उठी आज साथी न बोली न बोली
म सोच्दै छु केही कहाँ जान्छ टोली
उडाएर धज्जी छ कोही बसेको
छ कोही नदीमा रमाई पसेको

ल बैशाख आयो चरी गुन्गुनायो
धरा मुस्कुरायो झरी आज आयो
न गर्मी न जाडो मजाको बिहानी
यहाँ मस्त पाएँ सखा जिन्दगानी

सखा कृष्ण कान्छो रमाएर आए
उता द्वारिकामा जमाएर गाए
सुदामा म जोगी निरोगी खुशीमा
म नारायणीमा उनी रापतीमा!

भयो आज धेरै,रमाएन बारा !
अझै बिघ्न बाधा लुकेका तगारा!
यता घाम ताते उता वृक्ष नाच्यो
उता वीर माते यता प्रेम बाँच्यो !

समस्या समस्या उही राजधानी
बिरालो रमायो मुसा धेर तानी
न नीलो न रातो गएको छ सातो
न भत्ता न सत्ता भयो दूर तातो!

न छक्का न पन्जा न मिस्सी न एक्का
न बासा रमायो गयो वित्त ठेक्का
बने दास धेरै, जगाएर ताने !
बनी भाग्यमानी सखा लामिछाने!

दिए एक मौका पहाडीहरूले
लिए दाउ चौका मधेशी अरूले
सखा चारतारे कठै आरजूको
भयो शेर खल्लो यता भाउजूको!

न थापा न शर्मा न गोविन्द तारा
गया राम बाजे सखाको सहारा
मिले आज के भो ? डराएर भागे
सबै वृक्ष ढाल्दै हराएर लागे !

भयो ठिक्क साथी गए भ्रष्ट सारा
नदीनीर सङ्लो मिलाए किनारा
सबै गिद्ध काला थिए हन्तकाली
खुशी आज हाम्रा न बोली न ताली !