हलिउड हडताल के हो ?
विगत दुई महिनादेखि सिनेमा लेखकहरूले आफ्नो लेखनको प्रत्याभूति माग गर्दै फिल्म कम्पनी तथा ठूला स्टुडियोहरूसँग पारिश्रमिकसमेत बढाइरहेको अवस्थामा तिनले आफ्नो कुरा नसुनेको भन्दै काम गर्न अस्विकार गरेको अवस्था हलिउड हडताल हो ।
को को हडतालमा उत्रिए ?
गएको बिहीबारदेखि अमेरिकाका कलाकारहरूको संगठन साग‑एफट्रा (स्क्रिन एक्टर्स गिल्ड र अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट) गरी दुई संगठनले एलायन्स अफ मोसन पिक्चर एन्ड टेलिभिजन प्रोड्युसर्स (एएमपिटिपी)सँग वार्ता गरे । सो वार्ता असफल भएपछि साग‑एफट्रामा संलग्न १ लाख ६० हजार सदस्यहरू हडतालमा उत्रिएका छन् । प्रख्यात कलाकारदेखि टेलिभिजनका एक्स्ट्रादेखि भिडियो गेममा बोलिदिने, रेडियो प्रस्तोता, मोडल तथा युट्युबका प्रभावशालीहरूसमेत यो हडतालमा भाग लिएका छन् । हुन त यो हलिउडको हडताल हो तर यसले वैश्विक नियमका लागि समेत जोड दिएका कारण ढिलोचाँडो अन्यत्र पनि यसले प्रभाव तुल्याउने बताइएको छ ।
रेडियो, भिडियो, फिल्मका सारा कामदारहरूको माग के हो ? माग किन सुनुवाई भइरहेको छैन ?
सन् २०२० को जुलाई महिनामा एउटा सम्झौता भएको थियो । सो सम्झौताअनुसार कलाकारहरू तथा अन्यको पारिश्रमिक पुनरावलोकन गरिने भन्ने थियो तर कोभिडका कारण त्यो लागू हुन सकेन । सम्झौता गएको जुन ३० तारिखदेखि सकिएको छ । सकिएलगत्तै फिल्मका लेखक तथा कलाकारहरूले आफ्ना माग मनाउन अभियान शुरू गरेका थिए । उनीहरूको मुख्य मागहरूमध्ये एउटा चाहिँ, कलाकार तथा लेखकहरूले टेलिभिजनहरूमा वा नेटफ्लिक्स लगायतका ओटिटी प्लेटफर्महरूमा सम्झौता सकिएपछि पुनः सम्झौता हुँदाका अवस्थामा उनीहरूले पनि रकम पाउनुपर्ने माग गरेका छन् । यसका साथै, आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी कलाकार वा लेखकहरूका सिर्जना उपयोग गरिएको अवस्थामा त्यसको समेत आम्दानी बाँडिनुपर्ने माग छ ।
यसैगरी नेटफ्लिक्सजस्ता ओटिटीमा फिल्म वा सिरिज कति पटक हेरियो, सोका आधारमा रकम बाँडिनुपर्ने माग पनि कलाकार र लेखकहरूको छ । तर नेटफ्लिक्स, अमेजन र डिज्ने प्लसजस्ता ओटिटीहरूले कति पटक हेरिएको हो भन्ने तथ्याङ्क कसैलाई पनि दिँदैनन् । यो आन्दोलन त्यसतर्फ पनि सोझिएको छ ।
ओटिटी र स्ट्रिमिङले सारा समस्या ल्याएको हो ?
एक हदसम्म ओटिटी र स्ट्रिमिङले बनिबनाउ व्यापारमा धेरै परिवर्तन ल्याइदियो । पहिले एक खास किसिमका दर्शकहरूका लागि मात्र फिल्म वा शृंखला बनाइन्थे । ओटिटीले भने विज्ञापनबाट भन्दा सिधै दर्शकबाट पैसा उठाउन थाले । पहिला रिपिट टेलिकास्ट (पुनः प्रसारण) भन्ने हुन्थ्यो, अहिले त्यो गायब भयो । पुनः प्रसारणको मानक नै भत्किएपछि पारम्परिक रूपमा पैसा कमाइरहेकाहरूको बाटो बन्द भयो । उता ओटिटीहरूले भने टिभीको भन्दा व्यापक व्यापार गर्ने बाटो विश्वभर खुला भयो । विश्वभर कमाई गरिरहेका कम्पनीबाट लेखक तथा कलाकारहरूले आफ्नो भाग खोजिरहेका हुन् ।
यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भूमिका के छ ?
छ महिनाअघिसम्म कसैले पनि एआईलाई महत्त्व दिएका थिएनन् । फिल्म उद्यमी र अभिनयकर्मीहरूले यसलाई अस्तित्वकै समस्या मानेका थिएनन् । कतिसम्म भने, ठूला स्टुडियोहरूले कलाकारको पृष्ठभूमिमा साना कलाकारहरू, तिनका तस्बिर, जीवनभर उपयोग हुने भन्दा कसैले पनि केही आपत्ति जनाउँदैनथ्यो । अब भने त्यस्तो हुँदैन । साना कलाकारहरू पनि आफूले एउटा दृश्यका लागि दिएका तस्बिर वा भिडियो सधैँभरि, जीवनभरि स्टुडियोले फाइदाका लागि उपयोग गर्ने तर शुल्क तिर्न नपर्ने हुनै सक्दैन भन्ने अडान लिन थालिएको छ ।
कलाकार धनी होलान् भनेको त विचरा पो रहेछन् !
अभिनय र खेलकुदमा लाग्नेहरूको अवस्था उस्तै हो । हेर्दा ठूलो नाउँ, कम दाम ! उनीहरूको नाउँका ठूला ठूला अक्षरमा समाचार बन्छ तर सबैको अवस्था उस्तो हुादैन । टम क्रुजले हरेक महिना मिसन इम्पोसिबल फिल्म बनाउन सक्दैनन् । जब बनाउँछन्, त्यसको आम्दानीले वर्षौं थेग्नुपर्ने हुन्छ । त्यसमाथि कलाकारका अनेक फन्डा !
एक पटक चर्चित हिरो म्याट डेमनले भनेका थिए, एउटा ठीकैको जीवन बाँच्नका लागि एउटा कलाकारले महिनामा २६ हजार डलर खर्चनुपर्छ । र, त्यत्तिको आम्दानी सानोतिनो मिहिनेतले कमाई हुँदैन ।
के उसो भए हलिउड हडतालपछि माग पूरा होला ? युनियन चैँ कत्तिको शक्तिशाली छ ?
साग‑एफट्राको हडताल हलिउडका लागि नराम्रो तमाचा हो । लेखकहरू कम प्रभावशाली हुन्छन् । उनीहरूलाई स्टुडियो वा ठूला निर्माताले नसुन्न सक्छन् तर कलाकारहरू बढी प्रभावशाली हुन्छन् । त्यसमाथि शृंखला वा फिल्ममा कुनै खास अभिनेतालाई लिनु नै पर्ने अवस्थामा तिनका कुरा मान्न निर्माता बाध्य हुन सक्छन् । अर्को पक्ष चाहिँ, अभिनेताको बलमा पैसा भित्रिने हुँदा उनीहरूले निर्माण प्रक्रियामा नराम्रो धक्का दिन सक्छन् ।
तत्कालै अन्य के प्रभाव पर्न सक्छ हडतालले ?
भर्खरै सुटिङ सकिएका फिल्मको प्रचार प्रसार गर्न कलाकारहरू बाँधिएका छन् हडतालपछि । प्रचारप्रसार बन्द भएपछि सामाजिक सञ्जालमा मात्र सीमित हुनसक्छ । कलाकारको उपस्थिति नभएपछि हिरोले तान्ने फिल्महरूको गतिविधि शून्य हुन्छ र त्यसको प्रभाव फिल्मको व्यापारमा पुग्ने निश्चित छ । त्यसै पनि गत शुक्रबारदेखि यस्ता सारा गतिविधिहरू ठप्प भएका छन् ।
ठूला फिल्म फेस्टिभलमा के असर पुर्ला ?
अबका केही साता वा महिनापछि विश्वभर चर्चित फिल्म फेस्टिभल आयोजन हुँदैछन् । भेनिस, टोरन्टो, टेलुराइडजस्ता फिल्म फेस्टिभलको मुख्य आकर्षण नै कलाकार हुन्छन् । कतिपय फिल्म यस्ता उत्सवमै जारी गर्ने तयारीमा रहेका निर्माताका लागि अप्ठेरो हुनेछ र कम फिल्मले सहभागिता जनाउने छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।