‘बाँच्न जति कष्ट खेप्नु परे पनि
जीवन, बाँच्न मन पराउँदो रहेछ
सायद बाँच्नको अभ्यास भएर होला
मानिस जति ठूलो विपत् भोगेर पनि
बाँच्न रुचाउँदो रहेछ
मृत्युको अभ्यास नभएरै सायद
मानिस मृत्युबाट साह्रै डराएको होला !’
(बगिरहने नदी हो जीवन, पृ. १७)

सुपरिचित कवि विष्णुविभु घिमिरेको नवीनतम कवितासङ्ग्रह हो ‘हुरीको इन्द्रेणी उक्लेर’ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा साझा प्रकाशनका पूर्व अध्यक्ष घिमिरेले यस कृतिमा ४६ कविताहरु सङ्ग्रहित गरेका छन् ।

‘कवि विभुका विचारमा जीवन भाव र अभाव, सुख र दुःखको निरन्तरता हो । क्रान्ति र सङ्घर्षका बाबजुद समाज र व्यवस्था फेरिन नसकेकामा कविलाई दुःख लाग्छ ।’, भूमिकामा बैरागी काइँला लेख्छन्, ‘उनका कवितामा समसामयिक समाज, जीवन र जगत्को चित्रण, वर्तमानको पीडा र देशको दुरावस्थाको मार्मिक चित्रण छ । तथापि कवि निराश भने कहिल्यै छैनन् । समाज र राष्ट्रको निरीहताबाट निराश नभएर बरु उनी त समयले बलेको आगो, आँधी र सुनामीले भएका अभाव र दुःख सहेर यथास्थितिमा बस्नुपर्ने बाध्य भए कायर र दासलाई समाप्त गरी एक युगमा एकपल्ट मात्रै आउने क्रान्तिलाई सलाम गर्न पर्खंदै बस्दछन् ।’

त्यस्तै, पुस्तकमा अशेष मल्ल लेख्छन्, ‘उसका कवितामा मलाई छुने कुरा भनेको हर कवितामा हुने आख्यान तत्त्व नै हो । कतै न कतै कुनै कथ्य, वस्तुविधान र मूर्त अमूर्त चरित्रको उपस्थिति उसका कविताको खास प्रवृत्ति हो । कहीं कुनै वस्तु वा घटनाले छोएपछि स्वतःस्फूर्त पोखिने अनुभूति । मलाई अझै याद छ, मलाई निकै मन परेको कविता त्यो लङ्गडी केटीमा यस्तै आख्यान तत्त्वको प्रबलता छ ।’

माया पब्लिकेसनले प्रकाशनमा ल्याएको कविताकृतिको मूल्य २ सय ९५ रुपियाँ रहेको छ ।