तेजनाथ घिमिरे

कवि तेजनाथ घिमिरेको ८३ वर्षको उमेरमा गएराति निधन भएको छ । गएराति २ः१२ मा उहाँको निधन भएको छोरा प्रकाश घिमिरेले जानकारी दिनुभयो । वि.सं. १९९६ असोज १ गते जन्मिनुभएका साहित्यकार घिमिरे ६ दशकभन्दा लामो समयदेखि साहित्य साधनामा क्रियाशील हुनुहुन्थ्यो ।

पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा निवासमै निधन भएको हो ।

घिमिरेका श्रीमती, पाँच छोरा, दुई छोरी हुनुहुन्छ । उहाँको आजै ९ः३० बजे निवासबाट शवयात्रा निकालियो र सतीनदी किनार तुलसी घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

लामो समय शिक्षण पेशामा आबद्ध घिमिरेले पोखराको पत्रकारितामा पनि संलग्न हुनुहुन्थ्यो । नेपाल शिक्षक संघ कास्कीका संस्थापक अध्यक्ष घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो ।

२०२२ सालमै गण्डकी बृहत् साहित्य सम्मेलनमा स्वर्ण पदक विजेता घिमिरेले दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, अवलोकन प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार–२०६२, गण्डकी बृहत् साहित्य सम्मेलन-२०२२ (प्रथम), राष्ट्रिय मुक्तक पुरस्कारलगायत एक दर्जन भन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका थिए ।

उनको निधनप्रति पोखराका साहित्यकार एवं कलाकारहरूले सामाजिक एवं विभिन्न माध्यममार्फत दुःख व्यक्त गरेका छन् ।