भरखरै झिसमिसे साँझ परेकाे थियाे । आमा स्वाँ स्वाँ स्वाँ गर्दै कुदेर घरभित्र पसिन् । डराउँदै घरभित्र छिरेकी आमाको अनुहारमा हेर्दै छोरीले प्रश्न गरी “आमा किन कुदेकाे हस्याङ् फस्याङ् गर्दै ?”
उसले गर्ल्याम गुर्लुम  ढोका लगाएर गरालाे छिराउँदै भनी, “बाहिर भुत र गिद्धहरू घुमिरहेका छन् । एकल नारी देख्याे कि झम्टिहाल्छन् । तिनीहरूबाट अस्तित्व बचाउन  दैलोमा आग्लो लगाएकी हुँ” ।
छोरीले फेरि सोध्छे- “आमा तिनीहरूसँग डराएर कतिञ्जेल भाग्ने, तिनीहरूसँग डराएर भाग्नुको साटो तिनीहरूलाई भगाउने कुनै उपाय छैन ?”
आमाले दाह्रा किट्दै भनी -“छ छोरी , यो जातीय पगरी  र लैङ्गिक घुम्टो ओढेका समाजका स्थापित भुतहरूलाई भगाउन बिगुल फुक्नुपर्छ । बिगुल फुक्यो भने ति भुत र गिद्धहरू  भाग्छन् ।” यति भनेपछि उसकाे अनुहारमा भयका धर्सा विलीन भए ।
आमाकाे मुहारमा आशाकाे मुस्कान देखेकी छोरीले तत्काल प्रस्ताव राख्दै तम्सिएर भनी ,”त्यसो भए बिगुल फुकाैँ न त” !
हातमा बिगुल लिएर फुक्न तम्सिएकी छोरीलाई हात तान्दै आमाले भनिन्,”पहिला यी भुतसँग युद्ध गर्न लायक बन्नुपर्छ । अहिले अँध्यारो छ, उज्यालो हुन देऊ । उज्यालाेमा क्रान्तिकाे बिगुल फुक्यो भने बिगुलकाे भ्रान्तिपूर्ण आवाजले भ्रान्तिकारी ती पिशाच र गिद्धहरू सदासदाका लागि विलय गराउनेछ। अँध्याराेमा फुक्याै भने तिमीलाई उल्टै झम्टनेछन् “।
बुख्याँचा बनेकाे समाजमा चेतनसूर्य  झुल्काउँदै उज्यालोमा बिगुल फुक्ने अठोट गरी ढोकामा गरालाे लगाई उज्यालोकाे प्रतिक्षा गरिरहे ।
बिहानीकाे उज्यालोमा बिगुल फुक्ने आशामा दैलाे पाेतेका आामाछाेरीले  फुकेकाे बिगुल के बज्ला ! कदाचित बिगुल बज्यो भने याे बहिरो बनेकाे समाजले सुन्ला त ..?
गाेपीराम भण्डारी ‘बटुवा’