विश्वास सासूको उपचारको लागि ऋण खोज्ने चक्करमा लागेको एक महिना नाघिसकेको थियो । कार्यालयका सबै सहकर्मी र काठमाडौंमा रहेका सबै साथीसँग समस्याको बेलीबिस्तार लगाएर सापटीको लागि मुख खोल्थ्यो । अनि सहकर्मी र साथीहरू केही न केही भनेर तर्कन्थे । अनि विश्वासले आफ्ना आफन्तहरूलाई पनि गुहा¥यो, तर केही उपाय लागेन ।
गाउँमा आमा एक्लो हुनुहुन्थ्यो, केही उपाय नभएपछि भगवान भरोस भनेर विश्वास घर फर्कियो । आमालाई सबै कुराको बेलीविस्तार लगायो । आमासँग पनि नगद हुने कुरा थिएन । घरखेत सहकारीमा धितो राखेर ऋण निकालेर छोराको हातमा पैसाको बिटो राखेर सम्धिनीको सुस्वास्थ्यको कामना गर्दै छोरोलाई बिदाइ गरिन् ।
(विश्वास सापटी र ऋणको लागि जहाँजहाँ कुरा गर्न जान्थ्यो, त्यहाँत्यहाँ आस्थाको बारेमा नकारात्मक मात्रै कुरा सुन्थ्यो । तर एक कानले सुन्थ्यो, अर्को कानले उडाउँथ्यो । सहकारीमा ऋणको लागि कुरा गर्न जाँदा पनि उसले त्यस्तै कुरा सुनेको थियो । तर आस्था र विश्वास आफूमा ढुक्क थिए । उनीहरू एक अर्कोको विगतको प्रेमसम्बन्धको बारेमा जानकार थिए, त्यत्ति मात्रै नभई विवाहको निर्णय गर्नुअघि ‘पास्ट इज पास्ट’ भन्नेमा सहमत भए र त वैवाहिक सम्बन्ध अघि बढाए ।)
सासुआमाको उपचारको लागि पैसा जुटाउन सकेकोमा खुशी हुँदै विश्वास डेरा फर्कियो ।
बाहिरबाटै चिच्यायो– आस्था ! आमाको उपचारको लागि पैसा ल्याएँ, भन्दै ढोका उघा¥यो ।
(ढोका खुल्ने बित्तिकै उसले जे नदेख्नु पर्ने देख्यो, पैसाको ब्याग आस्थाको हातमा राखेर आमाको उपचार गराऊ भनेर बाहिरियो ।)
आस्था– विश्वास, विश्वास भनेर चिच्याउँदै थिइन् । अनि आशिषलाई तत्काल कोठाबाट बाहिरिन निर्देशन दिइरहेकी थिइन् ।
आशिष कोठाबाट निस्किएपछि आस्था विश्वासको विश्वासमाथि गरेको घात र ‘पास्ट इज पास्ट’ को कसम सम्झेर डाँको छाडेर रोइन् । अनि माफ माग्न भन्दै विश्वासको मोबाइल नम्बर डायल गरिन् । उल्टै टेलिकमले माफ माग्यो– ‘माफ गर्नुहोला तपाईंले डायल गर्नुभएको नम्बर स्वीच अफ गरिएको छ ।’
विश्वासको घर फर्कने र डेरा फर्कने दुवै ढोका बन्द भइसकेको थियो । कहाँ जाने के गर्ने कुनै टुङ्गो थिएन । साँझ परिसकेको थियो । काठमाडौंको फल्चामा सुस्ताउन मात्रै बसेको थियो– उसको कानमा गुञ्जियो, साथी, आफन्त र सहकारीका कर्मचारीहरूले आस्थाको बारेमा गरेको कानेखुसी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










