साहित्यसँगै पत्रकारितामा पनि प्रख्याति कमाउनु भएका कथाकार राजेन्द्र पराजुलीको भदौ २६ गते मंगलबार निधन भएको छ ।

निमोनियाका कारण काठमाडौँस्थित बिएन्डबि अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो ।

२०२१ वैशाख १३ कोटेश्वरमा जन्मनु भएका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशन भएको थियो । गोविन्द गिरि प्रेरणाका अनुसार श्रद्धाञ्जलि शीर्षकको कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशित भएको थियो ।

उहाँले कविता विधाबाट साहित्य लेखनमा पाइला चाल्नु भएको थियो । ‘भ्रष्ट संवेदना’ कविता संग्रह प्रकाशित भए पनि उहाँले आफूलाई कथाकारका रूपमा सशक्त रूपमा उभ्याउनु भएको थियो । उहाँको अनायिका उपन्याससमेत प्रकाशित छ । मूलतः कथालेखनमै रमाउनु हुन्थ्यो । उहाँको ‘विकल्प यात्रा’, ‘जाडोमा भोक’, ‘सपनामा मार्क्स’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अघोरी’ र ‘जन्तरमन्तर’ प्रकाशित छन् ।

उहाँले पछिल्लो समय उपन्यास लेख्दै हुनुहुन्थ्यो ।

उहाँको ‘कोटेश्वरको केटो’ संस्मरण संग्रहले निकै चर्चा बटुलेको थियो ।

पत्रकारितामा पनि उहाँ निकै सशक्त रूपमा लाग्नु भएको थियो । उहाँले हिमाल खबर पत्रिका, नागरिक दैनिक, आर्थिक अभियान, नेपाल समाचारपत्रजस्ता पत्रिकामा सम्पादकका रूपमा काम गर्नु भएको थियो ।

संवाहक, वन्दना, तन्नेरी साहित्यिक पत्रिकाहरू सम्पादन गर्नुका साथै कविता सोच, प्रतिनिधि नेपाली कथा र आत्मटिप्पणी, नेपाली राजनैतिक कथाहरूजस्ता कृतिहरूलाई सम्पादन गर्नु भएको थियो । उहाँका ती प्रयोगलाई नेपाली साहित्य क्षेत्रले निकै सुन्दर मानेको थियो ।

साहित्यपोस्टको शुरूवाती संघर्षका बेला हौस्याउने र आफ्ना सिर्जनाहरूलाई खुल्ला प्रयोगको छुट दिनु भएको थियो । उहाँको कविता सोच किताब शृंखलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशित भएको थियो । उहाँको पछिल्लो कृति ‘जन्तरमन्तर’ प्रकाशनका बेला पनि अप्रकाशित रचना दिई हौस्याउने गर्नुहुन्थ्यो । अभिभावकीय सल्लाह र सुझाव उहाँको निरन्तर रहने गरेको थियो ।

उहाँको आजै अन्तिम संस्कार गरिने परिवारस्रोतले जनाएको छ ।