७० भन्दा बढी बाल पुस्तकका सर्जक एरिक कार्लको ९१ वर्षको उमेरमा गएको आइतबार अमेरिकामा निधन भएको छ ।

सन् १९६९ मा प्रकाशित उनको पहिलो पुस्तक द भेरी हङ्ग्री क्याटरपिलर संसारभरि ५ करोडभन्दा बढी बिक्री भइसकेको छ । जम्मा २२४ शब्दको यो बाल पुस्तक संसारका ६२ भाषामा अनुदितसमेत भइसकेको छ ।

मृगौलाको समस्याका कारण निधन भएका कार्लले ३० वर्षको उमेरमा यो पुस्तक लेखेका थिए । यो पुस्तक किन यत्ति धेरै लोकप्रिय भयो स्वयंलाई थाहा नभएको प्रतिक्रिया उनले बारम्बार दिइरहन्थे ।

पछि उनले महसुस गरे कि यो पुस्तक एउटा झुसिल्किराको बारेमा मात्र होइन, जीवनमा आशाको बारेमा हो ।

जर्मनीबाट अमेरिकामा भविष्य खोज्न आएका दम्पतिबाट जन्मिएका कार्ल पछि जर्मनी नै फर्कनु पर्यो । उनको बाल्यकाल जर्मनीमा त्यति सुखद् रहेन । उनका बुवा दोस्रो विश्वयुद्धमा रूसी सेनाबाट पक्राउ परे । रोगी आमा र युद्धबन्दी बुवाको मिल्ती हुन नसक्दा उनी एक्लोपनलाई साथी बनाउने बालकका रूपमा हुर्किए ।

१५ वर्षको उमेरमा उनी अमेरिका फर्किए र ग्राफिक डिजाइनरका रूपमा विभिन्न ठाउँमा काम गरे ।

जीवनमा दुई वटा बिहे गरेका उनका दुई सन्तान छन् ।

उनले भोको झुसिल्किराको चित्र र कथा लेख्नुअघि बिल मार्टिन जुनियर नामक एक लेखकका लागि चित्र बनाएका थिए । बिल मार्टिनको ब्राउन बियर, ब्राउन बियर, ह्वाट डु यु सी ? सन् १९६७ मा बजारमा आएको थियो । यो किताबको भव्य सफलताले उनलाई आफैँ पुस्तक लेख्न र चित्र कोर्न प्रेरित गरेको थियो ।

यो पुस्तकको सफलताको अर्को कारण चाहिँ झुसिल्किराले खाएको फल दुलो पर्नु र ठ्याक्कै दुलो परेकै किताब प्रकाशन गर्नु पनि एक रह्यो । उनी ग्राफिक डिजाइनका विज्ञ भएकाले पनि डिजाइनमा खेल्ने र नयाँ शैली र शिल्पका पुस्तक निकाल्नेमा निकै ध्यान दिन्थे ।

उनका अन्य चर्चित बाल पुस्तकहरूमा द मिक्स्ड अप च्यामलियन, द ग्रची लेडीबग, द भेरी बिजी स्पाइडर, द भेरी क्वायट क्रिकेटजस्ता पुस्तकहरू पर्छन् ।

उनले त एक समय वर्षको एउटा पुस्तकसमेत लेखेर बजारमा ल्याए ।

उनले आफ्नो पुस्तक निकै हिट भएपछि ६५ वर्षको उमेरमा एरिक कार्ल म्युजियम अफ पिक्चर बुक आर्ट खोले । अमेरिकामा बाल साहित्यको पिक्चर बुकको यो सबैभन्दा ठूलो सङ्ग्रहालय हो । यो सङ्ग्रहालयमा उनले आफ्ना पुस्तकहरूको एक भाग पनि निर्माण गरेका छन् ।

उनको सङ्ग्रहालयमा हाल १० हजारभन्दा बढी मूल चित्रहरू सङ्कलन गरिएका छन् । यहाँ चित्र मात्र हेर्न पाइन्न, शिक्षकहरूलाई तालिम दिने र यस्ता बाल पुस्तक कसरी पढाउने भनी सिकाइन्छ पनि ।

उनका सबै पुस्तकहरू १५ करोड २० लाखभन्दा बढी बिक्री भएका छन् ।

‘म बालबालिकाहरूबाट प्रेरणा लिन्नँ, खासमा म आफैँ केटाकेटीजस्तो छु र मेरो प्रेरणा मै बन्न पुगेको छु,’ उनी भन्ने गर्थे ।

२५ जुन १९२९ मा जन्मिएका उनको देहान्त मे २३ मा भएको थियो ।

बाल साहित्यमा उनको योगदानलाई लिएर सन् २००३ मा उनलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो ।

आउनुस्, उनको सबैभन्दा चर्चित झुसिल्किराको कथा कस्तो थियो, एक नजर लगाऔँः