बाबु साइँला

यो हप्ता अर्थात २६ नोभेम्बर देखि २८ नोभेम्बरसम्म भारतको सुन्दर पहाडी राज्य सिक्किममा विशिष्ट कला कार्यशाला सम्पन्न भएको छ।

सिक्किम अकादमीको हलमा सिक्किमका वरिष्ठ साहित्यकार एवं आर्किटेक्ट किरण रसाइलीद्वारा उद्घाटन गरिएको कला कार्यशालाको समापन समारोह भने डानहिल रेस्टुराँको हल भएको थियो । सो अवसरमा सिक्किमका मुख्यमन्त्री पि. एस़.गोलेका राजनीतिक सचिव ज्याकोब खालिङ प्रमुख अतिथि रहनु भएको थियो ।

उहाँले सिक्किमका मु्ख्यमन्त्रीको तर्फबाट सिक्किमले कलाक्षेत्रका लागि गर्नुपर्ने कुनै पनि काममा कसर बाँकी नराख्ने र आगामी दिनहरूमा नेपाल र सिक्किमको कलाबीच पुल बन्ने प्रतिबध्दता जाहेर गर्नुभयो।

सो समारोहमा भारतका पद्माश्री पदक विजेता सानु लामा विशेष आकर्षण बन्नु भएको थियो ।

ओबिया आर्ट सर्कल आयोजना र आई.डब्ल्यु.एस् नेपालको सहकार्यमा सम्पन्न सो द्विदेशीय कला कार्यशालामा एम.जी.मार्ग लगायत सिक्किमका रमणीय स्थानहरूमा दुई देशका चर्चित कलाकारहरूले प्रत्यक्ष कला उतारेका थिए।

नेपाल सरकारको तर्फबाट मुर्तिकला विभाग प्रमुख प्राज्ञ एवं वरिष्ठ कलाकार लालकाजी लामा, आई.डब्ल्यु.एस.नेपाल अध्यक्ष एन.बि.गुरूङ, राष्ट्रिय ललितकला मञ्च नेपालका अध्यक्ष दीपेन्द्रमान बनेपाली र सिक्किमका कलाकारका तर्फबाट ओबिया आर्ट सर्कलका अध्यक्ष, चर्चित साहित्यकार एवं चित्रकार दीपा राई लगायत रहनुभएको थियो।

कार्यक्रमको संचालक एवं उद्घोषक वरिष्ठ साहित्यकार प्रवीण राई जुमेली र कलाकार एवं स्थानीय समाजसेवी दिवाकार लामिछानेले आफ्नै शैलीमा भरपुर मनोरन्जन दिलाउनुभयो।

तीन दिवसीय यस कला कार्यशालामा नेपालबाट वरिष्ठ कलाकारहरू भीम श्रेष्ठ, युवापु्स्ताका चर्चित कलाकार मनोज योन्जन, डि.बी.राई, अनन्त आचार्य, महेन्द्र राई, कान्छाकाजी भासिमा, बाबु साइँला र सिक्किमबाट वरिष्ठ कलाकार पासाङ शेर्पा, सागर सुब्बा, अशोक राई, शिव क्षेत्री, किशोर साम्पाङ, अर्पण क्षेत्री, हर्क मगर, किरण गुरूङ, सुवास राई, सुमन लामिछाने, बि़.के. सुब्बा, दीपा राई, धीरज प्रधान, दिवाकर लामिछाने, यांगछेन शेर्पा, पंकज गिरी लगायत रहनु भएको थियो ।