बाह्र पास गर्ने बित्तिकै कोरिया हान्नियो, ऊ । पाँच वर्ष कृषि क्षेत्रमा काम गर्यो र स्वदेश फर्कियो ।

“आफ्नै देशमा केही गर्छु” – सकारात्मक सोच बनायो ।

“विदेशी आर्जित सिप छ । पसिना बगाउँछु ।” – आत्मबल बढायो ।

बाँझो बारीमा ट्याक्टर कुदायो । लटरम्म हुने गरी गोलभेँडा फलायो । सेताम्मे हुने गरी काउली फुलायो । बिक्रीको लागि बजार भाउ बुझ्यो । तरकारी मूल्यको श्रवणले मनमा लड्डु फुटायो । तरकारी ट्याक्टरमा लोड गर्यो र बजारतिर लाग्यो ।

“तरकारी राख्नुहुन्छ ?” – प्रत्येक व्यापारीलाई प्रश्न राख्यो

“हाम्रो आफ्नै समिति छ । त्यहीबाट खरिद गर्छौं ।” – सबैले एउटै जवाफ फर्काए ।

उसले प्रत्येक समितिसँग सम्पर्क राख्यो । आफ्नो तरकारी खरिद गरिदिन अनुरोध गर्यो । सबैसँग बार्गेनिङ गर्यो । बजार मूल्य भन्दा आधाको फरक पायो । र प्वाक्क मुख फोर्यो – “बिचौलियाहरू !”

आफ्नो लगानी, श्रम र मूल्यलाई जोड घटाउ गर्यो । निधारबाट निस्केको पसिना हत्केलाले सर्लक्क पुछ्यो ।

“घाटामा गयो” – लामो सुस्केरा सँगै श्रीमतीको अनुहार पुर्लुक्क हेर्यो ।

लामो सास लियो । बारीतर्फ आँखा दौडायो । र श्रीमतीलाई निर्णय सुनायो, “म फेरी कोरिया जान्छु ।”

श्रीमती केही बोलिनन् । छोरीको गृहकार्य जाँच गरिरहेकी उनले छोरीद्वारा लिखित निबन्ध पुनर्पाठ गरिन् ।

“नेपाल कृषि प्रधान देश हो” भन्ने वाक्यांशलाई कलमले सर्लक्क काटिदिइन् । र पुनर्लेखन गरिदिइन् – “नेपाल रेमिटेन्स प्रधान देश हो ।”