कविराज पोखरेल

अग्रज गजलकार कविराज पोखरेलको मंगलबार विराटनगरमा निधन भएको छ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित पोखरेलको ५७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

पोखरेल तीसको दशकदेखि नेपाली साहित्यमा सक्रिय थिए । लामो समय नेपाल बैंकमा काम गरेका उहाँ गजल र कविता लेखनमा अब्बल मानिनुहुन्थ्यो । उहाँका ‘नायिका’ खण्डकाव्य, ‘झण्डाहरू फाटेपछि’, ‘घरपट्टीकी छोरी र गल्लीहरू’ गजलसङ्ग्रह प्रकाशित छन् ।

उहाँ प्रदेश सरकारसहित विभिन्न संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसक्नु भएको छ । दाजुकै प्रेरणाबाट साहित्यमा लागेको बनाउने सहोदर भाइ भेषराज पोखरेलले परिवारले नै अभिभावक गुमाएको बताउनुभयो । कविराजले गजल लेखनमा छुट्टै पहिचान बनाउनुभएको छ । विराटनगरले एउटा सशक्त स्रष्टालाई गुमाएको अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रतिक्रिया छ । “छन्द साहित्य र गजल लेखनमा कविराजजीको छुट्टै पहिचान थियो,” पोखरेलले भन्नुभयो, “गजल साहित्यका लागि अपूरणीय क्षति पुगेको छ ।”

युवा र नयाँ पुस्ताका लागि उनी प्रेरक रहेको युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितको भनाइ छ । पोखरेलले नयाँ र युवा लेखकलाई अगाडि बढ्न सधैं हौसला दिने गरेको नवोदितले स्मरण गर्नुभयो । साहित्यप्रति हुरुक्कै हुने उहाँ शारीरिक रूपमा अस्वस्थ हुँदाहुँदै पनि विराटनगरका विभिन्न साहित्य गोष्ठीहरूमा उपस्थिति जनाउन छाड्नु हुन्नथ्यो । पोखरेलका श्रीमती कौशल्या, छोरा किन्जल र छोरी कृतज्ञा हुनुहुन्छ । उहाँको मंगलबार नै विराटनगर होटखोलास्थित विश्रान्ति घाटमा अन्त्येष्टि गरिएको छ ।