“यो थप्पड तेरो गिद्धे दृष्टिका लागि !” झ्याम्म गालामा एक थप्पड लगाएर मुखमा पिच्च गर्दै आक्रोशित मुद्रामा हीरा अपराजिता लगभग चिच्याइन् ! “यो थप्पड तेरो एटिच्युडका लागि ! यो थप्पड तेरो बोलीको लागि, यो थप्पड तेरो हरकत र कालो नियतका लागि !”

फिल्मी शैलीमा हुर्मतलाल खत्रीलाई बघिनीले दे दनादन, केही मेसो पाएन खत्रीले, क्यानडाबाट भर्खर नेपाल आएकी सर्जक अपराजितालाई आफ्नो कारमा लिफ्ट दिएर कोसी ब्यारेजतिर घुमाउन लगेको बेलामा खत्रीले अलिकता मन फुकायो। सामाजिक सञ्जालबाट साथी बनेकी हीरा, अलि पुखली र उदार, पुरुष पात्रहरूसित बोल्न र नजिक हुन साइत नहेर्ने, तर आफ्नो सीमामा बस्ने। उनको घर विराटनगर, खत्रीको चतरा, मान्छे अलि खतरा। विपरीत लिङ्गीप्रतिको मोह अलि बढी ! पैसा कमाएको, पैसाको आडमा जे पनि सम्भव छ भन्ने भ्रम पालेको एक कीचक, विषयलम्पट ! आज फेला पर्यो। — “साला, कुत्ता, बास्टर्ड, यस धराधाममा तँ जस्ता नराधमलाई तह लगाउन भनेर हामी नारीको जन्म भएको हो, गधा साले, यो उमेरमा पनि यो चाला तेरो ? तीन तीन छोरी, चार छोरा र सत्र तेस्रो पुस्ताको हजुरबाउ रे, हरि नाम जप्ने बेलामा तेरो बुद्धि !”

कालोनीलो अनुहार बनायो नराधमले। हीरा उसलाई एक लात दिएर नौ दुई एघार, पश्चिमतिरबाट आएको बस चढेर आफ्नो सहरतिर लागिन्। घर आएर, ” हेर इल्या, त्यो खत्री नराधम त खत्तम रहेछ नि !” फोनमा आफ्नी सहेलीलाई पूरा सिनेमा बताइन्।

“हरे शिव, मलाई सोधेर जानुपर्दैन ? त्यो नराधम त बदनाम पात्र हो, नेपालभरि। बाहिर बाहिर साले बन्छ भाले, चुतिया हरामी हो। मैले त फेसबुक नै ब्लक गरेको नि ! आज फेला परेछ कुकुर बघिनीको !”

“हेर इल्या, हरेक पुरुष खराब हुने कुरा त सत्य होइन, तर यो कुत्ता त नराधम नै रहेछ।”

“हो साथी, कोही कोही त नारीहरू पनि गतिलो न हुने नि ! ल ल, मान्छे चिनियो, सकियो। कैलेसम्म हो नेपाल ?”

“दुई महिना, भेट हुने हो।”

फोन राखेर आक्रोश पखाल्न हीरा नुहाउन गइन्। फ्रेस भएर फेसबुक खोलेको नराधमले ब्लक गरेछ।

“साला कुत्ता !” उनको मनमा घृणाको एक सुनामी लहर आयो। “नराधम!” यही शब्द मानसपटलमा घुमिरह्यो।