चितवनका साहित्यकार ‘चितवन शिखरबास’ (हरिबहादुर ढुङ्गाना) को स्मृतिगन्थ हो ‘चितवन शिखरबास’ । यो कृति शिखरबासकी छोरी साहित्यकार निरूपा प्रसूनको सम्पादनमा प्रकाशनमा आएको हो ।

‘… बुवाको प्रकाशित कविता र कथाका पुस्तकहरु विभिन्न लेखक तथा समालोचक र समीक्षकलाई दिएँ । उहाँहरुले प्रेमपूर्वक लेखिदिनुभयो र यो पुस्तकको आकारमा प्रकाशित हुनपुग्यो ।’, आभारमा प्रसून लेख्छिन्, ‘आफ्ना लेखनको प्रसार–प्रचार कुन लेखकलाई मन नपार्ल र ! बुवालाई पनि आफ्नो लेखनको प्रचारले अतिरिक्त खुशी दिन्थ्यो जस्तो अनुमान गर्न सक्छु म त्यसैले पनि बुवाको आत्मालाई शान्ति र खुशी मिल्छ होला भनेर पनि मैले यो प्रयास गरेकी हुँ ।’

कृतिमा केदारनाथ खनाल, केशवराज आमोदी, गोविन्दराज विनोदी, जयदेश भट्टराई, तुलसीहरि कोइराला, विमल आचार्य, शैलेन्द्र साकार, ज्ञानु अधिकारी, ज्ञानु पाण्डे, नारायण ढकाल, मणि लोहनी, प्रा.डा. नारायणप्रसाद खनाल, निरज, बाबुराम पाण्डे, प्रा.डा. भरतकुमार भट्टराई, मुक्तिनाथ दर्शन, रविकिरण निर्जीव, प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायत साहित्यकारका लेख तथा पारिवारका सदस्यहरुको शिखरबाससँगका संस्मरणहरु रहेका छन् ।

‘कवि एवं कथाकार चितवन शिखरबास उर्फ हरिबहादुर ढुङ्गानाको कवितात्मक शैली र शिल्प सरस र सुबोध रहेको छ । कायर खोलाको भुलभुले मूलको जलतरङ्गझैं कुकुलाउँदै प्रवाहित भएको छ । ।’, ग्रन्थमा सङ्ग्रहित ‘चितवन शिखरबासको काव्यिक चिन्तन’ शीर्षकमा ‘कस्को स्वास्नी’ खण्डकाव्यको चर्चा गर्दै केशवराज आमोदी लेख्छन्, ‘समसामयिक नेपाली व्याकरण र काव्यिक दृष्टिकोणले पद र पदावलीहरुमा केही शिथिलता देखिए पनि भाव विनिमयको चातुर्यता र समय–सन्दर्भले कृति पठनीय हरेको छ । कवितात्मक छनकहरु कतै मार्मिक र करुणाले भरिएका छन्, कतै वितृष्णा र विद्रोह उरालिएको छ ।’

शिखरबासका ‘मन्को–रन्को’, ‘कस्को–सम्पत्ति’, ‘बुद्धिको कमजोरी’, ‘तिलाञ्जलि’, ‘एकोहोरो मायाँ’, ‘तिलाञ्जलिको भूमिका’, ‘नेपाल आमाको शुभेच्छा’, ‘तुम्हारी तलास लिए’ लगायत कृतिहरु प्रकाशित छन् ।

स्मृति–ग्रन्थको प्रकाशन भने शान्ति ढुङ्गानाले गरेकी हुन् । १ सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।