प्रसिद्ध शिक्षाविद् तथा साहित्यकार अंगुरबाबा जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। १७ वर्षअघि घाँटीको क्यान्सर देखिएको उनलाई पछि पुनः स्तन क्यान्सर पनि भएको थियो। उनको न्युरो अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज दिउँसो निधन भएको जनाइएको छ।
शिक्षाविद्को रुपमा समेत प्रसिद्ध जोशीका कल्पना (कथा संग्रह), डा. बलराम जोशी सम्झनाको सँगालो, मुक्ति मुक्तकमाला (सूक्तिहरू), के लेखूँ?, भाव तरङ्ग (कविता), क्यान्सरको वरदान (आत्मानुभाव), चिन्तन (लेख र अन्तरवार्ता संग्रह), क्रन्दन, सुख के, किन र कसरी (दर्शन), दीक्षा (सूक्तिहरू), अक्षर साधना र गोधूलि (आत्मकथा) प्रकाशित छन्। उनलाई २०७२ सालमा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार समेत प्रदान गरेको थियो।
नेपालमा छात्रा शिक्षाको क्षेत्रमा उनको योगदान स्मरणीय मानिन्छ। उनकै अगुवाईमा काठमाडौँमा पद्मकन्या क्याम्पस स्थापनामा भएको थियो। गेरू रङको सारी पद्मकन्या क्याम्पसको ब्रान्ड बनाउने श्रेय पनि उनैलाई जान्छ।
सन् १९३२ अगस्त १५ मा काठमाडौँ डिल्लीबजारमा जन्मिएकी उनले २००७ सालमा एसएलसी पास गरेकी थिइन्। ११ वर्षको उमेरमा बलराम जोशीसँग विवाह भए पनि उनले विवाहपछि पतिसँगै बनारसबाट राजनीतिशास्त्र र संस्कृतमा शास्त्रीसम्म अध्ययन गरेकी थिइन्।
त्यसपछि उनले बेलायतबाट कानुन अध्ययन गरी पहिलो महिला अधिवक्ता बन्न सफल भएकी थिइन्। उनको खातामा पहिलो क्याम्पस प्रमुख बन्ने श्रेयसमेत सुरक्षित छ।
उनका दुई छोरी प्रभा र ज्योति तथा एक छोरा किरणराज जोशी तथा बुहारी रूपा जोशी छन्। उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।