Chovar Blues Mobile Size

 

धेरै दिनदेखि एकान्तमा बसिरहेको उसलाई मैले सोधेँ – “तिमी योगी हौ ?”

उसले बोल्ने इच्छा देखाएन, मात्र होइनको मुन्टो हल्लायो ।

लक्ष्मण अर्याल

“त्यसो भए रमणीय प्रकृति नियाल्ने कवि पो हो कि ?” – मैले पुन: प्रश्न गरेँ।

यसपल्ट पनि उसले यसैगरी मुन्टो हल्लाएर होइन भन्यो ।

मैले झर्को नमानी फेरि सोधेँ – “त्यसो भए तिम्रो नाम ?”

उसले छोटोमै उत्तर दियो – “अस‌फलता ।”

+ + +

करिब एक महिनापश्चात् ऊ चित्रसारी मेलाको रमझममा फेरि भेटियो । मैले टाढैबाट उसलाई चिनेर बोलाएँ – “असफलता !”

ऊ नजिक आएपछि मैले भनेँ – “के तिमीले एकान्तवास त्याग्यौ ?”

मेरो जवाफ सुनेर ऊ मज्जाले हाँस्यो र भन्यो – “ल, तपाईं पनि झुक्किनु भएछ अरु जस्तै। त्यो एकलकाँटे त मेरो दाइ हो। हामी जुम्ल्याहा ।”

मैले मनमा लागेको खसखसलाई शान्त पार्न सोधेँ, “त्यसो भए तिम्रो नाम ?”

उसले लामो हाँसोका साथ मलाई ढाप मार्दै भन्यो – “सफलता । अँ, तपाईं मलाई बिना हिच्किचाहट आशा पनि भन्न सक्नुहुन्छ ।”