पुजनीय ब्राह्मण देवता
साष्टाङ्ग दण्डवत्
माफी चाहन्छु–धृष्टताका निम्ति
अनि, दुस्साहसका निम्ति
मनभरि गुम्सिएका अनन्त पीडा र
अथाह व्यथाहरू
दबाएरै राखिरहूँ भन्दा–भन्दै पनि
शान्त महासागरमा अचानक ज्वार उठेझैँ
मनको बाँध फुटाल्न खोज्दैछन्–भाव लहरीहरू
र, सुनामी चलेझैं विद्युत गतिमा
आक्रमण गर्न
दौडिरहेछन् विचार– तरङ्गगहरू
तर
म आफैँ पृथ्वी बनेर
ज्वार, छाल र आँधी–तुफानलाई
आफैँभित्र समाहित गरी
सम्हालेर राखेको छु
वनै डढाउन खोज्ने अग्नि अनि
बस्ती सखाप पार्न खोज्ने सुनामीलाई
मेरो हृदय र मस्तिष्कको
बलियो मानववादी प्रेमचुम्बकले तानिराखेकोले
तपाईंको बस्तिमा आगो लाग्न
अनि सुनामी आउन दिएको छैन
बरू
मनमस्तिष्कमा दन्नदी दन्किरहेको अग्निज्वालाले
आफैँलाई डढाउँदै छु
अनि सुनामी छाललाई
शब्द–नदीमा शान्त भावले बग्न दिएको छु–
तपाईंको सजिलोका निम्ति !
ब्राह्मण देवता–
हजुरले मेरो टाउको काटिदिनु भएछ
मुर्कट्टा बनाइदिनु भएछ
त्यतिमात्र कहाँ हो र ?
बाहु, जाँघबाट पनि
अलग्याइदिएर पैतालामै सीमित
गरिदिनुभएछ मलाई
म यौटा जीवन–
समयगतिको प्रवाहमा
बिना आँखा र हात
तपाईंकै निर्देशनमा चल्न विवश छु
यस पृथ्वीमा जन्मिन पाएकोमा
धन्य भएर कृतज्ञ भावले गाउन खोजें–
खुसीले उफ्रिएर नाच्न खोजें
तर गाउने मुख त हजुरकै रहेछ
नाँच्ने हातगोडा पनि
हजुरकै निर्देशनमा चल्दारहेछन्
हजुरको निर्देशनबिना म पैतालाले
गाउने–नाच्ने दुःसाहस कसरी गर्न सक्छु र ?
माफ गर्नुहोला ब्राह्मण देवता–
जिन्दगी तपाईंको जस्तै
मेरो पनि छ –
प्रत्येक जिन्दगी–आफैँमा प्रभु हो
प्रत्येक जिन्दगी आफैँमा एउटा टाउको हो
त्यसैले
समयगतिको ध्वनि–सङ्गीत–तालसँगै
नाच्न खोज्ने मेरा भाव–लहरीलाई
तपाईँ आफू टाउको बनेर
सुर–ताल नबिगारिदिनु
मेरो जीवनगीतलाई
तपाईंको जिब्रोले मृत्युशोकमा
परिष्कृत गरेर नगाइदिनु !
मेरो जीवनदृष्टिलाई
तपाईंको कालो चश्माले
चौतर्फी कालै नदेखाइदिनु
कर्मशील मेरा हातहरूको पौरखलाई
धुलोमा नमिसाइदिनु
जीवनदर्शनको खोजमा लम्किन खोज्ने
मेरा यी पैतालालाई
तपाईंको टाउकोको बोझले थिचिनरहोस्
मेरो हृदयको आवाज
मेरो मस्तिष्कको विचार
मेरो जीवनदृष्टि
मेरो नृत्यकला
हजुरकै ध्वनि–आवाज, विचार, जीवनदृष्टि
र कला बनाइएर
अर्कै रूप र ढङ्गमा
मेरो कलापुष्प फुल्न–फक्रिन
बाध्य नबनाइयोस्
ब्राह्मण देवता
मान्छेको जीवन
पैताला मात्र हुन सक्छ र ?
अनि टाउको, बाहु र
जाँघ मात्र पनि हुन सम्भव छ र ?
प्रत्येक जीवन आफैँमा पूर्ण छ
मलाई अब तपाईंको खाँचो महसुस छैन
अँ, साँच्ची–यो जिन्दगी आफैँमा अपूर्ण छ
यदि हजुरलाई मेरो आवश्यकता
महसुस हुन्छ भने
जीवननदीको यात्रामा
महासागर भेट्न सँगसँगै
हातेमालो गर्दै बहौँला
पैतालाकै जीवन∕ जिन्दगी
भए पनि
हे ! ब्राह्मण प्रभु
मेरा आफ्नै आँखा छन्
जुन अनन्त दृश्य हेर्न खोज्छन्
मेरो आफ्नै मस्तिष्क छ–
जुन दर्शनका बगैंचामा
थरीथरी दर्शनपुष्प फुलाउँछ
मेरा आफ्नै पौरखी–कर्मशील
हात छन् – जुन मान्छेका जिन्दगीमा
हिरा बनेर चम्किरहेछन्
पिरामिड होस् या ताजमहल
मक्कामदिना होस् वा झुलनबाग
मेरै सीपमा चम्किरहेछन्–टल्किरहेछन्
मेरो शरीरमा रातै नदी बगिरहेका छन् रगतका
जुन पृथ्वीको फोहोरमैला बगाउन चाहन्छन्
मेरो हृदय पलपल धड्किएको छ
जो उन्मुक्त ढंगले–स्वतन्त्रता गीत गाउँदै
मृगशावकझैं उफ्रिन, नाच्न चाहन्छ
फोक्सो छ मेरो दूषित, जुठो हावा लिइरहेको
जो मुक्तिको श्वास फेर्न चाहन्छ
तर के गरूँ– ब्राह्मण प्रभु ?!
मेरो रातो रगत हजुरले अशुद्ध बनाइदिनुभएको छ
वेदका मन्त्र सुन्न खोज्ने यी कानमा
लाहा पगालेर हालिदिनुभएको छ
‘गायत्रीमन्त्र’ जप्न खोज्ने मेरो
जिब्रो नै काटिदिनुभएको छ
सुन्दरता हेर्न खोज्ने यी नयन नै
फुटालिदिनु भएको छ
अब, यी कानले सधैं–सधैं
हजुरकै मात्र कति कुरा सुनिरहूँ ?
यो जिब्रोले सधैं–सधैं कति हजुरकै
गुणको बखान गरुँ ?
यी हातले सधैं–सधैं हजुरकै मात्र कति
पूजा गरिरहूँ ?
यी नयनले सधैँ–सधैँ हजुरलाई मात्र कति
हेरिरहूँ ?
यो नाकले सधैँ–सधैँ कति
हजुरकै ब्राह्मण–सुवास लिइरहूँ ?
यी गोडा–पैतालाले सधैँ–सधैँ कति
हजुरकै पद्चाप पच्छ्याइरहूँ ?!
हजुरकै नृत्य सधैँ कति नाचिरहूँ ?
आज; मेरो जिन्दगीपन्छी
हजुरको टाउको–पिंजडाबाट
मुक्ति–स्वतन्त्रता चाहन्छ
खुला–नील गगनमा
हावामा कावा खाँदै उड्न चाहन्छ
चाहे;
पिंजडालाई ठुँग्दा–ठुँग्दा
रक्तामे म किन नहूँ ?
हजुरको करुणा, दयाभावले
(शायद) मृत्युवरण म किन नगरूँ ?
पिँजडालाई म ठुँगिरहन्छु
पूज्य, ब्राह्मण देवता–
उपहार कर्मफल–तपाईँबाट
मृत्यु पाए पनि
सहर्ष स्विकार छ– मलाई ।
पैताला मात्र म होइन ।
म जीवन हुँ–एउटा–
आफ्नै टाउको, हात, खुट्टा, आँखा भएको
मान्छे हूँ म –सुन्दर एक जिन्दगी
अथाह–अनन्त चेतना भएको ।
त्यसैले;
बिन्ति छ– ब्राह्मण देवता
हजुरले अब सबैको टाउको बन्ने
कष्ट गर्नु पर्दैन
व्यर्थैमा बोझ किन बोकिरहनुहुन्छ
अर्को जिन्दगीको !
जुन;
ऊ आफैँमा अर्को टाउको हो !
आफैँमा पूर्ण जिन्दगी हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।