
शनिवार स्कूल बिदाको दिन गाउँका केही बालक हामफाल्ने अर्थात् छलाङ मार्ने प्रतिस्पर्धामा जुटे । उनीहरूले भुइँमा धर्को तानी सीमारेखा निर्धारण गरे र त्यहीँबाट छलाङ हान्ने नियम बनाए । खेतको गरामा कोरिएको धर्कोलाई आधार मानी त्यहीँबाट हाम फाल्नुपर्ने थियो । खेतको गराभन्दा तल ठूलो कुलो थियो, कुलोमा धमिलो पानी बगिरहेको थियो । हामफाल्दा खेतको गराभन्दा पर कसैले पनि छलाङ मार्न सक्दैन भन्ने अनुमान थियो ।
बालकहरूले हाम फाल्न शुरू गरे । खेतको गरामा धर्को कोरेर सीमा निर्धारण गरी त्यही गरामा हामफाल्न लागे । सबैको उद्देश्य अग्रगामी छलाङ थियो, कसैको पनि पछि हट्ने उद्देश्य थिएन । एउटा बालकले हाम फाल्ने बित्तिकै अर्को बालकले घोचाले भुइँ कोरेर त्यसको मापन गर्न चिह्न राख्थ्यो । छलाङ अगाडि बढ्दै थियो । सबैको उद्देश्य विजय प्राप्त गर्ने नै थियो । कुनै कुनै बालकको छलछाम गर्ने वा अरूलाई परास्त गर्न चलाखी गर्ने बानी पनि हुनसक्दो रहेछ ।
एउटा बालक अग्रगामी छलाङको सनकमा हाम फाल्ने निर्धारित धर्को पछाडि पारेर वा एक फड्को सीमा नाघेर हाम फाल्यो । फलस्वरूप, ऊ खेतको गराभन्दा तलको कुलोमा खस्यो । ऊ हिलाम्मे भयो र सर्वाङ्ग भिज्यो ।
उसका सबै साथी गलल्ल हाँसे, ऊ चाहिं दुखी भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

