लेखकद्वय श्रीकृष्ण श्रेष्ठ र शर्मिला बगालेद्वारा लिखित पुस्तक हो – ‘अन्तर्बोधः जीवन चेतना र अनुभूति’ । सत्रवटा खण्डमा संयोजित यस पुस्तक विशुद्ध आध्यात्मिक चिन्तनमाथिको विमर्श मात्र होइन, यो चेतना र विचारका कुरा पनि प्रशस्त छरिएको पाइन्छ ।

“यो पुस्तकले उजागर गरेको अर्को पक्ष विद्यावारिधि शोधनिर्देशन भनेको विषय र विधिको प्राविधिकतामा सीमित कुरा होइन भन्ने हो । नयाँ चेतना र चिन्तनले उसको सोच सिञ्चितन हुनुपर्छ, अध्येताको सोचमै रूपान्तरण चाहिन्छ । चलनचल्तीको शोधनिर्देशक र शोधार्थीका लागि यो पुस्तक असान्दर्भिक पनि लाग्न सक्छ ।” पाठकीय अनुभूतिमा कृष्ण खनाल लेख्नुभएको छ, “किनभने यसमा तिनले अपेक्षा गर्ने प्राविधिक कुरा जस्तै शोधविधि, संरचना, तथ्यको सांख्यिकी विश्लेषण जस्ता कुरा छैनन् । यहाँ त समग्र जीवन दर्शनमाथि विमर्श छ । शोध र ज्ञान उपयोगिताको विवेचना छ ।”

पुस्तकको बारेमा हरि गौतम लेख्नुभएको छ, “यो पुस्तक आफूभित्र उठेका जिज्ञासालाई अनुसन्धान, खोज र सत्यबीचको तादात्म गरी समुचित ज्ञानको समन्वय र तालमेलबाट आत्मान्‌भूत गरिनेछ । यो विशुद्ध दर्शनलाई व्यावहारिक जीवनोपयोगी बोध गर्ने सिलसिलामा उत्पन्न भएका जिज्ञासाका एक अभ्यास हो । यो व्यावहारिक दर्शनबाट जीवनमा आधारित समाजको रूपान्तरणको आधार हो । यस अध्ययनले सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणका साथै नेतृत्वको समेत शुद्धीकरण गर्नु यसको ध्येय रहनेछ ।”

पुस्तकलाई ओरियन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । १ सय ८१ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ४ सय ९५ रुपियाँ रहेको छ ।