्बाहेक कसैका लागि पनि अर्थपूर्ण हुँदैन । जसले जस्तो चाहन्छ, उसले उस्तै गर्न पाउने अधिकार प्राकृतिक र मानवअधिकार पनि हो । यसलाई उलङ्घन गर्ने अभिप्राय नभएरै पनि उलङ्घन गरेंँ मैले ।

ऊ एउटा व्यक्ति हो । सुखमा नभई दुःखले नजिक्याएको । दुःखले कमाएको मित्र । भावना र हार्दिकताले पाएको मित्र । पानी पर्दा हामीसँगै रुझ्थ्यौ, सँगै भिज्थ्यौं । आकाशजस्तै निर्वस्त्र थियौंँ एकआपसमा हामी । उसको घाउमा म दुख्थेँ, मेरो दुखाइमा ऊ मर्माहित हुन्थ्यो । शालिग्रामजस्तो सम्बन्ध थियो हाम्रो । पहाडमा कोचिएर, चोइटिएर, नदीमा पखालिएर पवित्र बनेको । तर अहिले उसको इच्छाप्रति दुःख मानेंँ । प्राप्तिलाई अन्याय ठानेंँ । स्वीकारोक्तिलाई बहिष्कार गरेंँ मैले हिम्मत आफैसँग गरेर ।

उसले बालेको दियोमा पुतली बनेर झुम्मिन सकिनँ त्यो साँझ म । विगतमा झैंँ एउटै पोखरीमा डुबुल्की मार्न सकिनँ । इच्छाअनुरुप एउटै रङमा पोतिन सकिनँ । पूर्वका दिनमा झैंंँ एक्लो र एकान्तले मलाई असजिलो पार्न सकेन ।

यतिन्जेल मैेले ओढारमा निदाउनुपरेको छैन । प्रदर्शनका निम्ति धरहरासँग मितेरी पनि लाउनुपरेको छैन । आफैलाई बिर्सने गरी विश्वासको आत्महत्या गर्न खोजेको पनि छैन । मैले जानेको ज्ञान पनि यत्ति हो । आफूसँग जति घात गरे पनि अरुलाई दिएको विश्वासमा कस्तै परिस्थितिमा घात नगर्ने । यसैलाई मन्त्र ठानेको छु मैले । त्यसैले धेरैपटक रातलाई एक्लो बनाएर झ्याउँकीरीझैंँ किरीकिरी आफैलाई रेटेको छु । आफ्नो छाती खोलेर मुटु, कलेजो हत्केलामा राखेर हेरेको छु । आँखा कोतरेर आफैसँग बन्दी बनेको छु । हात खुट्टाहरुमा किला ठोकेर पटकपटक मूर्छापरेको छु । तर कहिलेकहिले आफ्नो घाउलाई सार्वजनिक गर्न खोजेको छैन मैले, सत्यसत्य ।

यो प्रतिज्ञा हो मेरो बाँचुन्जेलसम्मको । सक्दा सबैसँग खुसी गोडमेल गर्ने, निफन्ने र नसक्दा दुःखजति महादेवले जस्तै घटघट पिउने । शास्त्रमा लेखिएको छ – धैर्यवान् पुरुषहरु एकचोटि अठोट गरिसकेको कार्य दोहो¥याउँदैनन् ।

जीवनका हरेक क्षणहरु एकपटक भोग्नका लागि बनेका हुन्छन् । सङ्कल्प बारम्बार गर्नुको कुनै औचित्य रहँदैन । बन्दुक बोकेपछि धेरै लामो खेल खेल्नु पर्दैन । समयले यही भनिरहेको छ हिजो र आज पनि । रङ्गीन आभूषण पहिरिँदैमा मान्छेहरु रगतको रातो रङ परिवर्तन गर्न सक्दैनन् । मान्छे बनेपछि लिङ्ग, वर्ण, उचाइ र रगतले मनमा कुनै प्रभाव पार्न सक्दोरहेनछ ।

जहाँ गए नि, जे भए नि, जे गरे नि, मान्छेका लागि मान्छेभन्दा ठूलो सहयोगी र हतियार अर्को बन्न सक्दैन । मान्छेको भर मान्छे, मान्छेको डर मान्छे । सबै प्रक्रिया समान भएर पनि अन्तरप्रवृत्तिमा किन बाँच्छन् मान्छेहरु ? जन्मदेखि मृत्युसम्मका यथार्थलाई किन रङ्गमञ्च बनाउन खोज्छन् ? मान्छेले मान्छेलाई मान्छेजस्तो व्यवहार गर्न किन कन्जुस्याइँ गरिरहेका छन् ? मैले बुझ्न नसकेको जटिलतम प्रश्न नै यही हो ।

स्वार्थको पनि एउटा सीमा हुन्छ, पालना गरे । दृष्टि नहुनेहरुका लागि उपचार छन् तर नदेखेजस्तो गर्नेहरुका लागि उपचार गर्ने कुनै औषधी बनेको छैन । आफूलाई सप्ठेरो पार्न अर्कोलाई भड्केलामा हाल्ने र आफू उक्लिनलाई आफ्नालाई भीरमा पुर्याउने, आफू नाच्नलाई आफ्नै आँखा निचोरीचिचोरी आँसुको रङ्गमञ्च बनाउनेजस्तो नमिठो गन्ध अरु केही हुन सक्दैन । असमानताको भर्याङ उक्लेर समानताको बिगुल फुकेजस्तो अमिलो कहिले बिहान बन्न सक्दैन । यस्तै लाग्छ मलाई ।

मन ठेगानामा नभएकाहरु खुसी भए पनि खतरनाक हुँदारहेछन् । पहिले जानिएन अहिले नजानी धरै पाइएन । त्यसै हालेका रैनछन् उखानहरु बाबुबाजेहरुले । हामी जे गर्दा पनि हतारले गछाँै र फुर्सदले पछुताउँछौंँ । फुर्सदलाई हामी कहिल्यै हतार गर्दैनौँँ । हतारिएर हुने कुरा पनि होइन यो । अहिलेको समयले हरेकलाई व्यस्त बनाएको छ । लाग्छ त्यो साँझको समाचारका नायकले अझै थकाई मार्न पाएको छैन । थकाई मार्न नपाउनु र फुर्सदै नपाउनुले झन् खुसी बनाइरहेका होलान् त्यो साँझवालाहरुलाई ।

जीवनचक्रमा कहिले नरोकिने अनुभूतिले घुमिरहेका होलान् । आगो, पानी र वायुको परम्परागत संस्कारलाई उलङ्घन गर्दै सामाजिक समयलाई तनतनी पिइरहेका होलान् । आस्था र विश्वासलाई तलुवा बनाएर टकटक हिँंडिरहेका होलान् । प्रणयका तमसुकहरु अरुका आँखामा पर्दा लगाएर काउकुती लाउँदै आफै अट्टहास हाँसो हाँसिरहेका होलान् ।

त्यो साँझ, कस्तो विरक्तलाग्दो साँझ थियो । दाँतमा दर्शनढुङ्गाले हानेजस्तो । हुचिलहरु कनीकनी चिच्याएजस्तो । न्याउलीले रनवन विरक्त्याएजस्तो ।
यस्तो किन लाग्या होला मलाई ? लाग्नु परेर लागेको होला कि लाग्नु नपरेर पनि लागेको होला ? भनुँ कसलाई ? सोधुँ कसलाई ? आफूले राहत पाइसकेपछि अरुको आहत बुझिदिने को पो होलान् र अहिले ? बुझक्कडहरुले बुझपचाएपछि कसको के लाग्छ र ? कोठामा गौंँथलीले गुँड बनाएको मन नपराउने धेरै होलान् तर गाैँथलीको रिसले कोठामा आगै लगाएपछि मादल लिएर नाच्नेहरुलाई के भन्ने ?

यौवनको फल लाग्न थालेपछि उधारिन नचाहनेहरू कमै हुन्छन् । तर रहरको नाममा सीमा फड्कार्ने काम सितिमिति गरिहाल्न कसले सक्छ र ? यौवनलाई खोपामा राखेर टुकीजस्तो धिपधिप बलेर बस्ने यौवनका ढुकढुकीलाई अलिकति मनन किन गर्न सक्दनौंँ हामी बहादुरहरु । यो मामलामा हामी पुरुष किन यति धेरै स्वार्थी बन्ने गरेका छौंँ । बहादुर बनेर अरुका लागि दिनरात जसको जे हतियार चल्छ त्यसले लड्छौंँ । इमानदार भएर नुनको सोझो गर्छौंँ । तर मारे पाप पाले पुण्य भनेर स्वीकार गरेर आइसकेका सिउँदो र सिन्दूरहरुको च्याँखे थाप्न किन धक मान्दैनौँं ? मौसममा फुलिसकेका फूलको पत्रपत्रबाट बास्ना लिइसकेपछि किन बेमौसममा पनि फूल उमार्न चाहन्छौंँ ? स्नेहको भकारीमा भरिसकेपछि केका लागि पराया आँगनको घाममा थकाइ मार्न रहर गर्छौं ? सहनेलाई अन्यायको कैदी बनाएर पुरुषार्थ किन गरिरहने हामीहरु ?

अमङ्गल कृत्य भोगिनीहरु कति थेग्न सक्छन् मनभरि साङ्लाले बाँधिएर बस्न । दुइटै आँखा त हो विरह बढारेर पनि चल्न नसकेपछि रुखमा फल्छन्, नदीसँग बग्छन्, भीरसँग साइनो गाँस्छन् ।

सबैलाई ज्ञातै छ सुखको जस्तो खुसी दुःखमा बाँडिन्न । आफ्नो मलामीका लागि निम्तो बाँडेर कसले मृत्युवरण गर्न सकेका छन् र ?

आश्चर्यले घोत्लिन बाध्य पारेको छ त्यो साँझले मलाई । आफैले राँडी बनाउनुपर्नेहरुले निधारमा टीका लगाएर सौभाग्यवतीको आशीर्वाद नदिए हुन्थ्यो नि । आफ्नो छातीमाथि हात राखेर बक्न नसक्नेले किन मुटु निचोर्न खोज्छन् अर्काको ? कर्तव्यपथमा एकछिन पनि डोरिन नसक्ने भ्रष्टहरु किन समाजमा आदर्शका डिङ मार्छन् ! संयमताको जप गर्न नसक्ने सामथ्र्यहीनहरु गुम्बामा किन छिर्छन् ?

यस्तै संस्कारको विजयीमाला पहिर्याएको थियो त्यो साँझले । कति निठुरी बनेका थिए होलान् ती साँझपूर्वका साँझहरु । सूर्य उदाएपछि रात बनाउन गुन्यूचोलीमा सजिएर जूठो बार्नेहरुकहाँ पुग्ने अरु को हुन्छन् र ? अरुका बाध्यतालाई रमाइलो ठान्ने हामीबाहेक अरु को छन् र ? कहिलेसम्म गरिरहने होला यसरी जिउँदै चित्ता उठाउने काम ?

आफ्नै नाडीका चारवटा चुराका आवाजले तर्सिनुपर्नेहरूको अपसकुन बुझ्नेहरू कसैले इन्द्रेणी बनेर सिँगारिन चाहँदैनन् । सिँउदोभरि सिन्दूर बोकेर पतिको आशौचमा विधवाजस्तो भयावह नियति भोग्नुपर्नेहरूलाई एकपल मात्र आँखा चिम्लेर हेर्न खोज्नेहरू भए कसैले आयुको डम्फू बजाउने थिएनन् ।

होस् जे भए नि । सहानुभूतिको समुद्र भरिए नि, घृणाको सगरमाथा अग्लिए नि । गर्नसक्ने सामथ्र्य केही छैन ममा । मात्र हुँडिलिएको छ मन र अन्तर्मन । कतै प्रकट गर्न सक्दिनँ । त्यो साँझको मित्र र खबरले इमान्दारलाई बेइमानीले हरायो कि बेइमानीलाई इमान्दारीले ? सोध्ने उत्साह अलिकति पनि बाँकी छैन मसंँग । असमञ्जस्यताको साङ्लाले बाँधिएको छु तसर्थ औपचारिकताको पनि बीउ छर्न नकसुँला सायद । अँध्यारो मन र उज्यालो मनमा असमान भएर समान देखिरहेको छु । समान भएर असमान देखिरहेका छन्– आँखाभित्रका आँखाहरुले । भन्न सक्दिनँ म जय र पराजय । सत्य र असत्यमा अन्तर केके छन् भनेर । साँच्चै ढाँटेको होइन मैले । त्यो साँझले मेरा विश्वासको भण्डारमा नराम्रोसँग डढेलो लागेको छ । अरुका त के कुरा आफैलाई पनि विश्वास गर्न छोडेको छु मैले ।

अहिले पनि म देखिरहेको छु, एकातिर रातो सिन्दूर सन्त्रासको र अर्कोतिर कालो सिन्दूर छ मोहिनीको । भन्नुपर्ने सबै भनिसकेँ । अरु म के भनुँ ?

– गरिमा, साझा प्रकाशन (२०५४)

(‘अर्थहीन अर्थहरू’बाट)