हिमवत् खण्ड भाषा साहित्य सम्मेलनको नेतृत्व गर्नु भएका त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक राजेन्द्र सुवेदीको कोभिड १९ का कारण निधन भएको छ । जेठ ३ गते बिहान ५ बजे ७६ वर्षको उमेरमा उहाँको निधन भएको हो । विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मनु भएका प्राध्यापक सुवेदीको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखी उपचार गरिदै थियो ।

पछिल्लो पटक उहाँको ‘धितो कोख’ उपन्यास बजारमा आएको थियो । विद्यार्थीबीच निकै लोकप्रिय सुवेदीका दर्जन भन्दा बढी साहित्यिक एवं अनुसन्धानात्मक कृति प्रकाशित थिए । नेपाली साहित्यका सिर्जना र समीक्षा दुवै क्षेत्रमा उत्तिकै सशक्त कलम चलाउने प्रतिभा हुनुहुन्थ्यो । उहाँ वरिष्ठ समालोचक, निबन्धकार तथा कविसमेत हुनुहुन्थ्यो । नेपाली समीक्षा परम्परामा आधिकारिक मूल्य, निर्णय सामर्थ्यसम्पन्न समीक्षकका रूपमा उहाँलाई मानिन्थ्यो । पूर्वीय दर्शन र नेपाली समाज चिन्तनका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय रहनु भएका उहाँ त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख, महेन्द्ररत्न क्याम्पस, इलामका पूर्व प्रमुख एवम् गोरखापत्र संस्थानका पूर्व अध्यक्ष रहिसक्नु भएको छ ।

उहाँको निधनमा पूर्व विद्यार्थी रहिसक्नु भएका प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले प्रतिक्रिया दिँदै भन्नुभयो, हामीले उहाँलाई बचाउने अथक् प्रयास गर्दागर्दै पनि जोगाउन सकेनौँ । त्यस्तै त्रिविका प्राध्यापक रामप्रसाद ज्ञवालीले आफ्ना गुरू प्राध्यापक सुवेदीले नेपाली भाषा र साहित्य तथा प्राध्यापनमा पुर्‍याउनुभएको योगदान अविस्मरणीय र अनुकरणीय रहेको प्रतिक्रिया दिनुभएको छ ।