निजामती सेवाको लामो अनुभव बोकेका स्रष्टा अमर अधिकारीको आत्मकथा हो, ‘ओगिल्जाः छ दशकका अविष्मरणीय घटनारू’ । १६ वर्ष संस्थान सेवा र २३ वर्ष निजामती सेवामा बिताएका अधिकारीले पुस्तकमा बाल्यकाल, किशोरावस्था हुँदा संस्थान र निजामती सेवामा रहँदाका अनुभव र घटनालाई पुस्तकमा समेटका छन् ।
‘रोल्पाबाट चालीस वर्षअगाडि काठमाडौं छिर्नुभएका मित्र लेखकले सरकारी सेवा गर्दागर्दै पनि समय निकालेर ०४५ सालदेखि नै साहित्यप्रति अगाध रुचि र झुकाव राखेको स्पष्ट हुन्छ ।’, भूमिकामा साहित्यकार वियोगी बुढाथोकी लेख्छन्, ‘आफू दुई वर्ष हुँदादेखिका घटना र परिघटनाका ताजा सम्झनाहरू समावेश भएको यस आत्मकथा पुस्तक दोहोर्याउँदा पनि धीत पटक्कै पूरा भएन । अतः पुनः समय दिएरै पल्टाएर हेरें । एकपल्ट रोल्पामा भएको राष्ट्रिय कविता महोत्सवमा म निर्णायक भएर जाँदा टेकेको बाटो र देखिएको लुंग्री नदी यतिखेर ‘ओगिल्जा’ पढ्दै गर्दा उर्लिएर आयो । त्यतिखेर धमिलो देखिएको पानी पनि अहिले संग्लिएर आयो ।’
त्यस्तै, पुस्तकमा लेखक अधिकारी लेख्छन्, ‘मैले फेसबुकमा सम्प्रेषण गरेका आफ्ना रोचक र भावुक घटनाहरू पढेर विद्वत् वर्गबाट र अन्य साथीहरूबाट समेत मैले भागेका घटनाहरूलाई समेटेर पुस्तकका रूपमा ल्याउन सल्लाह दिनुभएकोले मलाई यो पुस्तक प्रकाशन गर्न हौसला मिलेको हो । झण्डै–झण्डै मेरो बेहाल भएका कुराहरू यसमा उल्लेख छन्, नपत्याउँदो किसिमबाट सामान्य सफलता हासिल गरेका घटनाहरू पनि सयमा समाविष्ट छन् । घुस अस्वीकार गरेका दुइटा कथा पनि यसमा समावेश गर्न भ्याएको छु ।’
पुस्तकको प्रकाशन लेखक स्वयंले गरेका हुन् । १ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय १ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।