कोभिड १९ ले संसारै त्रस्त बनाएको अवस्थामा यस अवधिमा महामारीसम्बन्धी लेखिएका पुस्तक उधिन्ने र नयाँ पुस्तक बजारमा ल्याउने होडबाजी नै चल्यो । यस अवधिमा निस्किएका पुस्तकहरूको चर्चा अरू बेला निस्कने महामारी बारेका पुस्तकहरूको तुलनामा निकै राम्रो भएको देखियो ।
सन् २०२० मा सबैभन्दा बढी चर्चा एडम कुचार्स्कीको ‘द रूल्स अफ कन्टाजियन’ले पायो । महामारी रोगहरू कसरी सर्छन्, त्यसको विधि के हो र ती कति घातक हुनसक्छन् भन्ने मिहिन रूपमा केलाइएको मात्र नभएर यस पुस्तकमा यसबाट बच्नका लागि कदम-कदममा चाल्न सकिने सावधानीका बारेमा समेत उल्लेख गरिएको छ ।
एडमले यस पुस्तकमा महामारीका बेला के कस्ता हौवा सिर्जना गरिन्छन् र खोपका पक्ष र विपक्षमा कसरी जनमत तयार हुन्छन् भन्नेबारे पनि टिप्पणी गरेका छन् । उनको यो पुस्तक २०२० को मध्यमा निस्किएको भए पनि यतिबेला यो पुस्तकले आँकलन गरेका कतिपय कुराहरू सत्य साबित भएका छन् । खासगरी महामारीबारे भाइरल बनाइएका सामग्री र उनको आँकलन सटीक बन्न पुगेको छ ।
यसैगरी न्यु साइन्टिस्ट पत्रिकाकी नियमित स्तम्भकार तथा लेखिका डेबेरा म्याकेन्जीले ‘कोभिड १९’ पुस्तकमा लामो समयदेखि वैज्ञानिकहरूले कसरी महामारी आउँदैछ भन्ने घोषणा गरेका थिए र अन्ततः त्यो कसरी पूरा भयो भन्नेबारे लेखेकी छन् ।
अहिलेको विश्वव्याधिको सबैभन्दा दुःखलाग्दो पक्ष चाहिँ पश्चिमा मुलुकका राजनीतिक नेता, सरकार तथा सरोकारवालाहरूले समयमै यस्ता कुरालाई गम्भीरतापूर्वक नलिनु हो ।
त्यसो त अर्को विज्ञान अनुसन्धान पत्रिका लान्सेन्टका सम्पादक रिचर्ड हर्टनले भने यसमा राजनीतिक नेताको असफलता भन्दा पनि सरकारका विज्ञान सल्लाहकारहरूको सबैभन्दा ठूलो कमजोरी देख्छन् । उनको ‘द कोभिड १९ क्याटस्ट्रफीः ह्वाट्स् गन रङ एन्ड हाउ टु स्टप इट ह्यापेनिङ अगेन’ पुस्तकले बेलायतमा यस अवधिमा भएको विज्ञान नीतिको सबैभन्दा ठूलो असफलता घोषणा गरेको छ । जनवरीसम्म आइपुग्दा वैज्ञानिकहरूसँग सबै किसिमका डाटाहरू उपलब्ध रहेका भए पनि ‘अर्थतन्त्र जोगाउने’ नाममा गरिएका कतिपय सम्झौताले समग्रतामै संकट उत्पन्न भएको टिप्पणी गरेका छन् ।
कोरोना भाइरस जनावरमा मात्र भएर त्यति खतरनाक साबित हुने होइन । तर जब यो भाइरस मानिसमा सर्छ र जुन किसिमको प्रणाली यसले बनाउँछ, त्यसले सबैलाई हानि पुर्याउँछ । ‘स्पिलओभरः एनिमल इन्फेक्सन्स एन्ड द नेक्स्ट ह्युमन पेन्डेमिक’ सन् २०१२ मा प्रकाशन भएको भए पनि सो पुस्तकमा डेभिड क्वामेनले गएका आधा शताब्दीमा कसरी महामारीहरू पोखिए भन्नेबारेमा खोतलखातल गरेका छन् । क्वामेनको पुस्तकको यस पटक निकै ठूलो माग भएर दोहोर्याएर छापियो, नत्र त उनको किताबबारे कसैले पनि चासोसम्म दिएका थिएनन् ।
जेडी स्मिथ कुनै वैज्ञानिक होइनन् तर पनि उनको निबन्ध संग्रह ‘कन्टेम्पट ए अ भाइरस’ निबन्ध निकै नै महत्त्वपूर्ण साबित भयो । उनको ‘इन्टिमेसन्स’ पुस्तकमा संग्रहित यो निबन्धले पनि राम्रै चर्चा पाएको थियो ।
यस्तै मार्क होनिग्सबउनको ‘द पेन्डेमिक सेन्चुरी’ पनि एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ जेष्ठ २०८३, बुधबार 










