
गएको वर्ष अमेरिकाको न्युयोर्क शहरमा आयोजित एक कार्यक्रममा छुरा घोपी हत्या प्रयास गरिएका लेखक सलमान रूस्दी आफू जोगिएकामा कृतज्ञ महसुस गरेका छन् । न्युयोर्कर म्यागेजिनलाई दिएको अन्तरवार्तामा उनले आफूले आफैँलाई भाग्यमानी सम्झेको बताएका छन् ।
७५ वर्षीय रूस्दीलाई गत वर्ष अगस्त १२ मा पश्चिमी न्युयोर्कस्थित चौताउका इन्स्टिच्युटमा भएको आक्रमणमा घाँटीमा छुरा प्रहार गरिएको थियो । उनलाई पटक पटक हानिएको छुराका कारण एउटा आँखा पूर्ण रूपमा क्षतिग्रस्तसमेत भएको बताइएको थियो ।
द सटानिक भर्सेस नामक उपन्यास बजारमा आएपछि अतिवादी मुस्लिमहरूले मार्नका लागि धार्मिक गुरूहरूले आदेश दिएका थिए । त्यसयता उनले वर्षौं लुकीलुकी जीवन बिताएका थिए ।
पछिल्लो आक्रमणपछि उनी अस्तालमा ६ साता बिताएका थिए । त्यतिबेला नै उनको एउटा आँखाले काम नगर्ने चिकित्सकहरूले घोषणा गरेका थिए । उनको एउटा हात पनि क्षतिग्रस्त भएकाले उनले सोको प्रयोग गर्न नसक्ने बताएका छन् ।
उनलाई आक्रमण गर्ने २४ वर्षे हादी मतारलाई प्रहरीले पक्राउ गरेको थियो । एक संवाद कार्यक्रममा प्रश्न सोधिरहेका कार्यक्रम सञ्चालकसमेत केही घाइते भएका थिए ।
उनलाई प्रहरीले अमेरिकी कानुनअनुसार सेकेन्ड डिग्री हत्या प्रयास र अर्को सेकेन्ड डिग्री आक्रमण गरी दुई वटा अभियोग लगाएको छ । सो अभियोगमा उनले कुनै बचाउ गरेका छैनन् । उनले रूस्दीमाथि आक्रमण गरेर उनीमाथिको फतवालाई आफूले रक्षा गरेको प्रतिक्रिया दिएका छन् । इरानी सर्वोच्च नेता आयोतुल्लाह खुमेनीले रूस्दीको उपन्यास द सटानिक भर्सेज सार्वजनिक भएयता उनका विरूद्ध फतवा जारी गरेका थिए । त्यसयता उनलाई कयौँ पटक हत्या प्रयास गरिएको थियो । यसपछि भने उनले लगभग एक दशक भूमिगत जीवन बिताएका थिए ।
न्युयोर्कर म्यागेजिनमा रूस्दीले हत्या प्रयासमा कुनै देश वा राजनीतिक दलको भूमिका नरहेको आफ्नो विश्वास उनले प्रकट गरेका छन् । ‘यो सिधासिधा एउटा युवाको सनकको कथा हो, यसमा कुनै पनि देश वा जाति वा धर्मलाई मुछ्नु उपयुक्त हुँदैन,’ उनले बताएका छन् ।
भारतमा जन्मिएका र अधिकांश समय बेलायतमा बिताएका रूस्दी पछिल्लो समय भने अमेरिकामा बिताइरहेका छन् । अमेरिकामा स्थायी बसोबास शुरू गरेयता उनले तुलनात्मक रूपमा बढी नै स्वतन्त्र र खुला जीवन बिताइरहेका थिए ।
आक्रमणपछि नजिकको अस्पतालका चिकित्सक र नर्सहरूले देखाएको सक्रियता र जीवन बचाउन खेलेको भूमिकाप्रति उनले कृतज्ञता व्यक्त गर्दै भनेका छन्, ‘केही बेला मलाई उनीहरूकहाँ पुगेर धन्यवाद दिन मन लाग्छ । उनीहरूको मिहिनेत बेगर म शायद ज्यूँदो हुन्न थिएँ होला ।’
उनीमाथि आक्रमण भएयता पत्नी एलिजा ग्रिफिथ तथा दुई छोरा जफार र मिलानको सहयोगले मानसिक स्वास्थ्य सुधार्न लागिपरेको समेत बताएका छन् । उनले आफ्नो सबैभन्दा घातक घाउ निको भएको समेत जानकारी दिएका छन् ।
उनको गत शुक्रबार नयाँ उपन्यास ‘भिक्ट्री सिटी’ बजारमा आएको छ र उनको सो उपन्यासको व्यापक प्रशंसा भइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

