लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित चर्चित साहित्यकार डा. वानीरा गिरीको हृदयाघातबाट निधन भएको छ ।

७५ वर्षीया गिरीको आइतबार राति १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हृदयाघातलगत्तै घर नजिकैको सिभिल अस्पताल मीनभवन पुर्याइएको थियो । अस्पताल पुर्याइएको केही समयभित्रै डाक्टरहरूले उहाँलाई मृत घोषित गरेका थिए ।

उहाँको कारागार उपन्यास नेपाली साहित्यमा निकै चर्चित छ ।

काव्य लेखनबाट लेखनी शुरू गर्नुभएको डा. गिरीको पहिलो कविता सङ्ग्रह ‘एउटा अर्को जङ्गबहादुर’ हो । त्यसपछि ‘जीवन थाय् मरु’ नामक कविताकृति पनि प्रकाशित छ । ‘कारागार’ उहाँको प्रथम उपन्यास हो । उहाँको दोस्रो उपन्यास ‘शब्दातीत सान्तनु’ पनि उत्तिकै प्रशंसित र साझा पुरस्कार प्राप्त कृति हो ।

उहाँ नेपाली साहित्यमा पहिलो पटक पिएचडी गर्ने महिला अध्येता हुनुहुन्थ्यो । उहाँले गोपालप्रसाद रिमालका कवितामाथि पिएचडी गर्नुभएको थियो ।

उहाँका पति शङ्कर गिरीले वानीरा फाउन्डेसन स्थापना गरी वानीरामाथि अध्ययन गर्न सजिलो बनाउन पहल गर्नुभएको थियो ।

डा. गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उहाँको न्वारनको नाउँ सत्यदेवी थियो । राजा महेन्द्रद्वारा प्रदत्त छात्रवृत्तिमा २०२२ सालमा एम्ए पढ्न उहाँ काठमाडौँ आउनुभएको थियो । २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आबद्ध उहाँले २०४२ सालमा पीएचडी गर्नुभएको थियो ।

डा. गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईंले डा.वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ (२०७०) प्रकाशन गर्नुभएको थियो ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा.गिरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो । उक्त सम्मेलनमा भाग लिने उहाँ पहिलो नेपाली महिला प्राज्ञ हुनुहुन्थ्यो । उहाँको भ्रमणभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गर्नुभएको थियो ।

डा.गिरीले चीन, वङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, सिङ्गापुर, जापान, इटली, फ्रान्स, नर्वे, निदरल्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका आदि मुलुकको भ्रमण गर्नुभएको थियो ।

डा.गिरीको विवाह २०२३ सालमा जनकपुरका इन्जिनियर शङ्कर गिरीसँग भएको थियो । यी दम्पतिका एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो । अपराजिता र अपूर्व अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।

उहाँले प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित हुनुभएको थियो ।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा आयोजित ‘प्रथम कविता महोत्सवमा भैरव अर्याल प्रथम र वानीरा गिरी दोस्रो हुनुभएको थियो । कञ्चन पुडासैनीका अनुसार ‘सो महोत्सवमा वानीरा गिरी नै प्रथम हुनुभएको थियो । तर प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञहरूबीचको मतमतान्तरका कारण उहाँलाई दोस्रो पारिएको थियो ।’

त्यतिखेर बानीराको कविता सुनेपछि राजा महेन्द्रले उहाँलाई नेपालमा नै बस्ने आग्रह गर्नुभएको थियो ।

उहाँबारेका संस्मरणहरू यो पनि पढ्नुहोस्ः

विस्मृत वानीरा

डा. वानीरा गिरीसँगका केही संयोग