अमेरिकाको न्युयोर्क सहर धनीहरूको रोजाइमा परेका  संसारका सहरहरूमध्येको एक नम्बरमा  रहेको सहर हो । यहाँ  १०० मिलियन डलरभन्दा बढी सम्पत्ति भएका ७३७ धनी मध्ये ५९ अरबपतिहरू पनि बस्छन् ।  सहर सबैको रोजाइको विषय त हैन । तर किन धनीहरूको रोजाइमा पर्यो भन्ने कुरा मलाई पटक्कै थाहा छैन ।

जे भए पनि पनि त्यहीँ  धनीहरू बस्ने सहरको एउटा कुनामा बस्ने  बासिन्दा हुँ । तिनै धनीहरूले नाफा कमाउनलाई भनेर खोलिदिएको एउटा अफिसमा काम गर्छु । साहू महाजनको दया/माया भएन भने फेरि पेटमा मुसा दौडिन सुरु गर्छन् ।

एउटा  हिउँदको चिसो रातको कुरा हो, धनीहरूको सहरमा चम्किला बत्तीहरू बलि नै रहेका थिए । म काम सकेर हस्याङफस्याङ गर्दै  आफ्नो अपार्टमेण्टमा पुग्दा बिल्डिङमा पानी र हिट (तातो) दुवै थिएन । यस्तो असुविधाका लागि क्षमा प्रार्थी रहेको सूचना मुख्य ढोकामा टाँसिएको थियो । मैले न्यूयोर्क आईकन कहिल्यै पनि यस्तो अवस्थाको सामना गर्नु परेको थिएन र यस्तो अवस्थाका लागि के गर्ने भन्ने कुनै तैयारी पनि थिएन । यो अवस्था ३० घण्टा सम्म लम्बियो ।

अर्को दिन इन्स्युरस कम्पनीले कुनै पनि होटेलमा बसेको बिल पेस गरे १५ हजार डलरसम्म कभर गर्ने त भन्यो तर आफ्नो बसिराखेको ठाउँ  छोडेर होटेल गएर बस्न मन लागेन । त्यो राती धारामा पानी नभएपछि खाना पकाएर खाने कुरै भएन । बाथरुममा लघुशङ्का गइहाले पनि दीर्घशङ्का जाने कुरै भएन । बाहिरको तापक्रम माइनस ६ डिग्री थियो । चिसो ओछ्यानमा यसै पल्टिए तर निद्रा परेन । भोक र तिर्खा लाग्यो तर घरमा एक थोपा पनि पानी नभएपछि मध्यरातमा बाहिर पसलमा गएर पानी किनेर ल्याउन पनि त्यति जाँगर चलेन ।

ओछ्यानमै पल्टेर सोच्न थाल्दा  विसं. २०४० / ५० को दशकतिर पुगेछु । स्कुल छुट्टी भइसकेपछि  दुई घण्टाको उकालो बाटो हिँडेर घर पुग्दा पेटमा भोकले अधि नै जुलुस निकालिसकेको हुन्थ्यो । घरमा खाने कुराको अत्तो पत्तो हुँदैन थियो र घरका सबै जना सदस्य मेलापात आ-आफ्नो काममा  हुन्थे ।

अगेनामा चिसो खरानी मात्रै हुन्थ्यो । छिमेकीका पुगेर कोइलाको आगो ल्याउन करिब 30 मिनेट अनि चिसा खरानीमा चिसा दाउरा जोडेर आगो बाल्न आधा घण्टा र पकाउन करिब त्यतिकै समय लाग्थ्यो । कहिले अगेनामा आगो हुँदा गाग्रीहरू रित्तै हुन्थे । तामाको गाग्री बोकेर कुवामा गएर भ्यागुताका चेपागाँडा पन्छाउँदै पानी उगाएर गाग्रो भरेर ल्याउन ५० मिनेट लाग्थ्यो । कहिले आगो पानी दुवै हुँदा आलु, सगरखण्ड, इस्कुस, सिमी, करेली इत्यादि बारी मै हुन्थे । खनेर ल्याउन घण्टौँ लाग्थ्यो । कहिले घरमा बाल्ने दाउरा नभएर जङ्गल पुगेर दाउरा खोजेर ल्याउँदैमा समय जाने ।

गाउँको यस्तो दुःख र हैरानी सम्झँदा सहरमा बस्ने मानिसहरू चाहिँ के गर्छन् होला भन्ने मनमा लागिरहन्थ्यो ।

त्यति बेला न टेलिभिजन, न सोसियल मिडिया, न त अखबारहरू नै ? स्कुलको पाठ्यपुस्तकमा पढेका संसारका ठूला तथा नाम चलेका लन्डन, न्युयोर्क, मस्को, पेरिस, रोम जस्ता सहरहरूका मानिसहरू कति धेरै भाग्यमानी होलान् भन्ने लाग्थ्यो । हुन पनि नेपालमा सहरवासी हुनु इज्जतको विषय हो भने, अझ विदेशमा बस्नु त झनै प्रतिष्ठाको विषय हो ।

हुन पनि गाउँमा न शिक्षा, न स्वास्थ्य, न त रोजगारी न  यातायात, न सञ्चार र अवसर नै । त्यसताका एसएलसीको परीक्षा दिन पनि  सदरमुकाम हिँडेर पुग्नुपर्थ्यो । जुन महिलाहरूका लागि असम्भव नै थियो । फोटोकपी को चलन नआउँदा , जागिर खानलाई मार्कसिट र सर्टिफिकेटहरू सक्कल बमोजिम नक्कल ठीक छ भनेर रातभरि  सारिन्थ्यो । टेबुल कुर्सी नहुँदा खोस्टा र परालको गुन्द्रीमा बसेर लेख पढ गर्दा दुवै हातको कुहिना पुरै खुइलिन्थे ।

सहरमा सबै सेवा सुविधाको पहुँच हुने । गाउँलाई यी सबै कुराबाट किन वञ्चित गराइएको र ठगिएको होला जस्तो लाग्थ्यो ।  सभ्यता र सम्पन्नताको मापनमा पनि  सहरकै नाम पहिले किन आउने ? अनि उकाली ओराली गरेर ढिँडो रोटो खानेहरू सबै पाखे र असभ्य किन ठानिएको होला ? भन्ने लाग्थ्यो । अहिले पनि ठुला भवनमा बस्नु, चिल्ला सडकमा गाडी गुडाउनु, मोटरमा चढ्नु , मोबाइल, कम्प्युटर चलाउनु र नेपालीमा अलि अलि अङ्ग्रेजी घुसाएर बोल्नु सभ्य र सुसंस्कृत ठानिन्छ । यो देखेपछि मलाई पनि आखिर सहरमा चाहिँ के रहेछ त भनेर हेर्न मन लागिरहन्थ्यो ।

अनि म जब आफ्नै देशको राजधानी सहर काठमाडौँमा पुगे अनि सहर त कङ्क्रिट, फोहोर र प्रदूषणको डङ्गुर मात्रै रहेछ भन्ने लाग्यो । यसो तरकारी किन्न गयो फोहोर भुइँमा नराम्रोसँग फिँजारिएका विषाक्त तरकारी र फलफूलहरू । पसलेको बोली पनि कर्कश र बाउँठिएको । सहरका सबै मान्छेहरू मालिक प्रवृत्तिका लाग्ने ।

त्यसपछि भारतको नयाँदिल्ली पुग्दा भारतीयहरू खाली गाडीको हर्न मात्रै बजाएर अरूलाई डिस्टर्ब गर्दा रहेछन्, रेलमा यात्रा गर्दा पनि ढुक्कसँग सुत्न नदिने, मध्य रातमा “गरम गरम चाय” भनेर डिस्टर्ब गरेर हैरानै गर्ने । अनि ठाउँठाउँमा मन्दिरै मन्दिर बनाएर अरूलाई ढोग्न लगाउने र पण्डाहरूले पैसा लुट्ने ।

त्यस्तै ढाका सहर पुग्दा घुस / कमिसनको घन चक्कर र सबै जनता एजेन्ट हुन नै जन्मेका हुन् कि झैँ लाग्थ्यो ।

त्यसपछि फेरि घुम्दै फिर्दै चाओ फराया नदीको पश्चिमी डिलमा रहेको अति सुन्दर देश अनि संसारकै मानिसहरूको प्रमुख गन्तव्य बैँकक सहर पुगेँ । खुल्ला सेक्स, क्लब र पार्लरहरू देख्दा पुरै अर्थतन्त्र यौनले नै पो धानेको छ कि जस्तो लाग्यो । अनि मान्छेहरू चाहिँ रातदिन  खाने, पिउने, चाङ (हात्ती) चढ्ने, टुकटुक (ट्याम्पो), वाटर बोट, किक–बक्सिङ, मसाज र बुमबुम (सेक्स) र मनोरञ्जन मात्रैमा यिनीहरूको जीवन सीमित रहेछ ।

जापानको टोकियो र ओशाका सहर पुग्दा यी जापानीहरू काम गर्नलाई मात्रै जन्मेका हुन् यिनलाई मनोरञ्जन गर्ने त के श्वास फेर्ने पनि फुर्सद नै छैन । अनि घडीभन्दा पनि छिटो दौडन्छन् यिनीहरू भन्ने लाग्यो ।

त्यस्तै मस्को सहरका रक्सी वाइनको दोकान बाहिरको लामो पट्यारलाग्दो लाइनले सबै मानिसहरू जँड्याहा रहेछन् र रक्सी खानलाई नै जन्मेका जस्तो लाग्ने ।

अनि अहिले म विश्व व्यापार, वाणिज्य, संस्कृति, फेशन , मनोरञ्जनको चर्चित  सहर न्युयोर्कलाई नियालिरहेकी छु । न्युयोर्कमा बस्दा मलाई सबैभन्दा बढी मनमा आइराख्ने कुरा चाहिँ समुद्री किनारमा यति ठूलो सहरको विकास किन गरेको होला ? डुब्यो भने कता भाग्छन् यी मान्छेहरू ? वार्षिक अरबौँ डलर पचाउने  मौसमका पण्डितहरूले भविष्यवाणी गर्ने बित्तिकै धनीहरूको त भाग्नलाई आफ्नै विमान छ, तर अरू मानिसहरू के गर्छन् होला ? केही वर्ष अगाडी भुइँचालोले आफ्नो देशको सहरमा धरहराको ढाड भाँच्चिएको र बिल्डिङहरू धस्सिएको देखेकाले यस्तो मनमा लागेको पनि हुनसक्छ ।

आखिर मेरा नाङ्गा आँखाले बाहिरबाट देखेको सहर त्यति मात्रै हो । व्यक्तिगत रूपमा भन्ने हो भने मलाई न त सहरसँग गुनासो छ न त गाउँसँगै  नै । प्रवासमा वा स्वदेशमा जहाँ बसे पनि आफूले मनले चाहेको व्यक्तिहरूसँग  साेसलमिडिया मार्फत जोडिएकै छु । मातृभूमिमा सेवा गर्ने मन भए विश्वको जुन कुनामा बसेर पनि गर्न सकिहालिन्छ । मलाई दोहोरो तेहरो नागरिकताको बहसमा लाग्नु पनि छैन । विदेशमा आएर दाम कमाउने र नाम चम्काउने नेपालीहरूको संस्था  एनआरएन पनि मेरो चासोको विषय कहिल्यै बनेन । न त जात जाति र धर्मका नाममा खुलेका सङ्घसंस्थामा  लाग्नु नै छ, न त कसैका एजेण्डामा बहकिएर आफ्नो समय बरबाद गर्नु । मलाई त सिर्फ म भएर बाँच्न पाए हुन्छ जस्तो लाग्छ । जीवनका अप्ठ्यारा र सजिला दुवै क्षणमा साहसी भएर अघि बढ्न मन छ ।

अनि कुनै पनि सहर वा गाउँ बस्न लायक छ कि छैन भन्ने कुरा मापन गर्ने तत्त्वहरू के के हुन् भन्ने कुरा पनि मलाई पटक्कै थाहा छैन । सायद अन्दाजमा शिक्षा, स्वास्थ्य, रोजगारी, जीवनप्रतिको सन्तुष्टि, आय जस्ता कुरा पर्छन् होला । मेरो आफ्नै मनले बनाएको मापदण्ड चाहिँ अर्कै छ जुन मनमा खुसी र शान्ति  मानिसलाई जहाँ बस्दा हुन्छ त्यही सबैभन्दा बस्न लायक ठाउँ हो । मैले काठमाडौँमा देखे भोगेकी थिएँ राम्रा चाइनिज इँटाले बनाएको घर, राम्रा सोफा दराज र भाँडाकुँडा भए पनि दिगो आम्दानीको स्रोत नहुँदाको मानिसहरूको दुःख र छटपटाहट ।

गाउँको दुःख भन्दा सहरको दुःख झन् भयानक हुँदो रहेछ । गाउँमा मानिसको आम्दानी र आकाङ्क्षा पनि समान हुन्थे । कसले कति मुरी अन्न भित्र्यायो र कति पशु वस्तु पालेको छ, कति अम्लिसो, अदुवा र तरकारी उत्पादन गर्छ र कति पैसा हात पार्छ भन्ने घाम झैँ सबैलाई  छर्लङ्ग हुन्थ्यो । तर सहरमा मानिसहरूको बारेमा भेउ पाउन पनि धेरै मुस्किल हुन्छ ।

सहर भनेको एउटा भ्रमको खेती गर्ने ठाउँ मात्रै रहेछ । संसारभरिका मान्छेहरूका सपनाको चाङ थोपर्ने ठाउँ । न्युयोर्क त झन् यस्तो सहर हो  कि संसारका हरेक देशका मान्छेहरू यहीँ भेटिन्छन् र पैसा खर्च गरेर उनीहरूको देश/ सहर घुम्न जानै पर्दैन । उनीहरूले नै आफ्नो देशको भाषा, संस्कृति र संस्कार यहाँ ल्याएका छन् ।

सहरका सपना पनि भयानक ठूला  हुँदा रहेछन् । बाहिरबाट हेर्दा सफल र भाग्यमानी  ठानिने यो व्यस्त सहरका एक्ला मान्छेहरू एउटा अधुरो कहानी बोकेका, सधैँ  उथलपुथल बाँचिरहेका, डरलाग्दा प्रेम कथाहरू बोकेर हिँडेका  जस्ता लाग्ने ।  भित्री भावना, प्रेम, दया, माया र करुणालाई पनि मारेर  एउटा मेसिनजस्तो चौबिसै घण्टा चलिरहन्छन् । सधैँ बजार र बजार सञ्चालनसँग मात्रै प्रतिस्पर्धा गरिरहन्छन्, नाफा र घाटाको हिसाब किताब जोडिरहन्छन् । यो सहरमा न कसैको निद्रा पुग्छ न त कसैकाे सपना नै पुरा हुन्छ ।

खाली सपनाको चाङ थोपरेर बाँचेको सहर ।