
इन्द्रेणी जब रङ्ग उत्सवहरू पोतेर आकाशमा
नाच्छिन् छम्छम रङ्गभेद नगरी चैतन्य ज्योत्स्नासँग
सीमाहीन उडान भर्छ पुतली संसारमा हेर न !
सीमाभित्र बसेर द्वन्द्व झगडा हामी गरेका किन ? (किन ?, पृ. १५)
कवि रोहिणी रसिकको नयाँ कविता सङ्ग्रह हो, छन्द उपासना । कविले सङ्ग्रहका कवितामा विभिन्न छन्दको प्रयोग गरी प्रकृतिप्रेम, देशभक्ति, विश्वशान्ति, मानविय चरित्र, वर्तमान यर्थाथ प्रस्तुत गर्नुभएको छ ।
”जीवनको व्याख्या गर्नेहरूले भिन्नभिन्न तरिकाले गरेका छन् । जीवन के हो ? जगत् के हो ? यो व्याख्या गर्ने दर्शनको काम हो । दार्शनिक पक्षबाट यहाँ पर्गेल्न नखोजे तापनि सामाजिक परिवेशभित्र रहेर जिन्दगीलाई बुझ्ने प्रयास कविले गरेका छन् ।”, संग्रहको भूमिकामा बाबुराम पोखरेल लेख्नुहुन्छ, ”कला लहड होइन । कलामा धर्म, दर्शन, जीवनपद्धति सम्मिश्रण हुन्छ । कला मानव कल्याण, आनन्द र खुशीका लागि हुनसक्छ । भावमा मानव कल्याण र समग्रतामा आनन्द र खुशी निहित हुन्छ । आदिम संवेगका प्रतिकमय अभिव्यञ्जनाले जब फस्टाउने अवसर प्राप्त गर्दछन् तब साहित्य कोमल मानवतावादी बन्दछ । लोकसंस्कृति बिम्ब संयोजनका दृष्टिले साहित्यलाई हेरिएन भने साहित्य जीवन र जगतको असल प्रतिच्छाया बन्न सक्दैन । प्राकृतिक बिम्बहरूले साहित्यलाई जीवन्तता प्रदान गर्दछन् । कविभित्रको यो सचेतनाले छन्द उपासना साहित्य पूजक तथा चिन्तकका लागि असल सामाग्री बनेको छ ।”
लेखकीय मन्तव्यमा कवि रसिक लेख्नुहुन्छ, ”आमाले अनिकाल जोरेर पकाएको विगत र बुबाले पसिना फुटाएर सनैःसनैः उठाउँदै गरेका भुतकालीन सपनाहरू तत्परिवेशका सामन्ती हुङ्कार तथा अधिनायकवादी स्थानीय उपनिवेशका सङ्घारहरू नाघेर फराकिलो आकाश हेर्न चाहना गर्दागर्दै सकिएका मेरा पुर्खाहरूका आशीवार्दको पोको हो छन्द उपासना । वैयक्तिक जिन्दगीका पाटाहरू केलाइ बचेखुचेका समयहरूलाई संश्लेषण गरेर राखिएको अक्षरालय हो यो छन्द उपासना । जताततै देखिएका स्खलित सामाजिक सूचाकाङ्कहरूलाई निस्तेज पार्न कम्मर कसेर लागेको सिपाहीको रूप हो छन्द उपासना । सत्मार्गमा सप्रेम हातेमालो गरेर हिँड्न सिकाउने, हिँड्दै गरेकालाई दौडाउने सञ्चेतनाको प्रकार हो छन्द उपासना । अन्याय, अत्याचार, विभेदको अन्त्यका लागि सामूहिक ऐक्यबद्धता, मानवीय मूल्यमान्यताका आधारहरूको सिर्जना, जगेर्ना र जोहो गर्न सिकाउने, उत्प्रेरणा दिने, अन्धाकारमा पनि उज्यालो दिने प्रकाश हो छन्द उपासना ।”
पुस्तकलाई शब्द मिडिया प्रा.लिले प्रकाशनमा ल्याएको हो । ५९ थान कविता सम्मिलित संग्रहको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

