अग्रज साहित्यकार तथा छन्दकवि शंकर पौडेलको ७६ वर्षको उमेरमा निधन भएको छ । छन्द कवि पौडेलको २००४ साल दाङको लक्ष्मीपुर -७ सुनपुरमा जन्म भएको थियो।

लामो समयसम्म साहित्यमा साधनारत छन्दकवि पौडेलका स्वर्गद्वारी(खण्डकाव्य-२०५०) आमा (खण्डकाव्य-२०५२) जीवन (शोक काव्य) र फूलबारी (कवितासङ्ग्रह) प्रकाशित छन्।

२०५२ साल फागुन ७ गते लेखक सङ्घ दाङको
संस्थापक अध्यक्ष रहनुभएका पौडेल लामो समयसम्म लेखक सङ्घको अध्यक्ष भएर साहित्यको विकासमा लाग्नुभएको थियो। उहाँ अहिले लेखक सङ्घ दाङको सल्लाहकारको रूपमा समेत रहनुभएको थियो।

लामो समयसम्म सरकारी सेवामा रहेर काम गर्नुभएका पौडेल अग्रज छन्दकविको नामले चिनिँदै आउनुभएको थियो। उहाँका राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा रचनाहरू प्रकाशित हुँदै आएका विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा छापिएका रचनाहरूलाई संकलन गरेर प्रकाशनको तयारीमा लाग्नुभएका पौडेलको सपना भने अधुरै रह्यो। उहाँको यही माघ १० गते गृह जिल्ला दाङमै निधन भएको छ ।