अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनमा वर्ल्ड वाटरकलर डे भब्यताका साथ मनाइएको छ । देशका विभिन्न ठाउँ र प्रदेशहरूमा एकैसाथ मनाइएको सो कार्यक्रमको संयोजन समाजका प्रदेश प्रमुखहरूले गरेका थिए।

भर्चुअल र भौतिकरुपमा मनाइएको सो कार्यक्रममा जलरङ माध्यममा काम गर्ने कलाकारहरू र कलापारखीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बेलुन र केक काटेर सुरुवात गरी मनाइएको उक्त कार्यक्रममा कला कार्यशालाको पनि आयोजना गरिएको थियो। कार्यशालामा कलाकारहरूले विभिन्न विषयवस्तु र शैलीमा चित्र कोरेका थिए।

सहभागी केही कलाकार मध्येबाट नाम लिनु पर्दा पोखराका वरिष्ठ कलाकार हरेराम जोजुले अमूर्त शैलीमा चित्र रचना गरेका थिए भने बुटवलका पाका कलाकार मन गोल्डीले स्थानीय गाउँले परिवेशलाई क्यानभासमा उतारेका थिए।

त्यस्तैगरी पूर्वका युवा कलाकार लेख मगरले धरान वरपरका सुन्दर दृश्यलाई क्यानभासमा उतारेका थिए भने अर्का कलाकार डिबी राईले काठमाडौँको साँगुरो गल्ली निर्माण गरेका थिए।

नयाँ र पुराना कलाकारहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रदेश १ बाट महेन्द्र राई, मधेश प्रदेशबाट मुकेश महतो, वाग्मती प्रदेशबाट प्रकाश थापा, त्यस्तैगरी लुम्विनी प्रदेशबाट सुमित्रा राना, गण्डकी प्रदेशबाट मनोज तामाङ र कर्णाली प्रदेशबाट उत्तम खड्काले संयोजन गरेका थिए।

आयोजकका तर्फबाट समाजका अध्यक्ष एनबि गुरुङले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै यस्ता कार्यक्रमले जलरङ विधामा कला सृजना गर्ने कलाकारहरुको शिर उँचो पार्ने र उनीहरूलाई एकत्रित बनाइराख्ने धारणा राखेका थिए । त्यसैगरी समाजका वरिष्ठ उपाध्यक्ष डिराम पाल्पालीले समाजले विभिन्न गतिविधिहरू निरन्तर गरिरहेकोमा खुसी व्यक्त गरे ।

वर्ल्ड वाटरकलर डे हरेक वर्ष जनवरी २३ तारिखमा विश्वका विभिन्न देशमा एकै साथ मनाउने गरिन्छ। कार्यक्रममा निर्माण भएका कलाकृतिहरू चाँडै प्रदर्शनी गरिने आयोजकले जनाएको छ।