गीतकार तथा फिल्म निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा कोभिड १९ का कारण निधन भएको छ। उहाँको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।

हिजो दिउँसोदेखि अक्सिजनको कमी भएपछि उहाँलाई इमर्जेन्सीमा राखिएको र आज बिहान १०:२५ मा उहाँको निधन भएको विभिन्न समाचारहरूमा जनाइएको छ ।

दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आउनुभएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उहाँको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो।

सैनिक पृष्ठभूमि भएको परिवारमा जन्मनु भएका उहाँले भारतको देहरादुनमा अध्ययन गर्नुभएको थियो ।

सानै उमेरदेखि नेपाली लोकसंगीत र संस्कृतिमा रुचि राख्ने उनले गीतकार, कवि, निर्देशक र नेपाली लोक-संस्कृतिको अध्येताका रुपमा नाम कमाउनु भएको थियो ।

‘परिवर्तन’ सिनेमाको पटकथा र गीत लेख्नु भएको कार्कीले विश्वास, भूमरी र पहिलो प्रेम जस्ता फिल्म निर्देशन गर्नुभएको थियो ।

खासगरी तीजको रहर आयो बरी लै गीतका लागि सधैँ स्मरण गरिनेछ । त्यस्तै दाइलाई बोलाउँ भने लेकस्वर पुग्दैन, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता अनेकन् गीतका स्रष्टाका रूपमा पनि उहाँलाई चिनिन्छ ।

उहाँका गीति संग्रह, कथा, कविता र उपन्यासमा कलम चलाउनु भएका उहाँका हिन्दी र उर्दू कविता संग्रहसमेत प्रकाशित छन्।

उहाँका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की हुनुहुन्छ ।