ऐश्वर्य श्रेष्ठ

अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले ४ दिने ‘पोखरा आर्ट क्याम्प’को आयोजना गर्ने भएको छ ।

चार देशीय कार्यशालामा नेपाल बाङ्गलादेश, इरान र भारतको सहभागिता रहनेछ ।

“पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ” भन्ने मूल नाराका साथ आगामी भाद्र ३१ देखि असोज ४ गतेसम्म कार्यक्रम आयोजना गर्ने अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (International Watercolor Society Nepal – IWS Nepal) ले जनाएको छ ।

आज चक्रपथस्थित मार्थ थकाली होटलमा आयोजित पत्रकार सम्मेलनमा ‘आइडब्लुएस’ नेपालका अध्यक्ष एनबि गुरुङले चार देशका करिब ८० जना कलाकारको सहभागिता रहने जानकारी दिनुभयो ।

उक्त ४ दिने कार्यक्रममा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको प्रत्यक्ष स्थलगत भ्रमण गरी चित्रण गरिनेछ ।

अध्यक्ष गुरुङले सो कार्यक्रमले पोखराको पर्यटन विकास र प्रर्वद्धनमा टेवा दिनुका साथै पोखरालाई विश्वमाझ कलामार्फत चिनाउन सहयोग गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा जनसांकृतिक महासंघका महासचिव तथा प्राज्ञ लालकाजी लामा, वरिष्ठ कलाकार डिराम पाल्पाली, राष्ट्रिय ललितकला संघका अध्यक्ष दीपेन्द्रमान बनेपाली, ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशवराज खनाल, चित्रकार बाबु साइँला लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

आइडब्लुएस नेपालले यसअघि सन् २०१६ र २०१८ मा काठमाडौं, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय कलाको प्रदर्शनी गरिसकेको छ ।