प्रिय पाठकहरू,
तपाईंहरूले एउटा सैनिकलाई
मेरो कवितामा घुम्दै गरेको देख्नुभयो भने
विश्वास गर्नु कि
मैले उसलाई उसकै भाग्यमा छोडिदिएको छु ।
जसरी मैले एउटा अपराधीलाई छोडिदिएको छु
उसका बाँकी रहेका थुप्रै वर्षहरूका साथ
तिनले नै उसलाई मृत्युदण्ड दिनेछन् ।
(पृ. १४, हत्यारा सैनिकहरूलाई, अहलाम बशारत)

चुनिएका प्यालेस्टाइनी कविताहरूको नेपाली सङ्ग्रह हो, ‘आमाहरू कहिल्यै निदाउँदैनन्’ । यसको अनुवाद चन्द्र गुरुङले गरेका हुन् । गुरुङ विभिन्न समयमा लेखिएका फरक फरक कविका ४९ थान कवितालाई नेपालीमा अनुवाद गरी सङ्ग्रहको रूप दिइएका हुन् ।

‘प्यालेस्टाइनी जनताले भोगेको पीडा र अनुभूत गरेको आशा–निराशा सबै त्यहाँका कवि लेखकका सिर्जनामा स्पष्ट आइरहेका छन् ।’, पुस्तकमा गुरुङ लेख्छन्, ‘उनीहरूले ती भयावह अनुभवहरूलाई कविता, कथा र उपन्यासमा उतारी विश्व समुदायसम्म पस्किइरहेका छन् । आफूहरूले झेल्नुपरेको अपमान, छलकपट, उत्पीडन र अन्याय सबैलाई उनीहरूले सिर्जनात्मक रूपमा प्रस्तुत गरेका छन् । त्यस भूमिमा सिर्जित साहित्यमा उनीहरूको व्यथा प्रस्फुटित छ । साहित्यमा उनिएका पीडा, मन छुने अभिव्यक्ति एवम् मार्मिक रचनाहरूमा त्यहाँको समाज र दुःखको स्पष्ट अभिव्यक्ति छ । आशा र आत्मविश्वासको नयाँ पहाड उभ्याइएको छ, प्यालेस्टाइनी साहित्यमा । विश्व साहित्यमा आजको प्यालेस्टाइनी साहित्यको छुट्टै स्थान छ ।’

इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कवितासङ्ग्रहको मूल्य ३ सय ९९ रुपियाँ रहेको छ ।