
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई नेपाली भाषासाहित्य क्षेत्रमा निरन्तर सक्रिय लेखनमा लागेका बहुविधा लेखक बद्रीप्रसाद ढकालकृत गैरआख्यानात्मक पुस्तक “संस्कृतिमा के छ ?” प्राप्त भएकाे छ ।
१ सय ९४ पृष्ठमा बुनिएका अनुसन्धानात्मक कृति तीन खण्डमा विभाजित छ । खण्ड एक – ‘संस्कृति परिचय’, खण्ड दुई – ‘संस्कार’, खण्ड तीन – ‘साहित्य र संस्कार’ र प्रत्येक खण्डमा उपशीर्षकहरू समावेश छन् ।

संस्कृतिमा के छ ?
“आधुनिकताको नाममा हामी कहाँ नैतिक शिक्षा, देशको इतिहास र भूगोल, पुर्खाको योगदान, हामी बाँचेको समाज, यसको गतिशीलता, परम्परागत पेसा व्यवसायबारे ज्ञान दिने पुस्तक यतिखेर पढाइँदैन । हिजो केही मात्रामा भए पनि पढाइन्थ्यो तर त्यसमाथि प्रतिबन्ध लागेको पनि केही दशक बितिसकेको छ । किन रोकियो र अहिले पनि त्यतातिर नसोच्नुको कारण यो आज पनि रहस्यकै रूपमा छ ।” भूमिकामा नवराज रिजाल लेख्छन्, “युवापुस्तालाई आफू र आफ्नोपनबारे बुझाउनु अति आवश्यक छ तर हामी त्यो पाटोतिर जान सकिरहेकै छैनौँ । विकास र प्रगतिको अर्थ इतिहास, योगदान र पितापुर्खा बिर्सनु कदापि हुँदैन । युवाहरूमा सांस्कृतिक विचलन हुनुको कारक तत्त्व पनि हामी नै हाँ। समयमै उनीहरूलाई हाम्रा कुरा बुझाउन सकेको भए उनीहरूमा निराशा आउने नै थिएन । सही र गलतको अर्थ स्पष्टसँग नबुझाएका कारण पनि युवाहरूमा नैराश्यताको मात्रा बढेको हो । सम्बन्धित पक्ष विशेष सचेत हुनु समस्या समाधानको एकमात्र उपाय हो ।”
लेखक उल्लेख गर्छन्, “ जन्म, नामकरण, विवाह र अन्त्येष्टि संस्कारबाटै निर्मित संस्कृति हुन् भने यो विश्वव्यापी रूपमा प्रचलनमा पाइन्छ । आ-आफ्ना तरिकाले गरिने भए पनि यी वैश्विक संस्कृतिका रूपमा रहेका छन् । जन्मदिवस मनाउने तरिका र पद्धति फरक भए पनि जुनसुकै भूगोलमा बसेको कुनै पनि जातिले जन्मको उपलक्ष्यमा शुभकर्म गर्दछन् । विश्वको संस्कृतिले कुनै पनि स्थानमा सजिलै प्रभाव पारिराखेको आजको समाजमा देखिएको बहुल संस्कृति वा मिश्रित संस्कृतिले मौलिक पहिचानलाई विस्थापित गरिरहेको छ त्यसैले मौलिकता र पहिचानसहितको संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो ।”
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “…संस्कार शब्दले कोशीय अर्थमा वर्णित रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव, धारणा भन्ने कुराको निकट रहेर सबैको कल्याणका लागि जेजस्तो कर्म गर्दछ त्यो नै संस्कार हो । यसरी समाजमा संस्कार भएकाहरू नै कुलीन र असल मान्छे हुन् भन्ने मान्यताको निर्माण भएको देखिन्छ । संस्कारयुक्त व्यक्ति र परिवारलाई गुणवान् मान्ने परम्परा बनेको छ ।…”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य ५ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

