पत्रिकामा सूचना देखेर ऊ खुशी भयो । म्यानपावरले नक्कली भिसा दिएर कारबाही खाएपछि उसलाई बेरोजगारीले नराम्ररी डसेको थियो । एक निजी कम्पनीका लागि केही कर्मचारी आवश्यकताको सूचना थियो । अठार वर्ष पुगेको र पैँतीस वर्ष ननाघेको लगायत उचाइ, मोटाइ, वर्ण, वजन, यति यति  भनेर आवश्यक योग्यता तोकिएको थियो । मासिक तलब पचास हजार, फिल्ड जाँदा भत्ता बीस हजार, पल्सर बाइक, बस्ने खाने व्यवस्था जस्ता सेवा सुविधाहरू उल्लेख गरिएका थिए ।

विज्ञापनमा तोकिएको योग्यता उसमा लगभग पुगेकै थियो । उनीहरूले विदेश जाने निश्चित भएपछि या जागीर भएपछि विवाह गर्ने सल्लाह गरेका थिए । उसले खुशी हुँदै प्रेमिकालाई फोन गरेर सुनायो र अन्तर्वार्ता दिन गयो ।

“हे भगवान् ! त्यो जागीर कसैगरी मलाई मिलाइदेऊ ।” मनमनै प्रार्थना गर्दै घरानियाँ देखिने अधबैंसे  महिलाले उसको अन्तर्वार्ता लिइन् । ऊ छनौट भयो । महीनामा एक हप्ता रमणीय स्थलहरू घुम्न पनि पाउने रहेछ । यो सुनेर ऊ झन् खुशी भयो ।

“ल भोलिबाटै जागीर खान आउनू ।” उनले भनिन् ।

“काम चाहिँ के गर्नु पर्ने हो मेडम ? अनि मेरा सहकर्मीहरू को को हुन् ?” उसले सोध्यो ।

“मेरा छोराहरू विदेशतिर छन् । बुढा रुस र युक्रेनको युद्धमा बिते । घर, काममा सहयोग गर्ने अरू कामदारहरू छन् ।”

“ए हजुर ।”  उसले भलादमी भएर सुन्यो ।

“म एक्ली छु,  कुरा बुझ न ।” उनले भनिन् ।