लगभग १० वर्ष पहिले जनता जगाउन गाउँ गाउँमा नाटक तथा सांस्कृतिक कार्यक्रम हुन्थे । केही विदेशी संस्थाबाट त्यसको प्रायोजन हुन्थ्यो । रुढीवादी तथा कुसंस्कारबाट बचाउने अभियान तीव्र भयो । जनता जगाउने कामलाई कसैले नराम्रो सोचेनन् ।

विस्तारै मानवतावादी वकालत गर्नेहरुले सहजीकरण गरे । गाउँ गाउँमा चर्च खुले । धर्मको राम्रै प्रचार भयो । धर्म सबै समान थिए । खासै कसैले अन्यथा लिएन । विदेशी व्यवस्थापनमा क्रान्तिको फण्डा रचियो । विदेशी प्रायोजनमा विदेशी प्रतिफलको लागि नेपाली भिडाइए । संविधान उनैले बनाए । प्रतिफल शून्य । नयाँ नेपाल तथा समाजवादका नारा चैतको आँधी बन्यो । कतैबाट आए । कतै पुगे ।

डलरमा जीवन साटेका ती आधा मार्क्सवाद पढेका ती आइएनजिओ प्रमुख चारतारे होटलमा देखा परे । वारिपरि मिडियाका माईकहरु तेर्साइएपछि ।

उनले आफ्नो मुख यसरी खोले, ” सम्पूर्ण देशवासीहरु … हाम्रो प्रभाव तथा दवावबाट राज्यले मानवअधिकार ग्यारेन्टी गरेको छ ।”

एक बृद्ध पत्रकार जसले चार दशक पत्रकारिता गरेका थिए । उनलाई सबै थाहा थियो । उनले तीनका वाइयात विषय झेलेका थिए ।

उनले होसियार गर्दै भने, “हेर्नुस् महोदय, तपाईंहरु जस्ताको कारण म जवानी नहुँदै मरेँ । वस् ! मभित्र तपाईंको कुटिल समाज अहिलेसम्म बाँचेको छ ।”