पूर्वकथन:
साहित्य नामको नाङ्लोमा काव्य, आख्यान, नाटक र निबन्ध लगायत अनेकन् विधाहरू निरन्तर ‘पट्याँसपट्याँस’ गरिरहन्छन् । शब्द र अर्थको सहभावले बुनिएको यस वस्तुमा बिट आवश्यक छ, अन्यथा यो ओइरिने जोखिम ब्युँतिरहन्छ । यसर्थ, च्याटजिपिटीको यस युगमा साहित्य नामको यस कठिन, जटिल र व्यापक नाङ्लोको महता उजिल्याउन सिर्जनात्मक एवं विमर्शात्मक परिदृश्यहरू आवश्यक पर्दछन् । सिर्जनात्मक परिदृश्यको हकमा आजभोलि म ‘ठप्पै’ हुनाले विमर्शात्मक परिदृश्य खिच्न खोजिरहेको छु । यस शब्दपट्याँस नामको विमर्शात्मक परिदृश्यमा एकाध प्रश्न र एकाध उत्तरहरू रहनेछन् ।
कथन:
प्रथमतः पूर्वकथनलाई सविस्तार व्याख्या गरौँ ।
कविता लेख्न छाडेपछि कविताबारे आल्तुफाल्तु प्रश्न गर्नु मेरो पछिल्लो दैनिकी बनेको छ । कविता लेख्न छाड्नुको कारण ‘लेखेर मात्रै कविता हुँदैन’ भन्ने धीरगम्भीर पाराको ठिस बुझाइ र टिठलाग्दो काइते मनोदशा हाबी हुनु हो । भन्नलाई के लाज, तोरीलाहुरे कविता लेखेर बद्मानी र बेइज्जती खेप्नु भन्दा राम्रा कविता लेखिरहेकाहरूप्रति ईर्ष्या र द्वेष जस्तो ‘प्रतिष्ठित समकालीन मनोराग’ पाल्दै उनीहरूतर्फ दिक्कैलाग्दो प्रश्न तेर्साउनु पो मजा लागिरहेछ । अर्काको बारीको काँक्रो नपाएपछि चोरी औँलो तेर्साउनु नै ठिक ! यसलाई कविता लेख्न नसकिरहेको यस पङ्क्तिकारको एउटा निन्दनीय अड्चन वा घोप्टे पारा मान्दिदा अलि सहज होला !
अझ, लाजै पचाएर भन्नुपर्दा- औँलोको टुप्पोमा एकाएक काव्यिक चाउरीपना आइपरेपछि देखिएको ‘दुई चिया चम्चा बराबर भ्यासलिन प्रयोग गरौँ’ भन्ने चिकित्सकीय उपचारपद्धति हो, यो । अझ, यस्तो चाउरीपन निकै नभएपछि एउटा पाकेको एभोकार्डोमा दुई चिया चम्चा बराबर बदाम तेल दलेर औँलोको टुप्पो हुँदै हृदयसम्म देखिएको साहित्यिक सुक्खापनलाई चिल्लो पार्ने मेलोमेसो पनि हो, यो ।
भन्नुस्, लेख्न सकिनँ भनेर हृदयमा मडारिएको चैतको हुरीलाई सामसुम पार्ने तौरतरिका ।
मोही पार्नेले नौनी दलेजस्तो !
मह काढ्नेले हात चाटेजस्तो !
अचार बनाउने औँलो चुसेजस्तो !
– एउटा आफूनुकुल परिस्थितिको खोजी ! सायद पाठक झुक्क्याउने आँट पनि !..
यति भनिसकेपछि, यस शृङ्खलाले साहित्यिक अन्तर्वार्ता विधाको कट्टु तान्दिएको छ भन्नेमा त कुनै शङ्कै रहेन । तर, नेपाली साहित्यलाई नांगेझार पार्नु यस शृङ्खलाको सोचविचार होइन । उद्देश्य होइन । अठोट होइन । हठ होइन ।..
नेपाली समाजका अनेकन् किसिमका नूतन र पुरातन चिन्तनबिच भीषण सङ्घर्ष भइरहँदा सांस्कृतिक–साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टा–द्रष्टाहरूलाई जिस्काउन मन लागेर यति गरेको ! एउटा साहित्यिक व्यक्तिलाई राजनीतिक, सामाजिक वा सांस्कृतिक विषयमा केरकार गर्नुभन्दा उसको साहित्यिक जीवनमै देखापरिरहेका कैयौँ विरोधाभासहरूलाई कोट्याइदिऊ न भनेर यति गरेको ! उसको हृदयमा जमेको लुतो कन्याइदिऊ न भनेर । उसलाई चिरिक्क चिमोटिदिऊ न भनेर । प्याट्ट हिर्काइदिऊ न भनेर । च्याट्ट उसको साहित्यिक खानपिनमा चोखे ल्याइदिऊ न त भनेर । फ्याट्ट मुखाले भई खाऊ न त भनेर ! ..
उत्तर आधुनिकतावादले नेपाली समाजले जन्माएको तमाम प्राज्ञिक कौतुहलताहरूमध्ये मेरो प्रिय साहित्यिक कौतुहलतालाई बुझाऊ न त भनेर पनि यसो गरेको ! कविताबारे बहस (समालोचना ?) गरिरहनेहरूले कविको हेराई, बुझाई, भोगाइबारे बहस गर्न अल्छी गरिरहेको चाल पाएर यो फन्टुसगिरि गरेको ! समकालीन विचार, विमर्श, चिन्तन, दर्शन, कला, साहित्य, भाषा, जीवनपद्धति, संस्कृति, चाडपर्व, उपभोग संस्कृति, राजनीति, शिक्षा, विकासका नीति, अभ्यास, आयाम आदिआदिबारे सोचविचार गरेर नदुखेको टाउको दुखाउनु भन्दा यस्तै गरेर पनि दिन बियाँल्न सकिन्छ कि भन्ने लागेर पनि यसो गरेको ! सजिलो बाटो खोजेको ! किनभने, कविता लेखिरहने कविलाई जिस्काउनु भनेको सामाजिक व्यवहारिकतालाई बुझ्नु हो । यसमा सबैको मतैक्य छ कि ‘कविता समाजको दार्शनिक मूल खाँबो हो’, यसैले समाजको गतिशीलता र सजीवता चिन्नलाई कविता वा कविसँग ठोक्किनुपर्छ ।
यसो किन गरेको भन्ने सम्बन्धमा अझ बताउँदा- समकालीन कविता पढिरहेको तर विवेचना गर्न अल्छी लागिरहँदा पनि समकालीन कविलाई चाहिँ पढौँ न त भन्ने लागेकाले यो टपरटुइयाँ गरेको ! कविता पढिरहँदा कविलाई पनि त पढिन्छ नि । अनि पढिएका कविताबारे कविसँग नै ठोक्किनु गलत पनि त होइन (सही पनि होइन) । कि कसो हाउ ?
थप भनौँ, नेपाली सांस्कृतिक, सामाजिक अवस्थाको लथालिङ्गता देखेर साहित्यले खुच्चिङ मारिरहेको त छैन भन्ने संशयको पिलो हृदयमा उठेर पनि यसो गरेको हुँ । यसो गर्दा अन्यथा गरिएछ भने आफ्नो बचाउमा एकै थोक भन्न सकिन्छ – ‘हामी यस्तै त हो नि ब्रो !’
फेरी, लोकतान्त्रिक समयका कवि, साहित्यकारलाई प्रश्न गर्नु साह्रो बोर काम हो किनभने जिज्ञासा र उत्साह नै शिथिल भएको समय हो यो । जीवनमुखी (भौतिकवाद) र आदर्शमुखी (साम्यवाद) यसबेलामा प्रश्न गर्नु र उत्तर दिनु दुवै अन्धविश्वास, रुढीवाद, पुरोहितवाद भइरहेको नयाँनौलो थोक रहेन । यसप्रकारको समकालीन परिस्थितिजन्य भावभूमिमा निरन्तर काव्य साधना गरिरहेकाहरूले सङ्कीर्णतामाथि प्रहार एवं विकीर्णता र अनेकताप्रति सचेतता देखाइरहेका छन् भने यसप्रकारको झर्कोलाग्दो प्रश्न गर्नु पनि ठिकै हुन्छ कि लागेर यसो गरेको ! भन्नुस्, एउटा काव्यिकावेग मेरो !
फेरी, प्रश्न र उत्तर ‘प्रश्न र उत्तर मात्रै नहोस्’ भन्ने आशावादी उद्गार पनि मकन कति छ कति । भन्नुस्, जसरी पनि अबजसे बनिछाड्ने मनोरोग पालि बसेको छु । हाय.. एउटा अपजस्याहा प्रवृत्ति मेरो !
कथनभूमि:
अब प्रश्नको रचनागर्भ (कथनभूमि) के थियो भन्नेबारे केहीबेर गनगन गरौँ । भन्नुस्, अनावश्यक स्पष्टीकरण दिइहाल्ने समकालीन साहित्यिक प्रवृत्तिको प्रतिनिधित्व गरौँ । भन्नुस्, कविता सुन्न बस्नुभएको तपाईँलाई सुरुमा एउटा मुक्तक झटारो हानिहालौँ ।
‘देश लागूऔषध हो तर, सेवन गर्न नजान्नु हाम्रो भुल हो’ भन्दै २ वर्षदेखि देशाटन गरिरहँदा कविता, कथा नपढी सुतेको रात छैन । हरेक रात फरक बिछ्यौनामा पल्टिएर फरक-फरक कविता पढिरहँदा कहिले भुसुक्कै निदाएको छु, कहिले सिङ्गो रातको निन्द्रा गायब भएको छ । मजस्तो भावुक यात्रुलाई ठाउँअनुसारका दन्त्यकथा, पौराणिक कथा र सामाजिक व्यथाले लखेट्नु पनि छँदै छ, त्यसमा अग्रज एवं समकालीन कविहरू देश-विदेशबाट आधुनिकता सुसेल्दै मोबाइल स्क्रिनसम्म आइदिनाले मेरो यात्रा र यात्रा संस्मरण साह्रो रोचक बन्न पुगेको छ । यसरी आइपुगेका कविताहरूमा कतै मानवताको समर्थन छ, कतै विवेकको दादागिरी पनि । तर, प्रायशः कवितामा सामाजिक सङ्कीर्णताको दुहाई र आधुनिकताप्रतिको मोहभंगता भेटिरहेको छु । वासनामय जीवनको क्षणिकता र भोगवादको तुच्छता आदिले कवितामा स्थान पाएको देख्दा डल्लै खुसी भएर अर्को दिनको नक्सा बोकेर रुक्स्याक कस्न हौसिएका घटनाहरू मकन मनग्ये छन् । कविताले जुरुक्क उचालेको ‘कल्पनाको काव्यिक प्रहार’ले भाङ खाएजस्तो भएका शीतलहरी बिहानहरू पनि छन् । फेरी, समसामयिक चेतना र सामाजिक परिवेश भेट्दै नभेटेर रिनिन्न भएका घाम चर्का मध्यान्हहरू पनि ।
फुइँ ल्याएको होइन तर, कविता पढ्ने र पढिरहने आदतका कारण संस्कृति र सभ्यताको उकाली–ओरालीहरू चढ्न मलाई सजिलो भएको छ । कतै लुङ्दर भए, महिनौँ फरफराइरहेँ । कतै देउरालीका ढुङ्गा भएँ, फूलपाती बटुल्दै रहेँ । यसो गरिरहँदा मलाई बोध भएको छ- आफूले लेखेर मात्रै खुसी भइने होइन रहेछ, अरूले लेखिरहेको देखेर बढ्ता प्रफुल्ल भइँदो रहेछ । मुला, एउटा हृदय यसरी पनि बुझ्दो रहेछ !
अनि हृदय बुझेपछि म एउटा निचोडमा पुगेको छु- समाजको यथार्थ र गतिलावस्थालाई नियाल्नका दुई मध्ये एक गरे पुग्ने रहेछ- साहित्य पढ्ने/लेख्ने वा यात्रा गर्ने । पढ्न धेरै कम, लेख्न ठ्वाप्पै भएको मैले जानेर-नजानेर थोरबहुत रूपमा दुवै गरेछु । अलिअलि कविता पढेछु, अलिअलि देश डुलेछु । यसैले त गाउँगाउँ डुलिहिँड्दा सामाजिक अन्धताले बेस्मारी डामिएको बेला कविताले हृदय सेक्न सकेको छु । यसैले भन्न मन लाग्छ- यात्रामा हिँड्नेले लसुन र तोरीको तेल नै बोक्नुपर्छ भन्ने छैन, ५/१० थान कविता बोकेर एक हप्ता सजिलै काट्न पनि सकिन्छ ।
अनुकथन:
अब यस भूमिकालाई थप लम्बेतान बनाउनु हुँदैन ।
तर, पनि यति चाहिँ भन्नैपर्छ, वर्तमान समयमा कविता लेखिरहँदा एउटा कन्जुस्याइँ गर्नैपर्छ- दार्शनिक पनि भइहाल्न मिल्दैन, राष्ट्रवादी पनि भइदिई हाल्नु हुँदैन । सिद्धान्तवादी भएर पनि धर छैन । स्पष्टीकरण दिँदै हिँड्नु त पाठकले चर्न छाडेका (पढ्न छाडेका) सुख्खा अक्करे भिरबाट फ्याल हान्नु हो । सिधै मृत्यु नशिव ! यस कुरा लेखिरहेकाहरूले बुझेकै हुनुपर्छ, लेख्न छोडेको मैले पनि राम्रैसँग बुझेको छु । तर, आफूले लेख्न छोड्दा पनि समकालीन कविताहरूमा सामाजिक व्यङ्ग्य, हार्दिकता, उदात्तता, विनोद प्रियता आदिआदि मस्तै भेटिदा म फुर्किएको छु । मौलिकताबाट पछाडि नहटीकन उनीहरूले चिन्तनमा चतुरता र रचनात्मकता देखाइरहेको पाउनाले म कविता पढिरहेको छु । फेरी, आशुकवित्वको बोलवालाले निराश भएर घोसेमुन्टो लगाएका क्षणहरू पनि छन्, त्यसबारे अन्यत्र चर्चा गरौँला ।
कला-साहित्यमा शिथिलता देखियो भन्नेहरू एवं नूतन प्रयोग बढ्दै छ भन्ने दुवै गुटले अनेकन् बहस गरिरहेका छन् । त्यस्ता बहसहरूमा अझ पनि कर्पोरेट लचकता, एकेडेमीगत प्रभाव र वैचारिक तालमेल प्रष्ट देखिरहेको हुन्छु । प्रश्न सोध्ने र दिने दुवैले कतै न कतै भन्न बाँकी राखेर नै भनिरहेका पाउँछु, सीमितता देख्छु ! त्यसलाई भत्काउन आवश्यक भनेर पनि यसो गरेको हुँ । यस प्रयासलाई साहित्य नामको नाङ्लो निफन्दा नाङ्लोबाट निस्किएको ‘पट्याँस, पट्याँस’ मान्दिदा बेस हुन्छ ।
अझ, कला–साहित्यमा ज्ञानात्मक पक्ष अनिवार्य हो कि नैसर्गिक हो भन्ने बहस पनि छँदै छ । यो बहस चाहिँ किनभने राजनीतिक परिवर्तनअनुसार तिनले आफ्नो समय र सन्दर्भको प्रतिनिधित्व गरे कि गरेनन् भनेर हेरिनाले जनताको चेतना र आवश्यकतालाई समृद्ध तुल्याउनु पनि कवि/साहित्यकारको दायित्व हुन् आएको छ । ढाटे मरिजाऊ, यसो गर्न नसकेर पनि मैले कविता नलेखेको हुँ ।
अनि कविता लेखेर मात्रै हुँदैन, प्रकाशन, बजारीकरण, समालोचना आदि पनि क्रमागत हुन् आउँछन् । अनि यस्तो साह्रोगाह्रो स्थितिमा कोही किन कविता लेख्छ र लेखिरहन्छ भन्ने लागेर यसो गरेको हुँ । यसकारण यसलाई ‘अन्तर्वार्ता विधाको कट्टु तान्ने काम’ भन्दा पनि ‘विविध मतमतान्तरको बटुलाबटुल’ भनेर बुझिदिँदा ठिक हुनेछ । यसो गर्दा अन्यथा गरिएछ भने आफ्नो बचाउमा एकै थोक भन्न सकिन्छ – ‘हामी यस्तै त हो नि ब्रो’ ।
कथोपकथन:
ममता मृदुलसँग शब्दपट्याँस :
‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँझैँ कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
प्रश्न रमाइलो लाग्यो !
हो नि, म बसेको ठाउँमा म जस्तो कवि कहाँ पाउनुहुन्छ ? मानिस भएर जन्मन कैयन योनी पार गरेर आए पनि के गर्नु कवि हुन सकिने हो/होइन ? सबै व्यापारी छन् । कविता कमाउनु भन्दा धन कमाउन मन पराउँछन् ।
तारिफ मन नपराउने को छ ? सुटुक्क भन्छु ल, ‘मलाई पनि मनपर्छ ।’
तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नु‘भाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न ! सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनु‘भो, तर भन्दा राम्रो । भन्दिनुस् यार !
मलाई कविता चिच्याएर पढ्न मनलाग्छ । जोस बढेर आउँछ । नशा हो सर, नत्र किन पढ्थे ? मन परेकाले कविता पढेकी हो नत्र फुटबल खेल्न जान्थें । ‘माया’ शीर्षकमा लेखेकी थिएँ ।
संसारको सबै वस्तुमा एउटा कुरा पाउँछु म
आश र निराशको डोरीले बाँधेर छाउँछु म
सानो के हो ? ठूलो कुन छ भन्न मलाई गाह्रो भो
आफ्नो सानो चिजमा माया बस्यो भनी गाउँछु म ।।
मिल्काएको त कुरा गर्नु हुन्न सर कतिलाई रिस उठ्छ । थर गोत्र पनि बिर्सें भने ल ढुक्क भएर । कुनै पन्थी पनि भन्न मिलेन कसैको पनि नाम लिन हुन्न महिलावादी, शून्यवादीको नाम लिन हुन्न । म पनि नजाने पनि विश्लेषण गर्छु नि कामै त्यही हो ।
कुरा नकाटेर हुन्छ कविताको भनेर हो नि ! मज्जाले गर्ने तर सुटुक्क पछि भन्दिम्ला ।
नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता सङ्ग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है ! नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् !
नेपालमा दामी दामी कवि चैँ छन् है । कति छन् कति, नाम गन्न थाले लाग्छ घण्टा सबैको नाम लिँदा । मन नलागेको पनि होइन तर धेरै भएकाले लिइनँ ल । नेपाली कविता कम्ती राम्रा छन् । मैले पढ्दा किताब नसकुञ्जेल पढेका धेरै किताब छन् । मुटु हल्लिने कविता लेख्ने कवि छन् ।
हो, गजबको छुट दिनुभयो साँच्चै राम्रा कविको नाम भन्दा अरू मुख फुलाएर बस्छन् के, कुरा बुझाउन पनि सक्दिन जस्तो छ म त !
तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस् यार..!
म कविता लेख्ने तर झुरपटास लेख्ने कवि हो भन्न पनि मनले मानेन । कविताको मर्म के बुझ्नु जे लेख्यो आफ्नै मर्म र कर्म मात्र सम्झना आउँछ । कविताको मर्म त मरिजाम् यादै हुँदैन ।
अर्काको असफलता पढ्न मजा हुन्न, सफलता पढ्ने नि ।
जीवनमा भोगेका कुरा लेख्छु भनेर बस्यो अनेक कुराले गिजोलेर सकिन्न हौँ । लेख्न भन्दा पढ्न सजिलो हुन्छ नि । एउटा कुरा के त्यो प्रश्न नै हाँस्ने खालको रैछ, पुरस्कारको कुरा के । मसला त तरकारीमा थप्ने ल !
समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको, आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दै‘थ्यो ! त्यो मै हो, मलाई के भन्नुहुन्छ ?
दायित्वको कुरा नगरूँम् घरमा काम गर्नपर्छ भनेर कविता भन्न जान्थें । घरकाले कविता सुनाएर के पाइस् भनेर मुख लोपार्दा ‘यी यो पाएँ’ भन्ने केही थिएन । दायित्व अब थाहा हुँदैछ । त्यो समयमा दायित्व भन्ने के थाहा ?
कवि र कविताको संवाद त हुनुपर्छ । जिज्ञासाले कुत्कुत्याउनु राम्रो पनि भएछ ।
मलाई त झन् रमरम पारेको छ प्रश्नले । नेपाली कविताको बारेमा जान्ने भए कुरै बेग्लै हुन्छ । नजानेर लेख्दा बेग्लै मजा हुन्छ- जे लेख्दे नि गजबको कमेन्ट आको देख्नु हुन्न र फेसबुकमा ? नेपाली कविताले मात्र कहाँ हो र अचेल सबैका घरमा आफू सुतेको ओछ्यान मिलाउने मान्छे अर्कै हुन्छ । केटोले ठिकै भनेछ भन्छु हजुर नै हो भने चैँ सोचेर भन्नु पर्ला !
कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् !
बोल्नेको पिठो बिक्छ । ठिकै हो नि ! लेखक पनि नाम पाउने लोभमा तोरीलाहुरेको पछि लागेका लाइन देख्नु भा छैन ? म त ‘खतरा बबाल’ भन्नेले नै काम र दाम पाउँछ । पत्याउन्न नत्र अरूले पनि भन्थे होला है !
उत्तर दिई रा छुँ तैपनि आफ्नो काम गर्न मन लागेन जस्तो छ । प्रश्न त म सोध्दिनँ ।
नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औंल्याउनु’भाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो ! मौका नगुमाउनुस् है त । हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस्.. !
बल्ल गजबको प्रश्न आयो । कविताको वंशाणुगत गुणको कुरा चाहिँ गजबले गर्न सकिन्छ । मैले केके औँल्याए कुरा गरी साध्य छैन । नेपाली कवितामा सामाजिक, प्राकृतिक, जैविक, शारीरिक विविधता औँल्याएन भने के लेख्ने भन्नु लु आफै ! बाह्र पुस्ताले जे लेखे पनि पलानोको वंश भन्न पाइयो । नेपाली कवितामा प्रयोग गरिएका बिम्बमा सामाजिकता प्राकृतिकपन, जैविक सामाजिकपन औँल्याउन सक्ने मान्छे कवि रहन्छ, रहँदैन । ऊ समीक्षक हुन्छ ।
कस्तो कुरा गरेको होला ? समीक्षकको कुरा काटेर मेरो कविताको टाउको काट्नु छैन, मलाई बरु तपाईँको प्रश्नको उत्तर आउँदैन भन्दिम ।
आजको मान्छेले आर्थिकरूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाइराछन् । यस्तै यस्तै । तपाईँको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
म शब्दको खेतबारी अक्षरको बीउ रोप्छु । उमार्छु । हुर्काउँछु । मेरो पेट अक्षरले भर्छ । म नेपाली भाषाको रक्षक पनि हुँ । मैले मेरा चाहना शब्दको खेती गरेर पूरा गरेकी छु । मेरो खेती व्यापार जे भने पनि शब्द हो । अर्थात् म पेसाले प्रुफरिडर हो ।
भाषा र साहित्य मेरो जीवनमा पानीले जत्तिकै महत्त्व राख्छ । मलाई राम्रो थाहा छ प्रश्न उटपट्याङ भएकाले जवाफ उस्तै दिने कोसिस गरेकी हो । मलाई कविता बाहेक अर्को मनग्गे कमाइ हुने क्षेत्र छैन जस्तो लाग्छ । भानुभक्तको कविताले कमाएको धन जति कमाउने कोही छ ? मलाई मेरा कुरा खुलेर राख्न दिनुभएको छुट नै बम्पर उपहार हो । म पैसाको सम्पत्तिले धनी होइन, कविता रूपको धन कमाउन चाहन्छु ।
जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ !
कागजका खोस्टाहरू
क्रमबद्ध मिलाएर राखेका
शब्द क्रमसँगै पानाहरू
तितरबितर हुन्छन् हावाले
सम्हाल्छु,
थपथप राख्छु र सम्झन्छु ।
यी कागजका खोस्टाहरू
कैयन वर्ष पढेका
कलेजका प्रमाणपत्र छ,
नागरिकता छ,
सवारी चालक अनुमति पत्र छ ।
न त आफ्नो भन्ने एक धुर जमिन छ ,
न त गाडी, घोडा छ ।
भ्रम छन् केवल
यी कागजका खोस्टाहरू
न्यायालयले दिएको उपहार छ ।
मालिकले दिएको
एउटा तमसुक कागज छ ।
न छ लालपुर्जा ,
न त ओत लाग्ने दरिलो छाता छ ।
न त सुरक्षित जुत्ता छ ,
सधैँ छैन छैन मात्र छ ।
कति राख्नु न बिक्छ
न त उपयोग नै हुन्छ ।
हुन सक्छ भन्ने झिनो आस छ ,
नाथे कागजका खोस्टाहरू
न त भूमिगत हुँदाको प्रमाण छ
यो मन बिदेसिन उक्साइरहन्छ ।
थपिँदै रेमिटेन्स यहाँ
तेरो पनि केही छ
देश भनेको आँखाको डिल जस्तै हो,
डिल नभए सधैँ सधैँ
आँसु पोखिन्थ्यो र सकिन्थ्यो
त्यसैले देश छ र म छुँ ।।
केही छुट्यो र ?
धेरै कुरा छुटेको छ । पहिले हजुरलाई धन्यवाद । यो उटपट्याङ कुरा पढ्नु हुने सबै प्रति आभार ।
===
गगन योक्पाङ्देनसँग शब्दपट्याँस :
‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँ झैं कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
खै हाव ! जताततै याे मानिस र कविहरुकाे भिड देख्दा, मलाई चै मानिस भएर जन्मिनु र कवि हुनु यी दुवै दुर्लभ लाग्दैन । बरु रेडपाण्डा र एकसिङ्गे गैडा नै दुर्लभ लाग्छ मलाई चै ।
प्राचीन पुराणले भर्खरै मेरो खतरा तारिफ गर्दा एकछिन हाेकि क्या हाे !’ जस्तो लागेर गमक्क परे तर फेरि क्या ! बिल्ला लाग्यो । कविलाई अनावश्यक रुपमा यत्रो तरिफ गर्दिने ?।
तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नु’भाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न । सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस यार !
बित्थामा कविताको नाउँमा लेखिएका भडास र कुण्ठा पढेर भेजा खराब नगरौँ भन्छु । म्यासेन्जरमा हाल्दिएर, वाट्सपमा ठेल्दिएर हैरान पार्छन् । अझै कविताका किताब निकालेकाहरूले त झन् जबर्जस्ती थमाइ दिइहाल्छन् । दराजमा त्यसै थन्काइदिऊ कि भन्छु । फेरि भकाे-नभकाे पैसा खोजेर ऋण काटेर प्रकाशककाे गल्ती भरेर विमोचन गरेर ‘साना दुःख’ले किताब झिक्याका हुँदैनन् । उनीहरूको परिश्रमको सम्मान गर्नकै लागि भए पनि मन नलागी नलागी पढ्छु । यति गरेर पनि कहाँ धर दिन्छन् र, भेट्दै पिछे सोध्छन्, ‘मेरो कविता कस्तो लाग्यो ?’
सबैलाई ढाँटिदिन्छु, ‘दामी लाग्यो । अझै दारुपानी खिलाए भने त- ‘तपाईँको कविताले देश बोलेको छ, समय बोलेको छ ।’ यस्तै केके तारिफ गरिदिन्छु । अचम्म यार, फेरि उनीहरूले पनि पाे पत्याछन् त !
तर मलाई यो चैँ कृति ठिक छ है जस्तो लागे खोजी खोजी पढ्छु । उत्कृष्ट कृतिको सङ्गत मलाई औधी प्रिय लाग्छ ।
मैले पढेको पहिलो कविता त्यै त हाेनि तारा बाजि लैलै, काग दाजै काग दाजै, अलिक पछि देवकोटाकाे नटिप्नु हेर काेपिला यस्तै यस्तै ! ए साच्चै मैले पढेको कविता पहिलो मेरी आमा हुन् ।
तैट मुला भनेर मिल्काएकाे कविता ?.. आहा भनेर पढेको भन्दा पनि तैट मुला भनेर मिल्काएकै धेरै छन । उम पछिल्लो कविता कसकाे थियोे त ! म अहिले सम्झेर भन्छु ल !
नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता संग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है । नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् !
नेपालका राम्रा कविहरू मलाई श्रवण मुकारुङ, रमेश क्षितिज, मनु मन्जिल, स्वप्निल स्मृति , चन्द्रवीर तुम्बापाे लगायतका अन्य केही कविहरू मन पर्छ । (चन्द्रवीर तुम्बापाेकाे कविता सङ्ग्रह छाडेर माथि उल्लेखित कविहरूको कृति मन पर्छ, अन्य केही कवि र कविता कृति पनि छन् । )
खासमा म कुनै सर्जकलाई अवमूल्यन त गर्दिन । हरेक सर्जकहरूलाई सम्मान गर्छु। तरै पनि केही कविहरू छन् तिनीहरूले चैँ लेख्दा भन्दा पनि लेख्न छाडे नै नेपाली साहित्यमा योगदान पुग्थ्यो जस्तो लाग्छ क्या !
“अ” गर्दा अलङ्कार बुझ्छ रे, नेपाली कविताका पाठक यति स्मार्ट लाग्छ तपाईँलाई ? त्यसो भए “अ” भने त ! झारपट्यास कविहरू को-को हुन्, पाठकले आफै बुझ्नुहोस् ।
तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले सोध्न मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस यार..।
कविले लेख्ने भनेको समाजमा देखेका, भोगेका र आफूले अनुभूति गरेका कुरा यस्तै यस्तै त हुन् । मलाई चैँ कविता लेख्न असाध्यै गाह्रो लाग्छ । कतिपय कविहरूले दैनिक जसो कविता लेख्दै फेसबुकमा पाेष्ट्याइ रहेका हुन्छन् । उनीहरू जस्तो कविताको कारखाना हुन नसकेकोमा मलाई बडो पछुतो छ ।
झुर छन् भने मलाई अर्काको सफलता असफलता कथा उपन्यास कविता सबिता जेसुकै होस्, पढ्न बडो सजायपूर्ण लाग्छ । फाेकडमा मानसिक पीडा झेल्नु भन्दा बरु मिया खलिफाकाे ‘उयाे’ पाे हेर्छु ।
पुरस्कृत भइखान पनि सजिलो छैन क्यार ! भनसुन गर्नु पराे, पर्म लगाउनु पराे, पर्म तिर्नुपराे, काेहिबेला पुरस्कृत रकम आफै दिएर आफैले थाप्नु पराे । दुनियाँमा सजिलो त केही पनि छैन । भात खादा त पसिना आउँछ !
समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोही प्रकारको न्यूनतम दायित्त्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको; आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो मै हो, मलाई के भन्नुहुन्छ ?
‘म समाज परिवर्तन र सामाजिक न्यायको लागि लेख्छु..’ अबुई कविहरूको क्या ! डरलाग्दो डरलाग्दो गफ जोती रहेका हुन्छन् ।
कुनै विषय वा घटना देख्दा/भोग्दै गर्दाको अनुभूति लेख्छु । लेखेको कविता समाजको लागि हुन्छ हुँदैन, त्यो छुट्टै पाटाे रहला । तर म सुरुमै समाजको लागि वा विभेद उन्मुलनको लागि भनेर दायित्व बोध गरेर चैँ लेख्दिनँ ।
मैले कवितालाई प्रेम गर्नुको कारण चैँ यस्तो छ –
‘मानिस, मानिसको स्वरूपमा जन्म लिएर मात्रै मानिस हुँदैन । कोही जुनीभरि बाचेर पनि मानिस हुन सक्दैन । मानिस बन्ने आफ्नै प्रक्रिया हुन्छ । यही मानिस बन्ने प्रक्रियाको लागि पनि म कविता लेख्छु ।’
निराशाको कोणबाट होइन आशाको दृष्टिले पनि हेर्नुस् त, कति सबल , सुन्दर र सार्थक कविता लेखिरहेका छन् । म त नेपाली कवितालाई लिएर अत्यन्तै सकारात्मक छु ।
जहाँसम्म कविता र ओछ्यानको सन्दर्भ छ । म झल्लुलाई एउटै मात्र सुझाव दिन चाहन्छु, ‘कवितालाई आफू जस्तै नसोच्नुहोस् ।’
कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् !
मेरो कविता सङ्ग्रह ‘केवाफुङ्काे गीत’ प्रकाशन गर्ने चाँजो मिलाएको निकै समयपछि मात्रै बल्लतल्ल प्रेसबाट निस्कियो । सुरुमा त म असाध्यै उत्साहित थिएँ । प्रकाशकले कविलाई पारिश्रमिक दिने शर्तसहित कविता माथि लगानी गर्याे भनेर तर, कृति कहिले प्रकाशन होला भनेर आस गर्दा गर्दै जाेश जाँगर सबै सेलाइ सकेको थियो, बल्लतल्ल भर्खर निस्कियो । प्रकाशककाे कामको गतिलाई ‘याङ’ ले त असर गरेको होला नि !
भन्ने होइन, ती तोरी प्रकाशकहरूलाई काेलमा हालेर पेल्न मन छ ।
एउटा लेखकले कति मानसिक र व्यवहारिक सकस झेलेर लेखेको हुन्छ । लेखेर चार पैसा आउने वातावरण तयार गरी दिनु त कता हो कता अझै ती लेखकबाट पैसा असुल्ने ? । सबैभन्दा धेरै हताेत्साही लेखकलाई प्रकाशकले बनाइरहेछ । बरु उत्कृष्ट पाण्डुलिपि छानेर पूर्ण लगानीमा प्रकाशन गर तर लेखकलाई पैसामा मागेर उपेक्षा नगर ।
ताजुबको कुरा त झन् यो छ । अधिकांश प्रकाशन संस्थासँग जोडिएकाहरू सिर्जना क्षेत्रकैहरु छन् तर उनीहरूले पनि लेखकलाई टचर दिन छाडेनन् । उनीहरूले त झन् सिर्जना के हो, सर्जक के हो, लेख्नुको सकस के हो; सबैलाई थाहा छ तर उनीहरू पनि .. ! उनीहरूलाई कत्तिको हेक्का छ कि छैन, उनीहरूको प्रतिष्ठा ह्रासउन्मुख छ । उनीहरूलाई हेर्ने नजर अर्कै भइसकेको छ ।
फेरि ‘जाँठा लेखकहरू’ पनि कुनै स्वाभिमान नै नभए जस्तो गर्छन् । पैसा खनखन तिरेर भए पनि प्रकाशन संस्थाको लोगो टाँस्न मरिहत्ते गर्छन् । यस्तो वातावरण निर्माण हुनुमा लेखकहरू पनि उतिकै दोषी छन् ।
यी हेर्नुस् न, मलाई त भन्दा भन्दै रिस पाे उठिसक्यो ।
नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औंल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो । मौका नगुमाउनुस् है त । हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् ।
झल्लु जी यार, म अघि देखि विचार गरिरहेको छु । तपाईं प्रश्नमा घरी सिङ जोड्नुहुन्छ, घरी पुछर जोड्नुहुन्छ, घरी फुर्काे जोड्नुहुन्छ । एउटा प्रश्न भित्र ५ /७ वटा प्रश्न गर्नुहुन्छ । मलाई माथिको प्रसङ्गले रिस उठिरहेको बेला तपाईँको प्रश्नले झन् ‘गिदी ह्याप्स’ भयो यार ।
म एक गिलास सिजङ्वा खाएर आउँछु । अनि बाकी सवाल जवाफ गरौला है त ।
आजको मान्छेले आर्थिकरूपमा बलियो हुन आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाइराछन् । यस्तै यस्तै । तपाईको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
व्यापक समवेदना सहित भने भने त फेरि पाठक रोई देला नि त !
म कविता कर्म बाहेक हलो जोत्छु, खेती गर्छु । म आफूलाई कवि हुँ भन्नू जतिकै गौरवको साथ किसान हुँ भन्छु । म कलम र हलो दुवै जोत्छु । हलो जोतेर बाली झुलाउँछु कलम जोतेर म सिर्जना फुलाउँछु ।
जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ !
यो पत्रिका होइन र, पत्रिकामा पनि कविता सुनिन्छ ?
म चैँ अक्षर पढ्छु । ठिक छ अक्षर सुन्नेहरूको लागि:
अष्ट बक्रकाे परीक्षा
हस्तमैथुन रत छन अष्ट बक्र
आर्याकाे नाङ्गो शरीर अघि
उता सुप्रिया भने पटकपटक स्खलित छिन
राेगी समाज भएर
बद्निय ऋषिका सिआइडी आँखाहरू
टाङ्गिएका छन स्त्रीराज्य भरी
यता शहरकाे व्यस्त कण्डम हाउस भित्र भने
उत्तेजित छ सेक्टाेयज
००
केही छुट्यो र ?
छुट्याे नि !
यतिका गफ गर्याैँ । खै हामीले कुरा गरेको ?
…
प्रचण्ड भास्करसँग शब्दपट्याँस :
‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँ झैं कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
नेपाल साहित्याान्तर्गते पड्किरहेका महफिल, मंचहरूको उधारो र पैँचोको तालिलाई अपवाद मान्ने हो भने पुराणले गरेको कविहरूको तारिफ तारिफयोग्य नै हो म मान्दछु । कवित्वलाई भले तारिफको बाल मतलव होला तर कविलाई जस त दिनुपर्छ ।
अँ कवि तारीफको घांटी मै झुण्डिरह्यो भने त बिचरो बडो छट्पटाउँछ। ऊ तारिफले नै मरे पनि उसको आत्माले पक्कै मुक्ति पाउँदैन, चाहे गुटका आफन्तले कति नै पिण्ड दिउन् । उसो त अहिले साहित्यका तीर्थस्थलमा स्नान गर्नेहरूको घुइँचो नै लागेको देखिन्छ । अक्सर कविजनले प्रसादमा तारिफको चूर्ण नपाउने पनि होइनन् । आफूले पचाउन सकिने तारिफको चूर्ण जो ले पनि खान पायो । नछेर्ने शर्तमा !
तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न । सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस यार ।
कविता पढ्दा जस्तो आनंद केही पढ्दा नआउने भएर म कविता पढ्न निकै रुचाउँछु। हृदय र मस्तिष्क भएका कविता मेरा प्रिय कविता हुन।
म कविता पढिरहेको छु भन्ने भ्रम अलि बढी भएको थियो । यो भ्रम नेरु खर्च गरी कविता सङ्ग्रह भनेर किनिएका शब्द संग्रहबाट आएको हो । तर केही संग्रहहरूले हताश हुनबाट जोगाएका छन् । यसकारण बडो सरमले भन्नु पर्छ म कविता संग्रह पढिरहेको छु । यद्यपि सञ्जालमा बेला बेला सुन्दर फुटकर कविताहरू पढ्न पाउँदा राहत फतेह अली खान भइदिन्छ मन ।
पाठशालाका दिनमा अनिवार्य नेपालीमा सरको डरले कनी कनी पढिएका कविताहरू त के सम्झिनु, उसो त याद पनि छैनन् । कवितांशको गुनासो नै रहने भए यसो गर्छु जिब्रोमा रहिरहेको किसानको रहर गाइदिन्छु हेहे ।
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।
बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।
अँ कवि दैवज्ञराज न्यौपानेको नाम त गुगल नै गर्नुपर्ने भएछ । कवि हुनु त गूगल मै खोजिने खालको हुनु नत्र के कवि हुनु के को छवि हुनु भनेर कसैको आधुनिक युक्ति त छापिएको छैन कतै ? छापिएको नहोला भन्न पनि सकिन्न यो हाते छापाखानाको युगमा ।
कविता भनेर हावाकालमा लेखिएका आफ्ना धेरै निवर्तमान भडासलाई त वर्तमानमा तैट मुला यस्तो पनि लेख्थिस भनेर मिल्काइएको छ । भविष्यमा यो दोहोरिन, तेहरिन, फेरिन पनि सक्छ ।
हेर्दा जस्तासुकै नयाँ, आधुनिक, प्रगतिशील, बादी, पन्थी देखिए पनि मैले प्रेम गर्ने भनेको कविताको प्राणवायुलाई हो । मलाई कविताको पहिरन भन्दा वैचारिक गन्ध मन पर्छ । खुसीको कुरा के भन्देखिन सृजनाको सफा पोखरीमामा पौडी खेल्नेहरू देख्दा म आफै हौसिन्छु । र, उनीहरूलाई पनि रहरै रहरले यसरी फ्यात्त फुत्त गरौँ न भनिदिन्छु। आफै पौडी खेल्न सिकिरहेको बेला उसै पोखरीमा फ्यात्त फुत्त गरिरहेकालाई धेरै भन्न हुन्छ वा हुँदैन म जान्दिनँ । कुनैदिन नदी मै तर्ने आँट आए गजबै हुने थियो । त्यो बेला बरु यसरी पौडिनु पर्छ भनेर भन्न सकिन्छ कि ? अहो म त कता कता अर्कै दिशामा बगिगएछु ।
नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता संग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है । नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् ।
मेरो विचारमा दामी कवि उनै हुन् जसका कविताले हृदय र मस्तिष्क स्पर्श गर्छन् । विथितिको, विकृति कू काम गर्नेको घाँटी अँठ्याउने कविता मन पर्छन् । कसैका गोडा स्पर्श गर्ने खल्ती मुसार्ने कविता पनि के कविता ।
मलाई दामी लागेका केही कविको नाम यसप्रकार छ:
भूपी शेरचन, हरिभक्त कटुवाल, मौन आवाज , महेश पौड्याल, भूपिन खड्का, श्रवण मुकारुङ, रावत, चन्द्र गुरुङ, मनु मञ्जिल, उपेन्द्र सुब्बा, आर्यश शर्मा घिमिरे, कल्पना जोशी, खेम बतास, कृष्ण कञ्चन, सुरेश चन्द ठकुरी सहयात्री, हिरा भट्ट, नरेश सक्सेना (भारत), प्रशान्त सागर (भारत), बाबुषा कोहली(भारत), गीत चतुर्वेदी (भारत), मानव कौल (भारत),सबिर हाका (ईरान)। मेरो स्मरण शक्ति निकै कमजोर भएकोले केही कविजनका नाम सम्झिन नसकेकोमा माफी माग्दछु । आफैसँग माफी ।
मैले रुचाएका केही कविता सङ्ग्रह:
घुम्ने मेच माथि अन्धो मान्छे, राजधानी मास्तिरको राजधानी, बिसे नगर्चीको बयान, ल्यापमपोस्ट बाट खसेको जुन, कविता ने कहा, फफूंद, जब एउटा मान्छे हराउँछ, कुँवर नारायणका चुनिन्दा कविता, पाशका चुनिन्दा कविता, ठीक तुम्हारे पीछे ।
आफूलाई मन नपरेका कविता अरु कसैलाई मन परेका पनि होलान् भनेर गालि नै गर्ने आँट गर्दिनँ । मन परेका कविता पढ्न त मुड चाहिन्छ भने मन नपरेका कविता की बात के नै गर्नु ।
तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस यार..।
भाग्यवश कवितामा साक्षर हुन खोजिरहेको एक प्रौढ बेचैनी ममा छ ।
दुर्भाग्यवश म निकै अल्छी छु । मेरो मुड त झन् महाको अल्छी छ । उसले कविता पढ्न पनि एउटा स्थिति कुरिरहन्छ । लेख्न त उसलाई बडो सकस छ । यो मामिलामा औंला निकै टाईट छन् भनौँ न !
कविता बुझ्ने म नाथे को नै हुँ यो जिम्मा मैले हृदयलाई दिएको छु यसमा उसकै मर्जी चल्छ । उसले आफू छुँदो गरिरहेछ भनेर खुसी हुनु बाहेक मसँग कुनै विकल्प छैन ।
तुलनात्मक हिसाबले हेर्दा लेख्नु भन्दा पढ्नु सजिलो छ, रमाइलो छ, छरितो छ, अँ महंगो पनि छ। झन्झटिलो पनि छ त्यसैले झन्झटिलो कुरा किन पढ्नु भनेर म सधैँ छोडिदिन्छु । लेखन आफैमा एउटा अस्थायी स्थिति हो भन्छन् केही जान्नेहरू ! सुखद अनुभूति हुन् वा दुखद अनुभूति यी लेख्न पनि एउटा दिव्य, अलौकिक सामर्थ्य चाहिँदो रहेछ। लेख्नेहरू सबैका आ-आफ्नै तरिका होलान्, दायरा होलान्, क्षमता होलान् । कोही सफलता लेखेर खुसी भइरहेका होलान् कोही असफलता लेखेर दुःख घटाउन खोजिरहेका होलान् । आफ्नो जीवनमा कहिले अरूको सफलताले प्रभाव पार्ला कहिले असफलताले । त्यसैले दुवैथरीलाई पढ्न त पर्छ नै भन्ने मेरो निजी जिकिर हो । फरक फरक परिवेशका मेरो स्वाद मिल्ने कविता भेटिए म त निकै खुसी हुन्छु ।
कविता लेखनमा कुरा गर्दा केही प्रमाणपत्रको लोभले पनि प्रायः लेखिरहेका देखिन्छन् सञ्जालमा । मैले पनि यसरी लोभमा एक दुई पटक लेखेँ । यसरी लेखिरहेका वा भनौँ लोभिएकाहरूको साहित्यमा योगदान त कस्तो होला बरै तर प्रमाणपत्र र खादा व्यापारीको भने व्यापार बढाइदिएर गुण लगाएका छन् । गुण लगाउनु भन्दा ठूलो कुरो केइ छैन् भन्नुहोला । भन्दिनुस् । ती गुणी ले सुने दुआ दिनेछन् । भौतिकवादी भए बेग्लै कुरा ।
समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्त्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको, आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो मै हो, मलाई के भन्नुहुन्छ ?
म आफ्नै गैर जिम्मेवार मान्छे भएपनि समाज र मानवताप्रति संवेदनशील छु जस्तो लाग्छ । गलतको बिरुद्धमा कवितालाई उभ्याउन कोशिश गरिरहन्छु । म मान्दछु कि कवि र कविताको संवाद नै भएन भने त उनीहरूको छिट्टै ब्रेकअप भइजाँदो हो । कविले बाँठो भएर कहिल्यै पनि कवितासँग बढ्ता बोल्ने हुनुहुन्न भन्छु म त । बरु उसले कवितालाई बोल्न दिओस् । कविताले आफ्नो कुरा राख्न जानिन् भने गजबै भइगयो । लाटी कविता भयो भने त बर्बादै हुन्छ । हेहे ।
तपाईंले भनिहाल्नु भयो ‘नेपाली कविताले आफू सुतेको ओछयान मिलाउन छाड्यो’, तपाईंलाई हाई फाई गरियो।
म अल्छीको पनि यसमा केही किलोको वा ग्रामको हात पक्कै छ त्यसैले तपाईंको यो कथनमा दुई चोटी तलमाथि टाउको हल्लाएर ओरालो झरेँ ।
कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् ।
हुन त यी छाप्ने व्यापारीले पैसो नै छाप्ने हुन अझ भनौँ रुपैयाँ नै छाप्न खोज्छन् । उनीहरूलाई चाहिने भनेकै फाइदो हो ।
हाम्रो पठन संस्कृति पहिला त काव्य पढ्नै नमान्ने, मुश्किलले माने पनि खर्च गर्नै नसक्ने, खर्च गर्न गर्न खोजे पनि खल्ती नै प्वाल परेको हुने भएर पनि यी प्रकाशनहरू कवितालाई विश्वास नगर्ने र कविलाई धोका दिन खोज्ने गर्दा हुन् । कोही पत्याइहाल्छ कि भनेर आफ्नो पेट फुलाउन आफूलाई खतरा, बबाल भनिरहेका होलान्। खैर भन्नेले भन्दैमा मानिहाल्नलाई यो कुनै सत्ययुग पनि होइन । नव कवि लेखकहरूलाई मौका दिनेलाई बहुत बहुत धन्यवाद भन्न चाहन्छु ।
नेपाली भाषी कविताको वंशानुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औंल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समिक्षक बनाइदिने भयो । मौका नगुमाउनुस है त । हाउ, त्यसो भए नेपाली कविताको समिक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् ।
नेपाली साहित्यमा स्नातकोत्तर मै नसोधिएको प्रश्न सोध्नुभयो । मुश्किलले कविता पढ्न सुरु गरेको यो १०+२ वाला मनुवालाई गाह्रो पार्दिनुभएछ । एउटा प्रश्न कम्तीमा वैकल्पिक हुनुपर्ने ।
यतिभनेर म उम्किएँ । म जान्दिनँ भन्न के लाज मान्नु ।
आजको मान्छेले आर्थिकरूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । सारुख खान क्रिकेट कम्पनी चलाइराछन् । यस्तै यस्तै । तपाईको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
मेरो कविता सृजनाको शिलशिला सुरु भएको लगभग ५ वर्ष हुन लाग्यो । चरम बेरोजगारीको अवस्थाबाट सुरु भएको यो सृजनात्मक काम अहिले पनि परजीवी भएर नै श्वास फेरिरहेको छु । अनेक कारणवस मैले आफ्नो कम्फर्ट जोनलाई अहिले सम्म छोड्न नसकेको हुनाले लगानीवाला विषयमा ग्लानि महसुस गर्दैछु । आफूलाई बहुल क्षेत्रमा लागानी गरिरहेकाहरू प्रति मेरो असीम कदर छ । बाँच्नु भनेकै यसरी हो। ( मैले भन्न मिल्छ वा मिल्दैन कुन्नि ?)
जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ ! १
कविता भनेर मैले यस्तो पो लेखेको छु
【 मुक्ति 】
अघोरीहरूको घनघोर ताण्डव
हुँदै गरेको एक समय
संसद नजिकै
महामृत्युञ्जयको
महामन्त्रोच्चारण गर्दै गरेको
मार्च पासको दृश्य
कुनै दुतावासको भव्य भेटघाटको
झल्को दिइरहेको थियो ।
उत्सव भैरहेथ्यो नटराजहरूको
अनिष्टलाई स्वागत गर्न
उनीहरू पटक्कै चाहँदैनथे
कसैको जीवन,
न त मोक्ष प्राप्ति नै !
मंत्रोच्चारण हुँदै थिए केवल
आफ्नै जीवनको लागि
उदण्ड मचाइरहेथे
आआफ्नै जटा निमोठेर
कपालको लामो आयुको लागि
प्रस्ट देखिन्थ्यो
उनीहरूको
काया माथि देशको खरानी
अघोरीहरू अवगत थिए
देशको स्वामी ‘रुद्र’
यतिबेला
स्वयं विषाक्त भएर छट्पटाइरहेछ,
सिँहदरवारको कुनै कैलाश कोठा भित्र
आफ्नो अन्तिम संसारिक श्वासमा
उसले फेरिरहेछ विषालु आश्वासनका
मिति पूरा भइसकेका
देशै खाने अर्ती उपदेशहरू
कुनै निश्चित चुनावी एजेन्डा जस्तै
आैपचारिकता निभाइरहेछ,
आफ्ना अन्धा र बहिरा भक्तहरूलाई
उनीहरुले मात्र बुझ्ने लिपिमा
कसरी थाहा पाउँछन् अघोरीहरूले
कसैको मृत्युको साइत ?
किन खाइदिन्छन् अघोरीहरूले
आफ्नै प्रजातिको मांस ?
देखिन्छन् किन अघोरीहरू
मात्र
कुम्भ र महाकुम्भमा ?
राहदानी विभाग बाहिरको भिड जस्तै
जिज्ञासाले काैतूहल बनेका नजरहरू
अपवित्र बनेर फर्किए,
जीर्ण र रुग्ण देखिन्थे अघोरीहरू
मुक्ति खोजिरहेका थिए
घाँटीमा झुण्ड्याइएकाे पार्टीको कंकालबाट !
केही छुट्यो र ?
छुट्नु भनेको गुडिरहनु पनि हो । छुटेको हरेक तत्त्वलाई शुभयात्रा भन्दै म पनि छुटे । जय कविता ।
[नेपाली साहित्यले प्रतीभाशाली कवि प्रचण्ड भास्कारलाई गुमाएकाे धेरै भएकाे छैन । वा भनाैँ, नेपाली साहित्य क्षेत्रले उनको विछोडोको घाउ आलै बाेकिरहेकाे छ । सर्जकलाई आँसुले होइन, श्रद्धाले सम्झनु पर्छ । सिर्जनाले सम्झनुपर्छ । र, सम्झनुपर्छ विचारले पनि । दिवंगत भास्करलाई हामी उनका शब्द र सिर्जनाबाट निरन्तर सम्झिरहने छाैँ, र त्यही सम्झने क्रममा भास्कर अस्पतालमै रहेका बखत यस संवादकारसँग यसप्रकार संवाद गरेका थिए ।- झल्लु]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।