साहित्यकार हरि अधिकारीको संवाद–सञ्चयन रहेको पुस्तक हो ‘संवादमा समयविम्ब’ । यस पुस्तकमा मेहश्वर शर्मा, देवीचन्द्र श्रेष्ठ, मुकुन्द शरण उपाध्याय, कृष्णभक्त श्रेष्ठ, अभि सुवेदी, गौरीबहादुर कार्की, डा. विमल कोइराला, कृष्णप्रसाद भण्डारी, भारती शर्मा, डा. तिलकबहादुर रावल, एन.के. प्रसाई, रीता परियार, रेशम विरही, डा. भरत श्रेष्ठ, महेश आचार्य, डा. मणीन्द्ररञ्जन बराल, विष्णु हुमागाईं, होमराज आचार्य, भुवन कोइराला ढुङ्गाना र चिरञ्जीवी वाग्लेसँगका संवादहरु सङ्ग्रह गरिएको छ । संवादसारथिका रुपमा प्रस्तुत भएका छन् हरि अधिकारी ।

‘आजको मानव–समाजको जटिल स्वरुपलाई समग्रमा पूर्ण प्रभावकारी ढङ्गले शब्दचित्रमा उतार्न प्रयत्नरत कुनै पनि सर्जक एक्लैको अन्तर्दृष्टि, पर्यवेक्षण, अनुभव र अनुभूति मात्र पर्याप्त हुँदैन भन्ने निचोडमा पुगेपछि मैले यो ग्रन्थको परिकल्पना गरेको हुँ ।’, पुस्तकका बारेमा संवादसारथि अधिकारी लेख्छन्, ‘आजको समय र समाजलाई राम्रोसँग बुझेका, यी दुवै परिस्करण र समुन्नतिका लागि व्यैयक्तिक स्तरमा सार्थक हस्तक्षेप गर्दै आएका, आफ्नो पेशागत क्षेत्रमा उल्लेख्य योगदान दिएका तथा आर्जन गरेको अनुभव र समयचेतका दृष्टिले समेत उदाहरणीय नेपालीहरुमध्ये २० जना विशिष्ठ व्यक्तित्वहरुसँग अन्तरङ्ग संवाद गरी त्यसको दर्पणमा आजको समय र समाजको अभिलेखन गर्ने हेतुले परिकल्पना गरिएको यो ग्रन्थले आजका सर्वसाधारण नेपालीहरुका सोच, चिन्ता र सरोकारलाई व्यापक स्तरमा वाणी दिएको छ भन्ने मलाई लागेको छ ।’

पुस्तकलाई शब्दविम्ब प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो । ४ सय ६८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १२ सय ५० रुपियाँ रहेको छ ।