
साहित्यकार, पत्रकार एवम् प्राध्यापक द्वारिका नेपालको निधन भएको छ । असोज २५ गते अकस्मात मस्तिष्कघात भई अर्धचेत हुनुभएका उहाँको उपचारको क्रममा आइतबार बिहान काठमाडौँस्थित ग्राण्डी इन्टरनेसनल अस्पतालमा निधन भएको हो ।
जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य, प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्यसमेत रहनुभएका द्वारिका चितवनको कालिका एफएम तथा कालिका टेलिभिजनमा वरिष्ठ समाचारवाचकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ शिक्षण पेशमासमेतमा संलग्न हुनुहुन्थ्यो । उहाँले पछिल्लोपटक भरतपुरस्थित सनराइज स्कुल, नारायणी पोलिटेक्निक ईन्स्टिच्युट (एनपिआइ) कलेज र उषा बोर्डिङ स्कुल मंगलपुरमा नेपाली विषय प्राध्यापन गर्नुहुन्थ्यो ।
स्वर्गीय नेपालको परिचय पत्रकारिता र शैक्षिक क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि उत्तिकै भूमिका छ । उहाँका `ओझेल परेका तस्बिरहरू´ गीतिसङ्ग्रह (२०६१) र `तस्बिरहरूको जुलुस´ कवितासङ्ग्रह (२०७२) सहित सहलेखनका रूपमा कविता र गजलका अन्य कृतिहरू पनि प्रकाशित छन् । गजल मञ्च चितवनका अध्यक्ष रहिसक्नु भएका उहाँ अक्षर समूह चितवनमा उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई साहित्य संगम चितवनका संस्थापक साथै पूर्वअध्यक्षका रूपमा समेत चिनिन्थ्यो । `अत्यन्तै सरल, शालीन र मृदुभाषी व्यक्तित्वका रूपमा हामीले द्वारिकाजीलाई जान्दछौँ,´ कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले भन्नुभयो- `उहाँको निधन हामीले पत्याउनै सकिरहेका छैनौँ, हामीले एउटा असल साथी गुमाएका छौँ ।´
स्वर्गीय नेपालको जन्म २०३२ सालमा रौतहटमा भएको हो । दुई दाजुभाइमध्ये उहाँ जेठा हुनुहुन्छ । परिवारसहित उहाँ भरतपुरमा बस्दै आउनुभएको थियो । उहाँका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । स्वर्गीय नेपाललाई भरतपुर-१०, रमाइलोचोकस्थित निवासमा राखेर अन्तिम श्रद्धाञ्जली दिई आजै देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
यही असोज २५ गते भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढनजिकै तामागढी जंगलमा पुग्दा बिहान ९:३० बजे अचानक बेहोस भएर अर्धचेत अवस्थामा पुगेपछि नेपाललाई तत्काल एम्बुलेन्सबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत असोज २६ गते काठमाडौँको ग्राण्डी अस्पतालमा पुर्याएर आइसियुमा उपचार थालिएको थियो ।
साहित्य सिर्जना, पत्रकारिता र प्राध्यापन क्षेत्रका प्रतिभाशाली व्यक्तित्वको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको कवि गोविन्दराज विनोदीले बताउनुभयो । नेपालको निधनमा जिल्लाका विभिन्न साहित्यिक संघसंस्थाहरूले पनि दु:ख व्यक्त गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

