साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक बद्रीप्रसाद ढकालको नवीनतम कृति ‘पौराणिक सूक्तिहरु’ प्राप्त भएकाे छ ।

पुस्तकमा हितोपदेश, शुक्रनीति, मनुस्मृति, विदुरनीति, नारदभक्ति सूत्र, भर्तृहरि नीति, उपनिषद्, विवेक चूडामणि, अष्टावक्र गीता, महाभारत, महाभारत, चाणक्यनीति, श्रीमद्भागवत, वेद, चरक संहिता, पूर्वीय दर्शन, यात्रवल्क्य स्मृति, देवीभागवत तथा विभिन्न पुराणहरुका सूक्तिहरुको व्याख्या गरिएको छ ।

पुस्तकलाई नीतिगत सूक्तिहरुका आधारमा १६ अध्यायमा बाडिएको छ । पहिलो अध्यायका रुपमा ‘बाह्मण लक्षणम्’बाट सुरु भएको पुस्तक सोह्रौँ अध्याय ‘चारवेदका सूक्तिहरु’मा पुगी समापन भएको छ ।

‘वैदिक परम्परा संसारको ज्यादै प्राचीन परम्परा हो, जसमा जीवनका सबै पक्षहरुको ज्ञान समाहित छ । आर्य समाजको सभ्यता, धर्म, दर्शन, रीति–रिवाज, आचारविचार, संस्कृति, रहनसहन सबैको मुख्य आधार वेद हो, पुराण हो ।’, आफ्नै कुरामा लेखक ढकाल लेख्छन्, ‘वैदिक साहित्यका अन्य पुराण, उपनिषद्, ग्रन्थ हुन जसले एउटा संस्कृति नै निर्माण गरेको छ त्यसलाई वैदिक संस्कृति मानिन्छ । यसैबाट वैदिक धर्मको उद्भाव भयो, जसको स्वरुप सनातन भएकाले यसलाई सनातन धर्म पनि मानिन्छ, जुन परम्परा पन्ध्र हजार वर्षदेखि निर्विघ्न रुपमा चलिआएको छ । समय–समयमा यसको धार्मिक परम्पराहरु तथा रीति–रिवाजहरुमा परिवर्तन भयो, तर यसको मूल्य स्वरुपमा कुनै किसिमको परिवर्तन भएन । यसको शाश्वत मूल्य र मान्यता आजसम्म पनि त्यही रुपमा विद्यमान रहेको छ आज पनि उत्तिकै उपयोगी छ । यी मूल्य र मान्यता सबैका लागि महत्त्वपूर्ण छन् । जीवन उपयोगी भएकाले यो संस्कार र संस्कृति आजसम्म पनि जीवित रहन सफल भएको छ ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ३२ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य २ सय ९० रुपियाँ रहेको छ ।