धूपदीप बालिराख्यौ को आउँदैछ आज
हातका औँला चालिराख्यौ को आउँदैछ आज
हिजोअस्ति उप्किएका घरका छेउकुनो
बिहानदेखि टालिराख्यौ को आउँदैछ आज
एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त
सिङ्गै फूलको डाली राख्यौ को आउँदैछ आज
भन्ने कवि आज यस संसारबाट बिदा लिएका छन् । गजलकार प्रकट पंगेनी ‘शिव’को पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको छ।
वैशाख ४ गते दिउँसो उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो।
गजल, गीत, कवितामा बढीजसो कलम चलाउनु हुने उहाँको खास परिचय श्रृङ्गारिक गजलले दिएको थियो ।
उहाँका करिब ६० वटा गीत रेकर्ड गरिएका छन् । ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनाललाई’ गीत संग्रह तथा ‘प्रणयवेदका ऋचाहरू’ गजल संग्रह सँगै ‘अक्षरभरि अक्षता’ कविता संग्रह प्रकाशित छन्।
उहाँका पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको उपचार निकै क्लिष्ट भएपछि साहित्यजगतले आर्थिक सहयोग सङ्कलन शुरू गरेकत्र थियो । पोखरा महानगरपालिकाले एक लाख रूपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको थियो । पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले २५ हजार राखी उपचार कोष स्थापना गरेर सहयोगका लागि आह्वान गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










