चर्चित भारतीय गीतकार राहत इन्दौरीको कोरोना भाइरसका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

आज बिहान मात्र उनले आफूलाई कोभिड १९ रोगको लक्षण देखिएको र अस्पतालमा भर्ती भएको जानकारी ट्वीटरमार्फत दिएका थिए ।

उनी मध्यप्रदेशको इन्दौरस्थित अरबिन्दो अस्पतालमा भर्ती भएका थिए ।

उनले ट्वीटरमार्फत आफूलाई कोभिड १९ रोग लागेको र चाँडै निको भई घर फर्कन पाऊँ भनी ईश्वरसँग प्रार्थना गरिदिन आजै बिहान आग्रह गरेका थिए ।

आजै दिउँसोसम्म उनलाई दुई पटक हर्ट अट्याक भएको र पछिल्लो अट्याकमा बचाउन नसकिएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

उनका छोरा सतलज राहतले आफ्ना पिता विगत चार महिनादेखि घरैमा बसिरहेका र आफ्नो नियमित स्वास्थ्य जाँचका लागि मात्र अस्पताल जाने गरेकोमा अचानक यस्तो संक्रमणको खबर आउँदा चकित परेको बताएका थिए ।

उनका सायरी संसारभरि नै प्रख्यात छन् । उनले १४ वटा हिन्दी फिल्मका लागि चर्चित गीतहरू लेखेका छन् भने सात पुस्तक प्रकाशित छन् । सन् १९५० जनवरी १ मा जन्मिएका इन्दाैरी कपडा मिलका मजदुर पिता रफातुल्लाह कुरेसीका चौथो सन्तान थिए । १९७५ मा ऊर्दु साहित्यमा पिएचडी गरेका उनी विगत ४५ वर्षदेखि निरन्तर मुसायरा सम्मेलनको आकर्षणका रूपमा रहने गरेका थिए । मुसायरा सम्मेलनका लागि उनी नेपालसमेत आएका थिए ।

उनको सायरी ‘बुलाती है मगर आने का नहीं’ फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल छन् । उनका चार सन्तान छन् ।

उनी कति लोकप्रिय थिए भन्ने एउटा उदाहरण यहाँ प्रस्तुत छः