शृङ्खला अङ्क एकमा दृष्टिकोण र अस्तित्वको स्थितिलाई अनित्य मानेका छौँ । वैदिक शास्त्रको तर्क छ, तर आत्मा वा चित्तको प्रारूपमा सङ्कट छैन । आत्मा नित्य छ, र आत्मा भनेको शरीर नै  होइन । वृहदारण्यक उपनिषद्ले भनेको छ, “अहं ब्रह्मास्मि” अर्थात्  म ब्रह्म हुँ वा म आत्मा हुँ ।

ब्रह्मको अस्तित्व विजयी भावमा छ । आत्मज्ञान मेरो ब्रह्म ज्ञान हो, अर्थात् म को हुँ भन्ने प्रश्नको सही उत्तर मेरो आत्मालाई थाहा हुन्छ । शुद्ध आत्मा र शरीर अलगै हो, र अलगै रहेर आत्मज्ञान बोध गर्न सम्भव छ । तर त्यो जो कोहीले सजिलै गर्न सक्दैनन्, नित्यनिरत कठिन साधना र योगाध्यानले मात्र ‘ब्रह्मतत्व’ बोध गर्न सक्दछ ।

प्रसिद्ध लेखक युवल नोहा हरारीको तर्क छ, आत्मज्ञानको स्थितिको बोध गर्नु जटिल छ र जति नजिक पुगिन्छ – त्यो झनै कठिन हुन पुग्छ । हरारीको यो विचार विपश्यना ध्यानको बारेमा उनको प्रतिक्रियात्मक अनुभव थियो  । उनको थप तर्क अनुसार मान्छेले आफ्नाबारे जति रहस्यमय कुरा बोध गर्दै जान्छ, सम्पूर्ण हृदयगत व्यवस्थाहरू त्यसपछि अव्यवस्था र अस्थिरतासँग टकराउन पुग्दछ । त्यो स्थितिमा झन् मान्छे आफू को हो र  के हो भन्ने प्रश्नहरूमा समेत निरुत्तरित हुँदै जान्छ ।

ओशोका तर्क छ, समयान्तरले गर्दा आत्मज्ञान र बाहिरी चेतनालाई सजिलै एउटै भावमा पाउन कठिन छ, जुन बुद्धकालीन समयमा सम्भव थियो । त्यो समयको प्रकृतितत्व अलौकिक थियो, र त्यसले सम्पूर्ण प्रक्रियालाई सारभूत रूपमा शुद्ध पार्दथ्यो । त्यो अवस्थामा हाम्रो शरीरको सामान्य चेतनाले पनि आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्ति गर्नलाई केही सहज बनाएको थियो ।

समयकै कुरा गर्दा – वैदिक मान्यता अनुसारका समय भेदलाई मानिसको सामान्य चेतनाले अनुभूति गर्न सकिने देखिँदैन । जस्तै एक सेकेन्डलाई ६० हजारले भाग गर्दा आउने भागफल बरावरको समय १ परमाणु, ३० हजारले भाग गर्दा १ अणु, ६ हजारले भाग गर्दा १ रेणु, ३ हजारले भाग गर्दा १ त्रुटि, ३० ले भाग गर्दा १ भेद, १ सेकेण्डको ३० प्रतिशत  बराबर १ निमेष र १ सेकेण्डको ६० प्रतिशत बरावर १ क्षण हुने वैदिक शास्त्रको मत छ  ।

त्यसै गरी समयको अर्को इकाई जसको परिकल्पनासम्म पनि मानिसको क्षमताले साथ दिँदैन । जस्तै ४३ लाख २० हजार वर्ष बराबर १ युग, ४ अर्ब ३२ करोड वर्षको १ कल्प, ३६ कल्प अर्थात् १४७ अर्ब वर्षको ब्रह्माजीको १ दिन अहोरात्र र ३ लाख ३० हजार कल्प अर्थात् १४ हजार दुई सय खर्ब वर्ष ब्रह्माजीको १ सृष्टि भनिएको छ ।

आत्मज्ञान र चेतनालाई प्रकृतितत्वले फरक पार्छ-पार्छ, र समय पनि प्रकृतितत्वमा समाहित छ भन्ने कुरा त विज्ञानले पुष्टि गरेको छ । साथै विज्ञानले यो पनि भनेको छ, प्रकृतिमा रहेका कति सात्त्विक तत्त्वहरू आज नष्ट समेत भइसकेको छन् । अधिक मात्रामा देखिएको प्राकृतिक विकारहरू र मानव सिर्जित तामसी तत्त्वहरूले शुद्ध प्रकृतिको अस्तित्वलाई दूषित बनाएको हामीले अनुभव गरिरहेकै छौँ ।

यसको अर्थ हाम्रो चेतनाले सहजै आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गर्ने स्थिति रहँदैन तर मोक्षका सिद्ध-साधकका लागि त्यो असम्भव होइन ।

शेक्सपियर वा एरिस्टोटलको चेतना प्राकृत थियो, त्यसकारण नै प्रकृतिले निरन्तर क्रियाशीलताका लागि चैतन्य तत्त्व दियो, र उनीहरू आत्मज्ञानको स्थितिमा पुगे । त्यसपछि शेक्सपियर वा एरिस्टोटलले आफ्नो आत्मज्ञानको उजागर गरे, र त्यो प्रसिद्धि प्राप्त गरे । प्रकृति भनेको जगत् हो, जगतका तत्त्वहरू पनि हुन् र समय पनि हो जसले ज्ञानलाई सापेक्षिक बनाइदिन्छ ।

अन्यथा जो कोही किन शेक्सपियर वा एरिस्टोटल किन हुन सक्दैनन् त ? आखिरमा शेक्सपियर पनि लेखेकै मात्र हुन्, वा एरिस्टोटले विचारहरू व्यक्त गरेका त हुन् ।

अर्थात् उनीहरू मोक्ष प्राप्तिको चरम स्थितिमा पुगे, र आत्मज्ञानको उपयोग गर्न सक्षम बनेका थिए । जीवनको सार धर्म, अर्थ, काम र मोक्ष न हो । उनीहरूका निम्ति लेखनको क्रिया ईश्वर प्राप्त गर्ने माध्यमका रूपमा थियो, अर्थात् त्यो माध्यम नै मोक्षको मार्ग थियो । वैदिक सारले भनेको पनि ईश्वरसँग निरन्तर साक्षात्कारमा हुनु नै मोक्ष त हो ।

एउटा भाष्यलाई पाठकको जिम्मा लगाएँ, के नित्यनिरत लेखकका लागि लेखन अध्ययन नै ईश्वर साक्षात्कार गर्ने माध्यम हो त, अर्थात् के त्यो मोक्ष मार्ग हो त?

मेरो बिचार अर्को दिन राखुँला र अहिले फेरी मूल प्रसङ्गमा फर्कौं ।

आत्मज्ञान ब्रह्म ज्ञान हो, र शेक्सपियर वा एरिस्टोटलको चेतनाले निरन्तर प्रकृति सापेक्ष नवीनतम विषयहरू बोध गरेका थिए । विषयहरू बोध गर्ने चेष्टा, प्रकृति र चेतनाको सम्मिलनले एउटा सामान्य मान्छे एरिस्टोटल बनेको हो, अनि अर्को मान्छे शेक्सपियर ।

ओशोको तर्कमा पनि विमति छैन, आजको समयमा मान्छेले शेक्सपियरकै बराबर लेखे पनि शेक्सपियर बराबरी प्रसिद्धि पाउँदैन किनकि त्यो अब प्रकृति सापेक्ष रहँदैन । प्रकृतिले त्यो भन्दा बढी आत्मज्ञान र उन्नत चेतना मागिरहेको छ ।

प्रकृतिलाई नै अपूर्व मानेर रवीन्द्रनाथ टैगाेरले भनेका छन्,

हे मेरो प्रियतम, मलाई थाहा छ कि यो सुवर्ण कान्ति जो लतातृणमा नाचिरहेको छ, जतिखेर अल्छी बादल आकाशमा यताउता घुमिरहन्छ, तर उषाको यो मन्द हावामा मेरो मनलाई शीतल दिने गरी जे बहिरहेछ, यो सबै तिम्रो प्रेम हो ।

प्रातकालको प्रकाशले जब मेरा नयनहरू पल्लवित पार्छन्, मेरो हृदयमा सन्देश जान्छ, माथिबाट तिमीले आफ्नो मुहार म तर्फ झुकायौ, तिम्रो नयन मेरा नयनमा ठोकिए र मेरो हृदयले तिम्रो चरणको स्पर्श गर्यो ।”

(नेपाली भावानुवादः प्रकृति में ईश्वरीय प्रेमका दिग्दर्शन, गीताञ्जली)

आखिरमा टैगोरले प्रकृतिलाई ईश्वरीय तत्त्व मानेका छन्, र प्रकृतिको स्तुतिगान गरेका छन्  । त्यो स्थितिका लागि पनि उनले प्रकृतिको अपूर्व छटामा अनगिन्ती समय व्यथित गरे भन्न धक मान्नुपर्दैन । अन्ततः उनले आत्मज्ञानको बोध गर्न सफल भए, र प्रसिद्धि प्राप्त गरे ।

प्रकृतिको चेतनालाई उन्नयन बनाउन समय नलाग्नुको पछाडि अरू केही कारण छैन । मानिस प्रकृतिपरक नै हो, प्रकृतिबाट अलग हुन खोज्नु नै पराज्ञानबाट विमुख हुनु हो ।

निश्चय नै प्रकृतिको अपूर्व छटामा जो कोहीलाई कविता फुर्छ, केही लेख्नै नजान्ने पनि लख्न खोज्दछ वा लेखनको अनुभूति नगर्नेले पनि आफ्नै भावमा शब्दहरू ओकल्न थाल्दछ । र, मान्छे पनि प्रकृतिकै मनोरम स्थलमा बसेर आनन्दमा सुस्ताउन मन पराउँछ ।

अर्थात् प्रकृतितत्व जति शुद्ध छ, आत्मज्ञान प्राप्तिको स्थितिलाई समर्थन गर्ने आवश्यक चैतन्य तत्त्व त्यति धेरै पूर्ति गर्दछ ।

श्री कृष्णले श्रीमद्भागवत गीताको दोस्रो अध्याय, १७ औँ श्लोकमा भनेका छन्, आत्मा अमर हुन्छ, र त्यो तत्त्वले नै चैतन्यको अनुभूति गराउने हो । आत्माको स्थिति अलौकिक छ र यसले सबै प्रकारका अन्धकारलाई नाश गर्दछ । आत्मज्ञान प्राप्तिपछि मानिसले सबै अज्ञानतालाई जित्ने हैसियत बनाउँछ, र त्यो मृत्युको भयबाट समेत मुक्त हुन्छ ।

आत्माको उपस्थितिको प्रारूप व्यष्टि चेतनाको  रूपमा हुन्छ, यसको आकार रौँको टुप्पाको दश हजार भागको एक भाग जति हुन्छ  । त्यो आत्मा कणको प्रभाव शरीरभरि रहन्छ, र सम्पूर्ण भौतिक शरीरको मूल आधार हो ।

आत्माको निम्ति जीवन र मरण समान हो र त्यसलाई मृत्युको चिन्ता हुँदैन । शर्त: आत्मज्ञानको प्राप्तिलाई अन्धकार नाश हुनै पर्छ, र त्यो पराशक्ति  प्रकृतितत्वमा छ- चाहे त्यो सूर्यको किरण होस् वा बनपवनको स्वच्छ वायु । जति शुद्ध प्राण, अपान, व्यान, समान र उदानका निम्ति आवश्यक तत्त्वहरू मिल्छ, आत्मज्ञानको प्राप्ति असम्भव होइन ।

विज्ञानले पनि सामान्य मान्छेको मस्तिष्कमा दश अर्बभन्दा बढी न्युरोन हुने र त्यो तनक्क पार्ने हो भने संसारलाई कयौँ फन्का मार्न पुग्ने बताएको छ । यदि मान्छेले जति बढी साधना र अभ्यास गर्छ एवं चेतनालाई जागृत बनाउँछ, त्यसको फैलावट झन् व्यापक हुने बताएको छ । सामान्य रूपमा तैरने बोसोको रूपमा रहेको मस्तिष्कको अति सूक्ष्मभन्दा सूक्ष्म इकाईको पनि काम र प्रभाव अलग-अलग हुने विज्ञानले भनेको छ ।

आखिरमा गीतामा भनिएको आत्माको उपस्थितिको प्रारूपको व्यष्टि चेतनाको अंश रौँको टुप्पाको दश हजार भागको एक भाग जति हुने र विज्ञानले खोज गरेको मस्तिष्कको दश अर्बभन्दा बढी न्युरोनहरूको अति सूक्ष्मभन्दा सूक्ष्म इकाईको व्यापक प्रभाव हुने भन्नेमा के फरक रह्यो र ?

तर आत्मा र चेतनाको स्थितिसम्म त विज्ञानको पहुँच नै पुग्न सकेको छैन  ।

आत्मा भन्ने शब्दमा धेरैले हिन्दू दर्शनको सापेक्षता भन्ने बुझ्दछन् । तर संसारको सृष्टिकर्तालाई अस्वीकार गर्ने धेरै छैनन् । सृष्टिकर्ताको अस्वीकार गर्नेले पनि सृष्टितत्व वा प्रकृतिको अस्वीकार गर्दैनन्, निन्दा पनि गर्दैनन् ।

वैदिकहरूले आत्मातत्त्व भनेकै स्थितिमा बुद्ध अनुयायीहरूले ‘चित्त’ र इसाई सम्प्रदायहरूले ‘सोल’ भनेका छन्, तर प्रारूपको दृष्टिकोणमा केही मतभेद छ । दृष्टिकोणको स्थिति अनित्य छ भन्ने त पाठक र लेखकले जीवन र जगत् अङ्क एकमा स्वीकार गरेका छौ ।

आत्मालाई नित्य मानेपछि धर्म र दर्शनलाई सापेक्षता नमान्ने कुरा भएन । धर्मले वा दर्शनले नै मानिसमा रहेको गहिरो चेतनालाई शुद्ध र सन्तुष्ट पार्दछ । मानिस धन वा उच्च पदसोपन जस्ता आफ्नो तत्कालिक अस्तित्व र सांसारिक समृद्धिमा सन्तुष्ट नै हुँदैन । धन-सम्पत्ति र वैभवमार्फत साधनामार्फत पूर्ति हुने क्षणभङ्गुरताको आनन्द र उद्देश्यको पुरा हुन सक्छ । तर जब आध्यात्मिक सान्त्वना र शान्तिको खोजीमा पुग्छ, धेरैको जीवनमा एक समय आउँछ र ईश्वरलाई स्वीकार गर्न पुग्दछ ।

त्यो एउटा स्थितिमा जब मानिस पुग्छ, त्यो वेला आफू मात्र सन्तुष्ट हुँदैन र अरूको लागि पनि केही गर्न खोज्छ । अन्यथा, धन कमाउँदै गर्दा अरूको लागि पनि ‘कमाइदिऊँ’ भन्ने भाव के उसमा जागृत हुन्छ त ? आखिरमा उसलाई जीवनका कठिन परीक्षा र सङ्कष्टहरूले नै त्यो तहको चेतना विकास गरेको त हो ।

मनुष्य त्यस्तो आनन्द प्राप्त गर्न चाहन्छ- जुन आफ्नै ब्रह्मले अनुभूति गर्ने स्थितिको सत्य, अपरिवर्तनशील र अविनाशी होस् । अर्थात् आत्माले अनुभूति गर्ने भनेकै आत्मज्ञानले सत्य मानेको कुरा हो । त्यो नैरन्तर्य मोक्ष कर्म, साधना वा योग ध्यानको प्रतिफल न हो ।

अब ब्रह्म ज्ञानलाई सापेक्ष मानेपछि वा आत्मालाई स्वीकार गरेपछि त्यो प्राकृततत्वलाई ईश्वरीय तत्त्व किन नमान्ने ? तमाम भौतिकवादीहरूलाई एउटा मेरो प्रश्न छ ।

सांसारिक सुख र पारलौकिक सुख फरक विषय हुन्, यो विषयमा अर्को पटक बहस गरुँला । तर संसारको हर तरहको सुखको उपभोग गर्न सक्ने धनवान् र उच्च शक्तिशालीहरूले सन्तुष्टिको सुखको उपभोग गर्न किन वञ्चित भए त ? अर्थात् आनन्दको खोजी गर्नु अन्यथा होइन, तर परालौकिक आनन्दको अनुभूति गर्न ब्रह्मज्ञान वा आत्मज्ञान बिना कसरी सम्भव थियो र ?

… न ज्ञान भो, न भक्ति भो न भो विवेक – आखिर श्री कृष्ण रहेछ एक (महाकवि लक्ष्मी प्रसाद देवकोटा)

अर्थात् श्री कृष्ण ईश्वरीय तत्त्व हुन्, व्यक्ति नै होइनन् । ब्रह्मतत्वमा ईश्वरीय तत्त्व अन्तर्घुलित छ, र महाकवि देवकोटाले अनुभूति गरेको नै त्यही श्री कृष्णतत्व वा ईश्वरीय तत्त्व हो, देउता “श्रीकृष्ण” होइनन् । आत्मामै ईश्वर खोज भनेर देवकोटाले भनेकै हुन त, ‘कुन मन्दिरमा जान्छौ यात्री’  भनेर ।

ईश्वरीय-तत्व सबैको आत्मामा छ भने म चैँ मौन रहेँ अब,  आखिरमा  को चाहिँ आस्तिक र को चाहिँ नास्तिक हो भन्ने सवालमा  ।