साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार धनराज गिरीको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘पाखण्ड पुराण’ प्राप्त भएकाे छ ।

सङ्ग्रहमा ‘सज्जन कसले खोजेको छ र !’, ‘महागुरुको कार्यतालिका’, ‘म के कम छु ?’, ‘कालीपारे आमोईको गन्थन’, ‘रहरको कहर’, ‘प्रभुको राजदूत हुने सपना’लगायत ५२ ओटा चोटिला निबन्धहरु सङ्ग्रहित छन् । सफल कवि, निबन्धकार तथा कथाकार गिरी व्यङ्ग्य लेखनमा समेत उत्तिकै निपुण छन् भन्ने कुरालाई सङ्ग्रहमा सङ्ग्रहित निबन्धहरुले पुष्टि गरेका छन् ।

‘‘म एक गुमनाम पात्र हुने थिएँ । एउटा गणित शिक्षक, १८ घण्टे टयूटर ! मलाई दामको लोभ र मोह छैन । तर जब म साहित्यकारहरुको सम्पर्कमा आएँ, लाग्छ मलाई पनि साढेसातीले छोयो ।’, पुस्तकमा गिरी लेख्छन्, ‘प्रा.डा. गोविन्दराज भट्टराई दाजै र मेरो सर्वप्रिय अनुज जीवा लामिछाने यायावरको विशेष स्नेह र भरोसाले, त्यसमाथि समाजिक सञ्जालले मलाई मबाट धेरै टाढा पुर्यायो । मानिसहरुले ‘धनराज गिरी’लाई भने मलाई चिनेनन् । यो पनि एउटा विषयगत रमाइलो नै रहेछ । अभिव्यक्ति बाबा, आदरणीय नगेन्द्रराज शर्माज्यूले ‘यायावर र जमघट’ जिम्मा लगाएर मलाई घरवासी होइन, विश्वव्यापी बनाउनुभयो । आजको म, धेरै आफन्तहरुको माया र प्रेरणाले बनेको म हुँ ।’’

अर्थशास्त्रमा एम.ए. गरेका गिरीले ४२ वर्ष गणित र तथ्याङ्कशास्त्रको प्राध्यापन गराए । ५१ भन्दा बढी पुस्कार तथा सम्मानबाट सम्मानित गिरीका एक दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् ।

पुस्तकलाई गोरखा पब्लिकेसन्स प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । २ सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ८५ रुपियाँ रहेको छ ।