
एक जना बलिउड स्टारले क्यामेराका अगाडि अश्लील हाउभाउ र देह प्रदर्शन गर्छिन्, अनि अर्का एक कलाकारले भने आफ्ना केही सीमित झुण्डमाझ आफ्नो तामझाम देखाउँछन् ।
तर यी दुवै भिडियो जुन हालै भाइरल भएका थिए, तिनको साझा समस्या थियो, ती वास्तविक भिडियो थिएनन् । ती नक्कली भिडियो थिए तर यति वास्तविक देखिन्थे कि तिनको हलचल निकै ठूलो थियो ।
वास्तविकझैँ देखिने त्यस्ता भिडियोलाई डिपफेक भनिन्छ ।
यस्तो डिपफेक भिडियोको शिकार रस्मिका मान्दाना, प्रियंका चोपडा जोनास र आलिया भट्ट कपुर लगायत अन्य भएका छन् । ती भिडियोमा उनीहरूको अनुहार प्रयोग भएका छन् भने शरीर अरूकै प्रयोग भएको छ ।

रस्मिका मन्दाना
यस्ता डिपफेकमा सामाजिक सञ्जालबाट अनुमतिबिना नै तस्बिर लिइएका हुन्छन् र तिनलाई उपयोग गरिएका हुन्छन् । यसको मुख्य उद्देश्य भाइरल बनाउनु हुन्छ ।
यसअघि हलिउडमा यस्ता काम धेरै भएका छन् । शुरूमा नताली पोर्टम्यान र एम्मा वाटसनजस्ता प्रख्यात अभिनेतृ शिकार भएका थिए ।
तर पछिल्लो समयमा भने एआई (आर्टिफिसियल इन्टेलिजेन्स)का कारण नक्कली भिडियो र अडियो बनाउन निकै सजिलो भएको छ । सामान्य एपका माध्यमबाटै वास्तविकझैँ लाग्ने नक्कली भिडियो र अडियो बनाउन केही सेकेन्ड मात्र लाग्ने गरेको छ ।
यस्ता नक्कली अडियो र भिडियोलाई सिन्थेटिक भिडियो वा अडियो भनिन्छ । यो बनाउन अचेल निकै सस्तो र सजिलो पनि भएको छ ।
पहिला हलिउडका अभिनेत्रीहरूको भिडियो बनाइन्थ्यो, अचेल बलिउड केन्द्रमा परेको छ । किन त ? ‘भारतमा युवाको संख्या यति धेरै छ कि उनीहरूलाई लोभ्याउन सजिलो भएको छ,’ एआई विज्ञ आरति समानी भन्छिन्, ‘बलिउडका सेलिब्रिटीप्रति हुरूक्क हुने पुस्ता निकै ठूलो छ । यसैलाई केही छट्टुहरूले पैसा, क्लिकबट आदिका लागि दुरूपयोग गरिरहेका छन् ।’

प्रियंका चोपडा जोनास
यस्तो भिडियो किन बनाइन्छ त ? किनभने जसले यस्ता भिडियोमा क्लिक गर्छन्, तिनको जानकारी र डेटाहरू लिन सजिलो हुन्छ । यस्ता संकलित डेटाहरू अरूलाई बेचिन्छ ।
पहिला यस्ता काम अश्लील भिडियो बनाउन उपयोग गरिन्थ्यो । अचेल भने यस्ता भिडियोलाई जसरी पनि दुरूपयोग गर्न सकिने भएको छ ।
केही समयअघि २७ वर्षीया बलिउड अभिनेत्री रस्मिका मन्दानाको अनुहार जोडेर एउटा अश्लील आशयको भिडियो सार्वजनिक भएको थियो । पछि जब यो भिडियो भाइरल भयो, एक जना पत्रकारले फ्याक्टचेक गरेर अल्टन्युजमा समाचार छापे कि वास्तवमा यो भिडियो डिपफेक हो ।
मन्दानाले पछि सामाजिक सञ्जालमा लेखिन्, यस्तो कार्य निकै आतंकित पार्ने किसिमको गतिविधि हो ।
अर्को एउटा भिडियो पनि छ, प्रियंका चोपडाको । उनको भिडियोमा अनुहार छेडछाड गरिएको छैन । मात्र, उनको आवाजमा छेडछाड गरिएको छ र एउटा व्यापारिक सन्देश हालिएको छ । यस्तो कार्यका लागि प्रियंकाले करोडौँ रूपैयाँ लिन्छिन् तर यही कामका लागि एउटा अडियो बंग्याउँदा मात्र पनि करोडौँको फाइदा भयो ।
यस्तै आलिया भट्टको भिडियो भनी भाइरल भएको एउटा भिडियोमा आलियाजस्तै एउटी युवतीले अश्लील हाउभाउ देखाएकी छन् । उनी मात्र होइन, कट्रिना कैफको पनि भिडियत्र पनि आपत्तिजनक छ ।
नायिका मात्र होइन, रतन टाटाको भिडियो पनि बनाइएको छ र त्यसमा उनले लगानीका लागि सुझाव दिइरहेको पाइन्छ । तर यस्तो डिपफेकले पुरूषलाई भन्दा महिला कलाकारलाई बढी असर पारिरहेको प्रत्यक्ष देखिन्छ ।
सेन्सिटीभिटी एआई नामक अनुसन्धान कम्पनीले डिपफेकबाट बनाइएका ९० देखि ९५ प्रतिशत अश्लील भिडियोहरू बिना स्वीकृति बनाइएका छन् । यी सबै भिडियोले महिलालाई नै तारो बनाएका छन् ।
र, यही कुरा निजत्वको रक्षा गर्ने एउटा भारतीय कम्पनी विप्रोकी ग्लोबल चिफ प्राइभेसी अफिसर इभाना बार्टोलिटीको चिन्ताको विषय हो । उनी भन्छिन्, ‘जुन रूपमा महिलालाई लक्षित गर्दै यस्ता अश्लील डिपफेक बनाइँदैछ, त्यो आतंकित पार्ने किसिमले बढ्दैछ ।’
‘यस्ता भिडियो किन बनाइँदैछ भने यसको बजार ठूलो छ । यस्तो बनोस् भन्ने चाहना राख्नेहरूको संख्या बाक्लो छ । जहाँ ठूलो संख्या छ, त्यहाँ ठूलो पैसा छ । त्यसैले यस्ता भिडियो बन्ने क्रम शुरू भएको छ र अझ बाक्लिँदै जानेछ,’ उनी भन्छिन् ।
यस्ता नयाँ प्रविधिले सधैँ महिलालाई नै तारो बनाउने हुनाले महिलाका लागि दिक्दारी अझ थपेको समानी बताउँछिन् ।
यस्तोमा समाधान के हुनसक्छ भन्ने मन्थन धेरै पहिलादेखि भइरहेको छ । जस्तो कि, यस्ता गलत सूचना प्रसार हुनबाट रोक्नका लागि सामाजिक सञ्जालले निकै मिहिनेत गर्नुपर्ने कुरा उठिरहेका छन् । डिपफेकले बलिउडका कलाकार मात्र होइन, राजनीतिज्ञ, व्यापारी/व्यवसायी र अन्यलाई पनि सताइरहेको छ । यसले व्यक्ति मात्र होइन, लोकतान्त्रिक व्यवस्थाको एक हदसम्म दुरूपयोगसमेत भइरहेको छ । खासगरी जब चुनाव आउन थाल्छ, यसको चरम दुरूपयोग हुने गरेको छ ।
यसको उपचारका लागि यस्ता डिपफेक पहिचान गरी प्रसार हुनबाट रोक्नका लागि सामाजिक सञ्जाल नै उत्तरदायी हुनु जरूरी रहेको विज्ञहरू बताउँछन् ।
रोचक त के छ भने, जब रस्मिका मन्दानाको डिपफेक भिडियो सार्वजनिक भयो, निकै कम पुरूषले यसविरूद्ध आवाज उठाए । जबकि सर्वत्र यसका विरूद्ध आवाज उठाउनुपर्ने थियो । विज्ञहरू भन्छन्, ‘आज कुनै नायिकामाथि भएको डिपफेक आक्रमण भोलि आफ्नै परिवारमाथि पनि हुने हुनाले सबै पुरूषले एक मुखले यसका विरूद्ध आवाज उठाउनुपर्छ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

