सरापेर मात्र नर्क पुग्नेभए बसका ड्राइभर र खलासी उहिलै नर्क पुगिसक्थे । गाली पनि नपाउन् किन ? ए सीटखाली सीटखाली भन्छ, भित्र गयो पाइला राख्ने ठाउँ हुँदैन । बूढाबूढी हुन् या महिला । केटाकेटीका आमा हुन् या अपाङ्ग । बिरामी हुन् या गर्भवती । भित्र हुल्दियो छोडियो । कसैले सीट छोड्ने होइन । चुम्बक टाँसिए झैं टाँसिने हुन् । ती महिला हुन या पुरुष । युवक हुन् कि अधबैंसे । सीट छाडिदिने त कोही कोही, बीसमा एक मात्र हुन् ।

सधैं बस चढेर पढाउन जानुपर्ने । एक युवती यात्रुको बेथिति देखेर अजित भएकी थिइन् । अल्लि पछि त ती महिलाले बच्चा पनि लिएर आउन थालिन् । अति नै भएपछि खलासीलाई अनुरोध गर्न थालिन् । बडामुश्किलले सीट पाउन थालिन् । एउटै रूटमा चल्ने गाडीका प्रायः खलासी, ड्राइभर, यात्रु पनि करीब करीब चिनिन्छन् ।

“हैन  यो मिसले सधैं कसको बच्चा च्यापेर आउँछे ? मान्छे त अविवाहित हो ।”

यात्रुबीच खासखुस खासखुस हुन थालेछ । खलासीलाई पनि सधैं सीट मिलाउनु पर्ने भएपछि वक्कदिक्क भएको थियो । एकदिन खलासी गाडीभित्रै थियो । बाहिरबाटै बच्चा भित्र राखिदिने जमर्को गर्‍यो । तर उनले मनिनन् । सबैले कर गरेपछि खलासीलाई बच्चा दिइन् । बच्चा त फूलको थुङ्गा जस्तो हलुका छ । शंका लागेर खलासीले चिमोट्यो । च्याँ, चुँ  केही पनि गर्दैन । सो दिनबाट उक्त घटनाको पर्दाफास भयो । सबै मिडियामा समाचार आयो, “सीटका लागि कृत्रिम बच्चा, अविवाहिता महिलाले जन्माइन्, बेलुनको बच्चा, आदि आदि ।“

घटना यति व्यापक भयो कि सरकारले सबै प्रकारका सवारी साधनमा आरक्षणका सीट राख्नुपर्ने कानून नै बन्यो । पछि उक्त महिलालाई खलासीले भनेछ, अब त बच्चा ल्याउनु पर्दैन मिस आउनुहोस् महिला सीटमा बस्नुहोस् ।