कलाप्रेमीहरूलाई खुसीको खबर ! त त्यो खबर के छ भने बेलायतको द नेसनल ग्यालरीले मोबाइल मात्र चलाउनेहरूका लागि भनेर एउटा भर्चुअल प्रदर्शनी राखेको छ । यस प्रदर्शनीमा १६ औँ शताब्दीको उम्दा डच चित्रकलालाई मिहिन रूपमा मोबाइलमा नै दर्शकले दर्शन गर्न पाउने छन् ।

यसका लागि दर्शकले फोटोलाई जुम गरी मिहिन तरिकाले हेर्न सक्ने गरी बनाइएको छ । यो चित्रले जिसस क्राइस्टको जन्मको कथालाई सुन्दरतम् तरिकाले चित्रांकन गरेको छ ।

यो चित्रलाइ जन गोसर्टले बनाएका हुन् । चित्रको शीर्षक द एडोरेसन अफ द किङ्स् रहेको छ ।

यो चित्रलाइ लन्डनस्थित ग्यालरीमा गएको डिसेम्बरमा नै प्रदर्शनीमा राखिएको थियो । तर त्यतिबेला नै कोरोनाको लहर उर्लिएर आयो । यसपछि बेलायती सरकारले बाध्यकारी बन्दाबन्दी घोषणा गर्यो ।

बन्दाबन्दीका कारण विरलै दर्शकले सो चित्रकला हेर्ने अवसर जुटाउन पाए । यसैलाई ध्यानमा राखी नेसनल ग्यालरीले पहिलो पटक मोबाइल फोनमा नै सो अनुभव कला अनुरागीहरूले लिन पाऊन् भनी भर्चुअल ग्यालरी बनाएको हो ।

ग्यालरीको इन्नोभेसन प्रोग्राम अन्तर्गत यो प्रदर्शनीको अनलाइन संस्करण सिर्जना गरिएको एम्मा म्याफारल्यान्डले जनाएकी छन् । उनले नै यो अनुभव मोबाइल प्रयोगकर्तामाझ ल्याउनुपर्छ भनी धेरै समयदेखि पैरवी गर्दै आइरहेकी थिइन् ।

‘यस्ता प्रयोगमार्फत दर्शकहरूलाई र कला अनुरागीहरूलाई नयाँ अनुभव दिने, आनन्द र अर्थपूर्ण दर्शन दिने मात्र होइन, नयाँ नयाँ दर्शकसम्म पुग्ने बाटोहरू खोज्न हामीलाई प्रेरित पनि गरेको छ,’ एम्मा भन्छिन् ।

त्यसो त क्रिस्चियन धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड इस्टर नजिकिँदै गरेका बेला क्रिसमसको झल्को दिने यो चित्रको प्रदर्शनीलाई केहीले नरूचाए पनि यो प्रदर्शनीसँगै दर्शकले मोबाइलमार्फत चर्चित कवि थेरेसा लोलाको आवाजमा सो चित्रकलाको प्रशंसा सुन्न पाउने छन् ।

सन् १५१० र १५१५ को बीचमा बनाइएको यो चित्रकला लन्डन ग्यालरीमा सन् १९११ देखि झुन्डिदै आएको छ । बजार मूल्यभन्दा निकै कममा यसकी मालिक्नी नाइन्थ अर्ल अफ कार्लिस्लीले ग्यालरीलाई दिएकी थिइन् । यो चित्रको लोकप्रियता कति थियो भने धेरै वर्षसम्म यसैको क्रिसमस कार्ड नक्कल गरी बिक्री गरिन्थ्यो ।

मोबाइलमा मात्र होइन, छेउछाउका दर्शक तथा क्रेजी अवलोकनकर्ताहरूका लागि भने ग्यालरीले आउँदो मे १७ देखि १३ जुनसम्म यो चित्रलाई प्रदर्शनीमा राख्ने भएको छ । तपाईं पनि लन्डन ग्यालरी छेउछाउ पुग्नु भयो दुई हजार छ सयभन्दा बढी दुर्लभ चित्रकलाको मालिक यो ग्यालरीमा झुन्डिएको यो उम्दा सिर्जना पनि हेर्न नबिर्सनुस् है ?