“हाम्रो बुढेसकालको एक मात्र लौरी पनि भाँचिदियौ हैन ? हामी गरीबको कहिलेसम्म परीक्षा लिन्छौ भगवान् ?”

दुर्घटनामा घाइते जवान छोराको पीडित अनुहार हेर्दै आमाले बिलौना गरिन् । छोरोको कम्मर मुन्तिरको भाग चल्न सकिरहेको थिएन ।

गरीब आमाबाबुले छोरोको उपचारमा सक्दो प्रयास गरिरहेका थिए, तर डाक्टरले जहाँ लगे पनि अब उपचार सम्भव छैन भनेर आज अन्तिम निर्णय सुनाउँदा उनीहरु छाँगाबाट खसे झैं भए ।

“यो वृद्धावस्थामा हाम्रो आफ्नै कमाउने क्षमता छैन । त्यसमाथि छोरोको हालत यस्तो नाजुक छ !”

यिनै कुराले बुवा चाहिंलाई पनि पिरोलिरहेको थियो । मनभरि निराशा बोकेर छोरोलाई व्हीलचेयरमा धकेल्दै उनीहरू घर फिर्दै थिए । बीच बाटोमा उनीहरूलाई थकाइ लाग्यो । छेउमा व्हीलचेयर रोकेर आमाबुबा पीपलको चौतारोमा बसे ।

व्हीलचेयरमा मुढो झैं ढलेको एउटा युवक देखेर बाटो हिंडिरहेका धेरै मान्छेहरूमा दया जागेर आयो । शोकाकुल आमाबाबुका हातमा उनीहरुले पैसा दिंदै गए । आजभोलि गर्दै त्यो क्रम निरन्तर चलिरह्यो ।

एकदिन उनीहरूले व्हीलचेयरमा बसिरहेको छोरोको बरबराहट सुने, “म भाँचिएको छैन, ए मेरा भगवान् रूपी  बा-आमा !”