‘पश्चात्तापले परेली धोएका छन् परदेशमा
अनेकन् शङ्काहरूले छोएका छन् परदेशमा
सम्पूर्ण कागजी रूपमा यताका भए पनि ती
थोरै हाँसेर धेरै मान्छे रोएका छन् परदेशमा । (पृ. २७)

लामो समयदेखि बेल्जियमको ब्रसेल्स रहँदै आएका स्रष्टा विमल गिरीको नवीनतम मुक्तसङ्ग्रह हो ‘अजम्बरी’ । गिरीले सङ्ग्रहमा विविध भावलाई सरल भाषाका माध्यमबाट मुक्तकीय ढाँचामा प्रस्तुत गरेका छन् ।

‘मृत्युवोध, अतीतमोह र उमेरले मानिसमा क्रमशः लगाउँदै गएको भय र कमजोरीको जलप पनि गिरीका मुक्तकहरूका महत्त्वपूर्ण विषय हुन् ।’, पुस्तकको भूमिकामा समालोचक महेश पौड्याल लेख्छन्, ‘जीवनसँग गाँसिएको मृत्यु अपरिहार्य छ र मान्छे जस्तोसुकै भए पनि उसको अन्तिम गन्तव्य घाट हो । त्यसैले, कुनै पनि आधारमा अभिमान, लोभ वा ईष्र्या गर्नु उचित होइन भन्ने सन्देश यी मुक्तकहरूले पाठकमाझ पस्केका छन् साथै समय रहँदै मान्छेले जिन्दगीको खेत खन्नुपर्छ र बाली उठाउनुपर्छ भन्ने अङ्ग्रेजी कविता शैली ‘कार्पे डाइम’को भाव गिरीको कतिपय मुक्तकहरूमा पाइन्छ ।’

‘हाम्रो यात्रा पूरा गर्न नसकिने घेरो न हो
लोभ, घमण्ड, ईष्र्या सबै तेरो मेरो न हो
आऊ एकैछिन मन साटी खुलेर रमाऊँ
जिन्दगी मात्र एक घुम्ती एक फेरो न हो ।

त्यस्तै, मुक्तककार गिरी लेख्छन्, ‘मानिसका सबैभन्दा नजिकका आफ्ना दुःख पीरहरू रहेछन् र तिनलाई फुल्याउने ‘वाणयन्त्र’ शब्दहरू रहेछन् । म दुख्दा मलाई फुल्याउने, म खुसी हुँदा मेरो खुसीमा खुसीको हार मिलाउने यिनै अक्षरहरू हुन् । अझ यसो भनूँ – यो जिन्दगीलाई एउटा सुन्तला मान्ने हो भने, त्यसको एक केस्रा हो यो मुक्तकसङ्ग्रह अजम्बरी ।’

पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो । २ सय ६५ थान मुक्तक सङ्ग्रहित पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।’