‘कति स्वार्थी छन् मानव
मानव–मानव बीचमा विभेद गर्ने
प्रकृति पनि निरर्थक भइरहेछ
मानवताको यस्तो
दृश्य देखेर
चन्द्रमा पनि औंशीलाई
छलेर उज्यालो दिन आउँछ
घामको लाली किरणको
परिवर्तनको साथमा
खै किन ?
स्वार्थी बन्दैछन् मानव
अरुकै आशमा बाँचेका
यी मानिसहरू
आज किन स्वार्थी बन्छन्
प्रकृतिलाई नै धोका दिएर ।
(मानवता, पृ. ३९)
कवि मणिकुमार श्रेष्ठको कवितासङ्ग्रह हो, ‘अदृश्य यात्रा’ । कविता लेखन तथा पत्रकारितामा डेढ दशकदेखि सक्रिय श्रेष्ठको यो पहिलो प्रकाशित कृति हो । श्रेष्ठ हाल सरकारी कर्मचारीका रूपमा कार्यरत छन् ।
‘नेतृत्व पंक्तिको स्वार्थैस्वार्थका कारण देशको विकास हुन नसकेको, रुसले क्रिमिया निलेझैं जनताको आस्था र विश्वास निलिरहेको अनि रुसले युक्रेनमाथि आक्रमण गरिरहेझैं नेपाली जनताको हकहित र अधिकारमाथि धावा बोलिरहेका छन् भन्ने आवाज कविले घन्काएका छन् ।’, भूमिकामा साहित्यकार शंकरकुमार राई लेख्छन्, ‘स्वदेशी वस्तुलाई प्रोत्साहन दिएर रोजगारी दिँदै राष्ट्रको विकास गर्नुपर्ने, नारी अस्मिताको रक्षा गनुपर्ने, वृद्धवृद्धा बुबाआमाको सेवा गर्नुपर्ने, देश लुटेरा भष्मासुररूको भष्म गर्नुपर्ने भाव कवि मणिकुमारले व्यक्ति गर्दै समानताको विगुल फुकेर समाजवादको फूल फुलाउन चाहन्छन् । यस कविता कृतिमा कविले हत्या, हिंसा, आतंक, अपहरण र फिरौतीको नाममा युगलाई नै धमिलो बनाउन पुगेका आजका नेताहरूलाई माफी दिन नसकिने उद्घोष गरेका छन् ।’
कविता कृतिलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ५८ थान कविता सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










